प्रवास

बीबीसी ‘मास्टर सेफ’ प्रतियोगिताको सेमिफाइनल पुगे नेपालका सन्तोष साह

शेयर गर्नुहोस्

लन्डन — बीबीसीको  प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ प्रतियोगितामा नेपाली सेफ सन्तोष साह सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । १३ औं सिजनको क्वार्टरफाइनल चरणअन्तर्गत बिहीबार राति ‘क्रिटिक राउन्ड’ बाट सन्तोष सेमिफाइनल चरण उक्लिएका हुन् । उक्त चरणमा चारजना सेफले प्रतिस्पर्धा गरेका थिए ।

बीबीसीबाट प्रसारण हुने अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष सम्भवत: पहिलो नेपाली सेफ हुन् । सिरहा कर्जन्हाबाट २ दशकअघि १५ वर्षको कलिलो उमेरमै भारत भासिएर सामान्य किचन पोर्टर हुँदै पाँच तारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल उनले सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा लन्डन उत्रिएपछि धेरै फड्को मारे ।

बेलायत उत्रिएको एक दशक नबित्दै सन्तोषको सफलता अहिले शिखरमा छ । अहिले उनी संयुक्त अधिराज्यस्थित प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् उनी । बेलायतमा रेस्टुरेन्ट तथा होटल क्षेत्रमा एक नेपालीले पाएको यस्तो सफलता सायदै अन्य नेपालीले पाएका छन् ।

भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि अहिले सन्तोष नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानमा छन्। आफूले यसअघि सँगै काम गरेका मिसिलिन स्टार, सेलिब्रेटी सेफहरुबाट सिकेको व्यवसायिक सीप र अनुभव नेपाली खाना प्रवर्धनमा सदुपयोग गर्ने संकल्प लिएर अगाडि बढेका छन् उनी ।

इण्डियन कुइजिनका लागि जुन तहमा काम गर्ने अवसर पाए, नेपाली खानालाई पनि त्यही तहमा पुरयाउने उनको सपना छ । नेपाली कुइजिनबाट मिसिलिन स्टारप्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने उनको अठोट छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *