देश विदेश

खेलाडी उपचारका लागि सङ्कलित रु १० लाख हस्तान्तरण

शेयर गर्नुहोस्

वालिङ । नेपाली फुटबलको २३ वर्षमुनिको राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विश्वास श्रेष्ठको बुबाको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का केन्द्रीय सदस्य एवं वालिङ नगर खेलकूद समितिका संयोजक लालबहादुर ज्वारचनको संयोजकत्वमा सङ्कलन गरिएको रु नौ लाख ९१ हजार ४०३ नगद बुबा रुपनारायण श्रेष्ठको उपचाकारका लागि छोरा विश्वासलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय खेलाडी विश्वासको बुबाको उपचारका क्रममा भएको रकम सकिँदै गएको र आर्थिक अवस्था कमजोर हुँदै गएकाले रकम सङ्कलन अभियान सञ्चालन गरिएको संयोजक ज्वारचनले बताए । “विश्वासको बुबा रुपनारायणको उपचारका लागि हालसम्म झण्डै रु ३५ लाख खर्च भइसकेकाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीयता नाताले रकम सङ्कलन अभियान चलायौँ”, संयोजक ज्वारचनले भने, “हामीले चलाएको अभियानमा देश तथा विदेशबाट राम्रो सहयोग प्राप्त भयो, सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दछौँ ।”

आर्थिक सङ्कलन अभियानअन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्र घरदैलोबाट रु चार लाख ३३ हजार ८०, विदेशबाट सहयोग प्राप्त रु तीन लाख ९१ हजार ७८३, वालिङबाहिर स्वदेशबाट रु एक लाख ६१ हजार ५४० र गोल नेपालबाट रु १० हजार प्राप्त भएको र उक्त रकम हस्तान्तरण गरिएको वालिङ फुटबल क्लबका उपाध्यक्ष मोतिलाल कुँवरले बताए ।

रकम सङ्कलनको क्रम जारी रहेकाले आगामी दिनमा पनि सङ्कलित रकम हस्तान्तरण गर्दै लगिने प्रतिबद्धता फुटबल क्लबका सचिव केशरबहादुर थापा (राजन)ले प्रतिबद्धता जनाए । खेलसँग सम्बन्धित खेलप्रेमी तथा खेलाडीले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै चासो व्यक्त गरेकाले पनि सहयोग रकम बढ्दै जाने वालिङ फुटबल क्लबका सदस्य एवं खेलाडी लक्ष्मण रुचालले बताए ।

वालिङ–८ स्थायी घर भएका श्रेष्ठको घर निर्माणका क्रममा हाइटेन्सन तारमा छोइएर करेन्ट लाग्दा शरीरको करीब आधा भाग जलेको छ भने चार तलामाथि बाट खस्दा देब्रे खुट्टा भाँचिएको छ । एक महिनाअघि मङ्सिर ४ गते गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल काठमाडौँ लगिएको र हाल पनि सोही अस्पतालमा उपचार भइरहेको छोरा विश्वासले जनाए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *