देश विदेश

कोरोना भाइरस नेपाल: भारत फर्किएका कामदारमा सङ्क्रमण भेटिएपछि बर्दियाका ‘दुई गाउँ सील’

शेयर गर्नुहोस्

भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको छ।

बर्दियाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए।

केही हप्तादेखि नेपाल-भारत सीमानाका बन्द भएको भए पनि उनीहरू लुकिछिपी भारत गएको हुन सक्ने बर्दियाका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ।

के भन्छन् नेपाल अधिकारी?

स्थानिय पत्रकार लक्की चौधरीका अनुसार नेपालबाट भारत फर्किएपछि उनीहरूको बहराइचस्थित स्थानीय अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको भन्दै भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् जानकारी गराएको हो।

बर्दियाका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भने, “बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहाले भारतीय प्रहरीले पठाएको पत्र बुझेको छ।”

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि उक्त पत्रको आधिकारिक भएको पुष्टि गरेका छन्।

बीबीसीलाई पनि उक्त पत्रको प्रतिलिपि हेरेको छ। पत्रमा वैशाख ८ गते उनीहरूको जाँच हुँदा सङ्क्रमण देखिएको उल्लेख छ तर कुन विधिबाट नमुना परीक्षण गरिएको भन्ने चाहिँ स्पष्ट लेखिएको छैन।

प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिनटेन्डेन्टले हस्ताक्षर गरेको पत्रमा नेपालमा काम गर्ने ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको उल्लेख छ।

किन गरियो गाउँ सील?

सम्भावित सङ्क्रमित व्यक्ति भएको भन्दै रोग फैलिन नदिन बर्दियाको सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उक्त जानकारीका आधारमा ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए।

बीबीसी संवाददाता चौधरीसँग कुरा गर्दै गिरीले भने, “वैशाख ५ गतेसम्म बर्दियामै रहेका व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको ठानिएको हो।”

बर्दियामा हालसम्म ९१ जनाको द्रुत परीक्षण र २५ जनाको पीसीआर विधिबाट जाँच गरिएकोमा कसैमा पनि सङ्क्रमण देखिएको छैन।

बर्दियामा मात्र हैन प्रदेश नं ५ मा कसैमा पनि कोभिड-१९ पुष्टि भएको छैन।

देशभरि १४,७३१ जना क्वारन्टीनमा रहेकोमा प्रदेश नं ५ मा भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। सरकारका अनुसार त्यहाँ ७,९५६ मानिस क्वारन्टीनमा छन्।

स्रोत :- बिबिसी नेपाली सेवाको वालबाट

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *