महिलाले नेतृत्व गरेका मुलुकले कोरोनाभाइरस महामारीसँग जुझ्न कसरी राम्रा उपाय अपनाए

शेयर गर्नुहोस्

न्यूजील्यान्डदेखि जर्मनीसम्म, ताइवान होस् वा नर्वे, महिलाहरूले नेतृत्व गरेका केही देशमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङख्या तुलनात्मक रूपमा कम देखिन्छ।

ती राजनीतिज्ञले देखाएको व्यवहार र विश्वव्यापी स्वास्थ्य सङ्कटका बेला उनीहरूले अपनाएको उपायहरूको सञ्चारमाध्यमले प्रशंसा गरेका छन्।

फोर्ब्स पत्रिकामा हालै छापिएको एउटा लेखमा उनीहरूलाई ‘सही नेतृत्वको उदाहरण’ भनिएको छ।

फोर्ब्समा लेखिएको छ, “मानव परिवारका लागि अस्तव्यस्त बनेर देखापरेको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने देखाउन महिलाहरू अगाडि बढिरहेका छन्।”

टिप्पणीकारहरूका अनुसार कोभिड-१९ को परीक्षा असाध्यै राम्ररी पास गर्नेहरूमा मुख्यत: महिलाहरू छन्- जबकि विश्वका राष्ट्रप्रमुखमा सात प्रतिशत मात्रै महिला छन्।

त्यसो भए कोरोनाभाइरस महामारीविरुद्ध लड्न महिलाहरू किन सफल भए?

आइसल्यान्डकी प्रधानमन्त्री कातरिन याकोबस्तोतिरले आफ्नो देशमा ठूलो सङ्ख्यामा परीक्षण गराएकी छन्।

आइसल्यान्डको जनसङ्ख्या ३,६०,००० छ। त्यहाँ कोभिड-१९ को पहिलो बिरामी पनि नभेटिँदै ज्यानुअरीको अन्त्यतिर नै २० जनाभन्दा बढी मानिसलाई भेला हुनमा प्रतिबन्ध लगाइएको थियो।

कोभिड-१९ का कारण त्यहाँ १० जनाको मृत्यु भएको छ।

आइसल्यान्डमा ठूलो सङ्ख्यामा परीक्षण गरिएको छ

औपचारिक रूपमा चिनियाँ भूभाग ताइवानमा राष्ट्रपति साइ इङ-वनले तत्काल प्रकोप नियन्त्रण केन्द्र स्थापना गरिन् र भाइरस सङ्क्रमण नियन्त्रण गर्न खोजी कार्य तीव्र बनाइन्।

ताइवानले अनुहारमा लगाउने मास्कजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादन पनि बढायो।

दुई करोड ४० लाख जनसङ्ख्या भएको ताइवानमा छ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

न्यूजील्यान्डमा प्रधानमन्त्री जसिन्डा आर्डनले कोभिड-१९ सन्दर्भमा विश्वकै कडा अडान लिएकी छन्।

अरू मुलुकहरूले ग्राफ उचाइमा नपुर्‍याउने उपाय अनाए पनि उनले सङ्क्रमण नै हुन नदिने उपायमा जोड दिएकी छन्

मुलुकमा छ जनाको ज्यान जाने बित्तिकै लकडाउन गरियो र अहिलेसम्म त्यहाँ १९ जनाको ज्यान गएको छ।

यी मुलुकहरूमा महिला नेतृत्व मात्र साझा कुरा होइन। यी मुलुकहरूले महामारी नियन्त्रण गर्न अपनाएका कतिपय उपाय पनि मिल्दाजुल्दा छन्।

यी मुलुकहरूमा समाजकल्याणकारी प्रणाली विद्यमान छ र सामाजिक विकासका सबैजसो सूचकाङ्कमा उनीहरू माथि छन्।

उनीहरूसँग सङ्कटकालसँग जुझ्न सक्ने बलियो स्वास्थ्य सेवा प्रणाली छ।

त्यसो भए यी नेताहरू केन्द्रित कुरा हो कि- मुलुकहरूमा महिला नेता हुँदा के होला?

‘यो विविधताको कुरा हो’

पर्यवेक्षकहरू भन्छन्, ती निर्वाचित महिलाहरूले कसरी राजनीति गर्छन् त्यसले भूमिका खेल्ने गर्छ।

यूएन फाउन्डेशनकी सदस्य तथा थ्रीडी प्रोग्राम फर गर्ल्स एन्ड विमिनमा कार्यकारी निर्देशक डा. गीता राव गुप्ता भन्छिन्, “महिलाहरू पुरुषहरूभन्दा फरक शैलीको नेतृत्व गर्छन् भन्ने त मलाई लाग्दैन। तर महिला नेतृत्वमा पुगेपछि निर्णय गर्ने बेलामा विविधता आउँछ।”

उनले भनिन्, “तपाईँसँग पुरुष र महिला दुवैको दृष्टिकोण हुने भएकाले तपाईँले लिने निर्णय सही हुन सक्छ।”

त्यो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पदेखि ब्राजिलका जइर बोल्सोनारुजस्ता उनीहरूका पुरुष सहकर्मीले गर्ने गरेको राजनीतिक दाउपेच र विज्ञानलाई अस्वीकार गर्ने प्रवृत्तिभन्दा विपरीत छ।

ब्राजिलका राष्ट्रपतिले कोभिड-१९ लाई साधारण फ्लु भन्दै सामाजिक दूरीसम्बन्धी नियमलाई गम्भीर रूपमा लिएका छैनन्

किङ्ग्स कलेज लन्डनमा ग्लोबल इन्स्टीच्यूट फर विमिन लीडरशीपकी निर्देशक रोजी क्याम्पबेल भन्छिन्, “नेतृत्व शैली महिला या पुरुषले जन्मँदै ल्याएका हुँदैनन्।”

“तर समाजमा हाम्रो घुलमिल कसरी भयो भन्ने कुराले पनि भूमिका खेल्छ। महिलाहरू अरूको भावना बुझेर र सहकार्य गर्ने किसिमका नेता बनेको पाइन्छ। तर धेरै पुरुषहरू दुर्भाग्यवश नकारात्मक र अति प्रतिस्पर्धा गर्ने श्रेणीमा पर्न जान्छन्।”

उनी भन्छिन्, पुरुष नेतृत्वमा रहने यो चरित्र “राजनीतिमा बेलाबखत आउने लोकप्रियतावादी मोडहरूले झन् बिगारिदिन्छ।”

‘पुरुषमुखी’ राजनीतिको समस्या

लोकप्रियतावादी नेताहरू ‘साधारण सन्देशमा’ भर पर्छन्। त्यस्तै दृष्टिकोण महामारी व्यवस्थापनमा पनि देखिएको छ।

केही मुलुकको नाम लिँदा अमेरिका, ब्राजिल, इजरेल र हङ्गेरीका नेताले आफ्नो कमजोरीको दोष ‘बाहिरबाट आयात गरिएको रोग’ भनेर अरूमाथि थोपर्न खोजिरहेको देखिन्छ।

प्राध्यापक क्याम्पबेल भन्छिन्, “ट्रम्प र बोल्सोनारुले पुरुषवादी व्यक्तित्व प्रदर्शन गर्न खोजिरहेका छन्। त्यो उनीहरूमा जैविक रूपमा आएको नभई त्यसो गर्न रोजेका मात्र हुन्।”

कोभिड-१९ सङ्कटविरुद्धका गतिविधि विविध छन्। त्यो हरेक मुलुकको सामाजिक, आर्थिक धरातल र स्रोतको उपलब्धतामा निर्भर छ। त्यसमा लिङ्गले कुनै भूमिका नखेलेको हुन सक्छ।

प्राध्यापक क्याम्पबेलले भनेको जस्तो सूचीमा नपर्ने पुरुष नेताहरू भएका देशमा तुलनात्मक रूपमा कोभिड-१९ का कारण कम मृत्यु भएको छ।

चान्सलर मर्केललाई केहीले महामारीविरुद्धको “युरोपेली नायिका” भन्ने गरेका छन्

तुलनाकै कुरा गर्दा छ करोड जनसङ्ख्या भएको इटलीमा २७,९६७ जनाको मृत्यु भयो।

ग्रीसमा वैज्ञानिक सुझावलाई प्राथमिकतामा राखेर तथा कोरोनाभाइरसका कारण मुलुकमा पहिलो मृत्यु हुनुअघि नै छिट्टै सामाजिक दूरी कायम राखेर यो समस्यासँग जुझ्दैछ।

र, महिलाले नेतृत्व गरेका मुलुक पनि सङ्क्रमणसँग सङ्घर्षरत छन्। उदाहरणका लागि बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाले संसारको सघन जनसङ्ख्या भएको देशमा सङक्रमण नियन्त्रणमा राख्न सफल भएकी छन्।

