देश विदेश

कोरोना भाइरसः नेपालमा सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो, झापामा एक थपिए

शेयर गर्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार साँझ दिएको विवरण अनुसार झापाका एक ५० वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यसअघि आजै पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।

यो सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेर आइतवार ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो।

झापाका सङ्क्रमित व्यक्ति अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै वीरगन्जका दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका र उनीहरूमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

अधिकारीहरूका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १६ जना निको भई घर फर्किसकेका छन्।

यसअघि शुक्रवार झापाका एक ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा ३० जना, वीरगन्जमा तीनजना (आइतवारका दुईसहित) र भरतपुर तथा धनगढीमा एक/एकजना कोरोनाभाइरस सङ्क्रमित उपचाररत छन्।

को हुन् नयाँ सङ्क्रमित?

वीरगञ्जमा सङ्क्रमण आइतवार पुष्टि भएका दुई पुरुष यसअघि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका बस्नेतले बताए।

सङ्क्रमितमध्ये एकजना वीरगन्ज महानगरपालिकामा कार्यरत कर्मचारी भएको बताइएको छ।

बस्नेतका अनुसार सङ्क्रमितमध्ये एकजना शङ्कास्पद लागेर सिद्धार्थ माविको क्वारन्टीनमा बसिरहेका थिए।

नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीन भारतीय नागरिक र एक रौतहटका नेपाली नागरिकलाई सङ्क्रमणमुक्त भएपछि आइतवार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

स्रोत ः बिबिसि नेपाली सेवाको वालबाट

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *