साइप्रस न्युज

नेपालीका हत्यारालाई डेढ सय वर्ष जेल

शेयर गर्नुहोस्


होम कार्की

काठमाडौँ — साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ।
मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए। प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो। उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन्।

अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन्। खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन्। उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो। काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन। उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन्।

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरेका थिए। गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परेका हुन्। उनकै बयानका आधारमा अरू शव भेटिएका थिए। अस्मिताको शव गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको थियो।

‘अस्मिताको कोठामा भएका सरसामानसँग डीएनए परीक्षण गर्दा मिलेपछि पहिचान भएको हो,’ साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘शव अस्पतालमै छ।’सिंगो साइप्रसलाई तरंगित पार्ने यो घटनाक्रममा नेपाली महिलासमेत रहेको प्रमाणित भएपछि साइप्रसमा कार्यरत नेपाली हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिलाई यति धेरै सजाय सुनाइएको यो पहिलो पटक हो। यो घटना सार्वजनिक भएपछि साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए। न्यायमन्त्रीले राजीनामा दिएका थिए।

युरोपियन युनियनको सदस्य साइप्रसमा झन्डै ६ हजार नेपाली कार्यरत छन्। जसमध्ये ८० प्रतिशत महिला घरेलु कामदार छन्। ‘साइप्रस ७ वर्षदेखि महिला कामदारका लागि प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ। यो घरेलु कामदारको निश्चित तलब तोकिएको र सुरक्षाको प्रत्याभूति गरिएको देश हो,’ १० वर्षदेखि साइप्रसमा बस्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका सुवास मल्लले कान्तिपुरलाई भने, ‘युरोप छिर्ने प्रवेश ढोका पनि भएकाले नेपाली महिलाको आकर्षण बन्दै आएको हो।’ उनले यस्तो खालको घटना आफू र साइप्रसका जनताका लागि पहिलो भएको बताए।

श्रोत : इकान्तिपुर

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *