रुपन्देहीका किसान परिवारमा जन्मेर अक्सफोर्डको सिनियर बैज्ञानिक बनेका डा. कुर्मी

शेयर गर्नुहोस्

जसरी तनमनका साथ गहना बनाउनेले एकोहोरो पिटिरहन्छ सुन, गहनाको आकारमा ढल्न। त्यही गहनापछि गएर प्रतिक बनिदिन्छ, सौन्दर्यको। यसरी नै एकोहोरो मानव स्वास्थ्य तथा समाजका निमित्त लागिरहेका एक बैज्ञानिक हुन्, डा. ओम प्रकाश कुर्मी।

जसको अध्ययन तथा अनुसन्धान हिउँदको नदीझैं एकनासले बगिरहेको छ। उनले नेपालको एउटा गाउँबाट निस्केर अक्सफोर्ड विश्वविद्यालयको सिनियर बैज्ञानिकका रुपमा आफूलाई स्थापित गराइसकेका छन्।

२०३३ साल भाद्र ५ गते भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट ६ किलोमिटरको दूरीमा पर्ने  खुदाबगरमा डा. कुर्मीको जन्म भएको हो। उनको परिवारसँग खानलाउन पुग्ने यथेस्ट जमिन थियो। तर घरमा सबै बेरोजगार। यसको कारण थियो, अशिक्षा। यसैले पनि होला, बुवामा छोराछोरी पढाउनु पर्छ भन्ने सोच थियो। त्यसैले बुवाले हलो जोतेर छोरालाई शिक्षाका लागि पहिलो पल्ट विद्यालयको ढोकासम्म पुर्याए।

डा. कुर्मीले स्थानीय खुदाबगर प्राथमिक विद्यालयमा कक्षा–२ सम्म पढे। यसपछि उनका पाइला मोडिए, बोर्डिङ स्कुलतिर। तौलिहवामा दिदीको घर नजिकै एउटा स्कुल थियो, वेस्ट प्वाइन्ट बोडिङ स्कुल। उनी सानैदेखि पढाईमा तेज थिए। त्यसैले उनका लागि शैक्षिक सत्र ६ महिनाको मात्र बन्यो। अर्धवार्षिक परीक्षा सकिनेवित्तिकै नर्सरी र एल केजीमा ६/६ महिना पढेर एकैपल्ट युकेजीको विद्यार्थी बने।

एक कक्षामा हुँदा उनलाई छात्राबासमा बसेर पढ्न विद्यालयले अनुरोध गरिरह्यो। तर, घरको कमजोर आर्थिक अवस्थाका कारण उनी दिदीकै घरबाट विद्यालय धाउन थाले। पैसा कमाउने ध्येय भएका बोर्डिङ सञ्चालकको सोच कस्तो हुन्छ? उनले यही आएर थाहा पाए, जब  प्रिन्सिपल सीबी दुर्बिजले अर्को शिक्षकसँग उनलाई प्रथम हैन, दोस्रो बनाउने आदेश दिए। परीक्षाको नतिजा आउँदा होस्टेलमा बस्ने केटी प्रथम भइन्, उनी द्वितीय।

यो घटनाका कारण ४ महिना उनी स्कुल गएनन्। घरमै बसे। पछि भैरहवाको सनसाइन बोर्डिङमा २ महिना मात्र पढेर अर्धवार्षिक परीक्षामा समावेश भएका कुर्मी प्रथम भए। उनको क्षमतालाई सुरुमै नापेको स्कुलले २ कक्षाबाट सोझै ४ कक्षामा भर्ना गरिदियो।

कक्षा ४ मा प्रथम भएका कुर्मी ५ कक्षा नपढी सोझै ६ कक्षामा भर्ना भए। हरेक कक्षामा उनी प्रथम भइरहे। आठदेखी दश कक्षामा पढ्दाताका उनी ट्युशन पढाएर खर्चको जोहो गर्थे। २०४८ सालसम्म उनको गाउँमा एसएलसी उत्तीर्ण गर्ने कोही थिएन। उनी नै गाउँमा एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति बने।

अहिले पनि फुर्सदको बेला सम्झिने गर्छन, ‘थोत्रा मोजाको बल बनाएर खेल्थ्यौं। डण्डीबियो पनि खुब खेलियो।’ गाउँका साथीभाई अनि भगवान् जस्ता आमाबुवा उनलाई खुब याद आउँछ। अहिले आमाबुवाले स्वर्गको बाटो रोजिसके। बुवा रामअवतार कुर्मीका पाँच दाजुभाई थिए। जेठो, माइलो, साइलो तीनै जनाका छोराछोरी थिएनन्। उनका दाईलाई जेठा बुवाले धर्मपुत्र बनाएर आफुसँगै राखे। ती दाईका छोरा नगेन्द्र चौधरी उनीभन्दा ४ वर्ष मात्रै कान्छा थिए, जो अहिले भैरहवामा बालरोग चिकित्सकका साथै एसोसियट प्रोफेसर छन्।

डा.कुर्मी अध्ययनको दौरान हरेक मोडमा एक्लो यात्री बनिरहे। त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरी पुनः भैरहवा फर्केका कुर्मीले २ वर्ष बोर्डिङमा पढाएका थिए।

बिएस्सी पढ्न हरिद्वार पुगेका उनको गुरुकुलकाँगड़ी विश्वविद्यालयमा नाम त निस्कियो तर नेपाली विद्यार्थीले डोनेसन दिनुपर्ने समस्याका कारण भर्ना भएन। डोनेसन वापतको रकम बुझाउन नसकेपछि उनी गाउँ फर्केर फेरि शिक्षण पेसा अपनाउन विवश भए।

पछि विश्वनिकेतन विद्यालयको व्यवस्थापनअन्तर्गत सञ्चालित नेसनल कलेज अफ टेक्निकल साइन्सेजमा भर्ना भए। जुन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कोर्स थियो। जहाँ पढ्ने दौरान उनी साँझ–बिहान ट्युसन पढाएर आफ्नो खर्च जुटाउँथे।

बिएस्सीको अन्तिम परीक्षा दिएपछिको खाली समय उनले बिहान चार बजेदेखि साँझ पाँच बजेसम्म ट्युसन पढाए। साँझ ६.२० देखि १०.४० सम्म जनजागृति माबिमा पढाई हुन्थ्यो। त्यहाँ पनि पढाउन छोडेनन्। दिउँसो काठमाडौं एकेडेमीमा ए लेबल र ओ लेबलका विद्यार्र्थी पढाउँथे।

उनले आफ्नो बलबुताले भ्याएसम्म मिहिनेत गरे। ‘काठमाडौंमा आइएस्सी पढ्दा स्टोभमा खाना पकाउँथे। मट्टीतेल सिद्धिदा खल्तिमा पैसा नभएर चिउरा चपाएर दुई दिन बसेको पनि सम्झना छ मलाई,’ उनले बिएल नेपाली सेवासँग आफ्नो अतित कोट्याए।

मास्टरर्स पढ्न उनले युके अप्लाई गरेका थिए। तर भिसा पाएनन्। तर उनी हार मान्नेवाला कहाँ थिए र! लागिरहे अन्य देशतर्फ अप्लाई गर्न। सन् २००१ मा युरोपियन कोर्स गर्न डेनमार्कको आलबोर्ग विश्वविद्यालयमा मौका जुर्यो। जहाँ चार महिना पढेर पहिलो सेमेष्टर उत्तीर्ण गरे। दोस्रो सेमेष्टर पढ्न जर्मनी गए। तेस्रो सेमेष्टर पढ्न पुनः युकेका लागि भिसा आवेदन दिए। फेरि पनि भिसा अस्विकृत भयो। डेनमार्क र जर्मनीको प्रोफेसरले चिठी लेखिदिएपछि बल्ल उनका लागि युके जाने ढोका खुल्यो।

जिन्दगीको अर्को नाम हो संघर्ष। डा. कुर्मीसँग यति धेरै संघर्षका परिघटना छन्, जसको फेहरिस्त सुन्दा, मै हुँ भन्नेको पनि मुटु काप्न सक्छ। उनी कहिल्यै पछि हटेनन्। जतिसुकै प्रतिकूल अवस्थामा पनि डटेर बाहिर निस्किए।

युके पुगेको दुई हप्तामै उनी बिरामी भएर थला परे। डाक्टरले सुरुमा सामान्य ठानेर सिटामोल दियो। तर जब घाटी सुनिदै गयो, पुनः अस्पताल भर्ना भएका उनलाई एकाएक आकस्मिक कक्षमा लगेर दुई दिन विभिन्न टेस्ट गर्दै अन्तिममा अप्रेसन गरियो।

यतिबेला उनीसँग चिनेजानेको कोही थिएन साथमा। होस्टेलमा बस्ने उनका साथी थिए फ्रान्स र जर्मनीका। उनी एकाएक सम्पर्कबिहीन बन्दा ती साथीहरु शंसकित भएछन् र स्थानीय पुलिसलाई खबर गरेर सबै जानकारी दिएछन्।

पुलिस र उनका साथीहरुले करिब एक साता उनलाई खोजिरहे। तर, कतै नभेटिएपछि साथीहरूको मनमा शंका उब्जिएछ– कतै उनले आत्महत्या त गरेनन्?

सात दिनपछि कुर्मी अस्पतालमा तंग्रिए। यसपछि उनले घडीमा सेभ गरेको एउटा नम्बर निकालेर साथीलाई फोन गरे। यसपछि बल्ल थाहा भयो, उनी अस्पतालमा भर्ना भएका रहेछन्। र, उनको अप्रेसन भएको रहेछ। सबै साथी आत्तिदै उनलाई भेट्न अस्पताल पुगे।

शेक्सपियरले अधिकांश समय बिताएको उनको बुवाको घर छेउमा डा. कुर्मीका बुवा ..

एमएस्सी उत्तीर्ण गरेदेखि नै कुर्मीले नेपाल र विदेशमा विभिन्न काम गरे। तर, लामो अन्तरालपछि उनले युके ह्युमन टिस्सु बैंकमा पहिलो पल्ट राम्रो काम पाए। यहाँ ट्रान्सप्लान्ट नभएका मानवहरूको अङ्ग आउँथ्यो। जसलाई फ्रिजमा माइनस सत्तरी डिग्रीमा राख्नुपथ्र्यो।

पहिलो चोटी दुबैतिर सिल भएर आएको मान्छेको आन्द्रा सफा गर्दा उनलाई डर पनि लागेको थियो। तरपछि बानी पर्‍यो। उनी आफ्नो अनुभव सुनाउँछन्, ‘ती सबै रिसर्चका लागि प्रयोग गरिन्थे। तिनलाई अर्को ठाउँ पठाउने काम गरिन्थ्यो।’

पीएचडी अध्ययनका क्रममा आर्थिक अभावबाट जेलिएका कुर्मीले ‘केयर होम’ पनि काम गरे। पछि उनलाई ऐबर्डीन यूनिवर्सिटीको इन्स्टिट्युट अफ अप्लाइड हेल्थ साइन्स छात्रबृत्ती (फुलफन्डेड) प्रदान गरियो। यो छात्रबृत्ति पाउने उनी पहिलो नेपाली हुन्। जुन छात्रबृत्ति वर्षमा दुई जनालाई मात्र दिइन्थ्यो। डिपार्टमेन्ट हेड प्रोफेसर जोन एअरस उनका मुख्य सुपरभाइजर थिए । अर्का सुपरभाइजर थिए नेपाली मूलका डा. पदम सिंम्खडा।

उनले पीएचडीको थेसिसका लागि नेपालमा तथ्याङ्क संकलन गरेर फर्किएको केही समयपछि उनका मुख्य सुपरभाइजर बर्मिघम विश्वविद्यालय फर्किए। उनी पनि आफ्नो गुरुसँगै उत्तै लागे। बर्मिघम विश्वविद्यालयमा साढे तीन वर्ष काम पनि गरे। त्यतैबाट पीएचडीको थेसिस पनि पुरा गरे।

युकेमा पढाई सकिएपछि उनले जागिरका लागि चार–पाँच ठाउँमा अप्लाइ गरेका थिए। विश्व चर्चित अक्सफोर्ड विश्वविद्यालयले पहिलो खेपमै उनलाई बोलायो। यहाँ उनले सिनयर साइन्टिस्टका रुपमा काम गर्ने अवसर पाए। जुन उनको जिन्दगीको सबैभन्दा ठूलो अवसर थियो।

डा. कुर्मीकी आमा

पूर्वीय दर्शनमा वेदलाई महत्वपूर्ण ग्रन्थ मानिएझै औषधि विज्ञानमा महत्वपूर्ण मानिने ‘टेस्टबुक अफ मेडिसिन’ नामक पुस्तकमा ‘एयर पोलुसन’ सम्बन्धी उनको लेख समावेश गरिएको छ। यति मात्र होइन, उनको थुप्रै लेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्।

डा.कुर्मी सन् २०१८ देखि युरोपियन रेस्पिटोरी सोसाइटीको इपिडोमोलोजी ग्रुपका सचिव छन्। जुन विश्वको स्वासप्रस्वाससम्बन्धी ठूलो संस्था हो। विश्वका प्रायः सबै देशले यो संस्थाले बनाएको गाइडलाइन फलो गर्ने गर्छन। कार्यकाल सकिनुभन्दा १० महिनाअघि उक्त संस्थाको चुनाव भैसक्छ। यसपटक उनी अध्यक्षमा चयन भैसकेका छन्। २०२१  सेप्टेम्बरदेखि उनले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

साढे पाँच वर्षजति अक्फोर्ड विश्वविद्यालयमा काम गर्दा उनको आर्थिक अवस्था निकै राम्रो भयो। उनले काम गरिरहेको प्रोजेक्टमा करिव २५ वर्षसम्म काम गर्ने हेतुले अनुसन्धानका क्षेत्रमा चीन सरकारले ठूलो लगानी गर्‍यो। तथापि उनी अक्सफोर्ड विश्वविद्यालयको काम छोडेर क्यानडा हानिए। त्यहाँ उनले म्याकमास्टर विश्वविद्यालयमा काम गर्ने अवसर पाए। यो विश्वविद्यालय शिक्षणका निम्ति विश्वकै पहिलो मानिन्छ। उक्त विश्वविद्यालयअन्तर्गत गरिने धेरै अनुसन्धान मध्ये उनले दुईवटा परियोजनामा काम गरे। जसमध्ये एउटा परियोजना २६ राष्ट्रमा र अर्को ४२ राष्ट्रमा सञ्चालित थियो।

अढाई वर्ष त्यहाँ काम गरेर उनी २०२० को जुलाईमा पुनः युके फर्किएका थिए। उनी युके फर्किनुको पनि कारण छ। उनलाई अहिले आफै लामो प्रोजेक्ट सम्हाल्न सक्छु भन्ने आत्मविश्वास बढेको छ। पछिल्लो समय उनी नेपालको केही संस्था (जस्तै बीपी कोइराला र भैरहवाको मेडिकल कलेज) मा गरिने अनुसन्धानमा सहकार्य गरिरहेका छन्।

सन् २००७ मा काठमाडौंकी प्रतीक्षासँग प्रणयसुत्रमा बाँधिएका कुर्मीका एक छोरा, एक छोरी छन् । केही समयअघि मात्र २७ जना संस्थापक सदस्य रहेको ‘नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इन्नोभेसन’ नामक नाफारहित संस्था उनले नेपालमा दर्ता गराएका छन्। जुन संस्थाको विधिवत उद्घाटन जनवरी एकमा जुमबाट हुदैछ ।

आमा गोल्हाले बोका बेचेर कमाएको १२ रुपैयाँले भाँडाकुडा जोडेको कुरा सुनेका थिए, उनले। तिनै आमाले उनलाई होस्टेल बस्दाताका कहिलेकाही दुईचार रुपैयाँ पकेट खर्च दिएको पनि सम्झना छ, उनलाई।

कुर्मीले बुवालाई युके घुमाए। तर आमालाई युके बोलाउने सोच बनाउँदाबनाउँदै २०१३ मा आमाले संसार त्यागिन्। बुवा रामअवतारले छोरो नेपाल फर्केला र यतै बसेर केही गर्ला भनी नयाँ घर बनाइदिए।

‘मलाई ३६ प्रतिशत ब्याजमा ऋण काँढेर विदेश पढ्न पठाउनु भएको बुवाको पनि घर तयार भएको दुई महिनामा एकवर्ष अगाडि निधन भयो,’ उनी केही दुःखी देखिए।

सानोमा पौडी खेल्न नआउने कुर्मी पोखरीमा जाँदा झण्डै ज्यान गएको थियो। माओवादी द्वन्द्वकालमा झण्डै सिध्याइसकेका थिए, उनलाई। नेपालमा पीएचडीको थेसिसका लागि तथ्याङ्क संकलन गर्न जाने सोच बनाउँदा सुपरभाइजरले नजान सुझाव दिएका थिए। तर, जे पर्लापर्ला भनेर नेपाल आएका उनले छैमले क्षेत्रमा काम गर्न नसकिने ठानेर बालाजुबाट आठ किलोमिटरको दूरीमा रहेका झोर र सांगला गाविसलाई चुनेका थिए।

जहाँ काम गर्दा माओवादी कमाण्डरले साँझको बेला खोला किनारमा लगेर आधा घन्टा तथानाम गाली गर्दा मारिहाल्छ कि जस्तो लागेको थियो, उनलाई।

‘यी सारा घटनाहरुको वर्णन गर्न थाल्यो भने उपन्यास नै तयार हुनसक्छ,’ उनी भन्छन्। अहिले पनि उनी काममा यति व्यस्त छन् कि जिन्दगीको लामो यात्रामा केके गुमाए र केके कमाए भन्ने सोच्ने फुर्सद पनि छैन।

सर रिचार्ड डल विश्वका नामी बैज्ञानिक थिए । जसले पहिलो पटक चुरोटले क्यान्सर हुन्छ भन्ने बेलायत डाक्टरहरुमा अध्ययन गराएका थिए। तिनका शिष्य थिए अर्का प्रसिद्ध बैज्ञानिक रिचर्ड पेटो। सर रिचार्ड डलको सम्मानमा उनकै नाममा बनेको बिल्डिङमा डलले  काम गर्ने कोठामा तिनै पेटोसँग कुर्मीले काम गर्ने अवसर पाएका थिए।

पछिल्लो समय धुँवाबाट बच्चा र आमाको फोक्सोमा कस्तो असर पर्छ? कस्तो रोग लाग्छ? किन लाग्छ? भन्ने विषयमा उनी अनुसन्धानरत छन्।
नेपालमा बेलाबखत प्रमाणबिना कतिपय डक्टरले गर्ने गरेका कुराले उनलाई दुःखी तुल्याउँछ।

उनको सफलताको कथा सुनेपछि जोकोही नेपालीलाई लाग्नसक्छ, देशलाई छिट्टै माथि उठाउन सकिन्छ । तर, के गर्ने, राज्यले ‘राइटम्यान राइट प्लेस’ को अवधारणालाई अवलम्बन गर्न नसक्दा कैयौं क्षेत्रका त्यस्ता विज्ञहरु विदेशिन बाध्य छन् ।

मान्छेको जिन्दगी झुल्किन्छ संसाररुपी रंगमञ्चमा। पार गर्दै आफ्नो भूमिका एक दिन बिदा लिनैपर्छ यो जगतबाट। यसरी झुल्किने र अस्ताउने क्रम मानव सृष्टिको सुरुवातसँगै चलिरहेकै छ निरन्तर रुपले।

यहाँ भन्न खोजिएको यतिमात्रै हो–लाखौंको भीडमा थोरै मान्छे मात्र हुन्छन्, मानव समाजमा उज्यालो छर्न लागिपरेका। त्यसमध्येका एक हुन् डा. कुर्मी पनि। नयाँनयाँ खोज र अनुसन्धानमा तल्लिन उनका पाइला अगाडि बढ्दै जाउन । शुभकामना डा. कुर्मीलाई।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.