तर मुलुकको परीक्षण क्षमता र बाङ्लादेशका स्वास्थ्यकर्मीहरू पीपीईको अभावमा काम गरिरहेका छन्।

कठिन निर्णयहरू

कोभिड-१९ लाई नियन्त्रणमा राख्न नेताहरूले महामारीको शुरूवाती चरणमै अर्थतन्त्र बन्द गर्ने कठिन निर्णयहरू गर्नुपर्‍यो।

प्राध्यापक क्याम्पबेल भन्छिन्, “तर त्यस्ता निर्णयले अल्पकालीन रूपमा उच्चस्तरको राजनीतिक मूल्य चुकाउनुपर्ने जोखिम बोकेका हुन्छन्” जुन “लोकप्रियतावादी नेताहरूको चाहनाविपरीत हो।”

त्यसविपरीत केही नेत्रीहरूले खुला र पारदर्शी रूपमा उनीहरूको मुलुकले सामना गरिरहेको चुनौतीबारे कुराकानी गरेर आमधारणा जितेका छ्न्।

जर्मनीकी एङ्गेला मर्केलले कोभिड-१९ असाध्यै गम्भीर खतरा भएको छिट्टै स्वीकार गरिन्।

सङ्ख्या गन्ने हो भने उनको देशले युरोपमा सबैभन्दा ठूलो सङख्यामा परीक्षण खोज्ने काम र एकान्तवास योजना ल्यायो।

आठ करोड ३० लाख जनसङ्ख्या भएको जर्मनीमा कोभिड-१९ का कारण ६,६३२ जनाको ज्यान गयो।

नर्वे र डेनमार्कमा उनीहरूका महिला प्रधानमन्त्रीहरूले बहादुर देखिन खोज्ने पुरुष सहकर्मीभन्दा फरक धारणामा काम गरे।

नर्वेजियन नेता एर्ना सोलबर्ग र उनकी ड्यानिश सहकर्मी मेटे फ्रेडरिकसेनले वयस्कहरूलाई निषेध गरिएको बच्चाहरूका लागि प्रेस सम्मेलन गरे।

नर्वे र डेनमार्कका महिलाहरूले बालबालिकाका विशेष चासो सम्बोधन गर्न विशेष प्रेस सम्मेलन गरेका थिए

न्यूजील्यान्डकी जसिन्डा आर्डनले पनि लकडाउनका कारण इस्टर फरक तरिकाले मनाउनेबारे बच्चाहरूलाई बुझाउन खोजिन्।

उनी भन्छिन्, सबैभन्दा सानो उमेरको जनसङ्ख्याको चासो सम्बोधन गरेर राजनीतिक नेताहरूले विश्वव्यापी महामारीले सबै उमेर समूहका मानिसलाई प्रभावित पारेको तथ्य स्वीकारेका छन्।

‘राम्रा निर्णय’

विश्वव्यापी रूपमा स्वास्थ्यकर्मीमध्ये ७०% महिला छन्। तर सन् २०१८ मा १५३ जना निर्वाचित राष्ट्रप्रमुखमध्ये १० जना मात्र महिला रहेको इन्टरपार्लियामेन्टरी युनियनको तथ्याङ्क छ।

संसारका कुल सांसदमध्ये एक चौथाइ मात्र महिला छन्।

बील एन्ड मेलिन्डा गेट्स फाउन्डेशन कार्यक्रमअन्तर्गत विमिनलिफ्ट हेल्थ कार्यक्रमको सल्लाहकार समितिकी अध्यक्ष समेत रहेकी डा. गुप्ता नेतृत्वमा अझ बढी महिला आउनुपर्ने बताउँछिन्।

त्यसले निर्णय लिने काममा सुधार आउने उनको भनाइ छ।

संसारमा स्वास्थ्यकर्मीमध्ये ७० प्रतिशत महिला छन् तर नेतृत्वमा भने निकै कम महिला पुगेका छन्

त्यसो हुँदा केहीका लागि मात्र नभएर समाजका सबै तप्काका लागि हुने किसिमका निर्णयहरू आउन सक्छन्।

“महिला भएका कारणले समाजमा लैङ्गिक हिसाबले गरिएका भूमिका र जिम्मेवारी पनि नेत्रीहरूले अनुभव गरेका हुन्छन्। त्यसैले उनीहरूको धारणा र निर्णय त्यो अनुभवका कारण पनि प्रभावित हुन सक्छ।”

डा. गुप्ताले महिला र पुरुषमा कोभिड-१९ ले पार्न फरक किसिमले सामाजिक र आर्थिक प्रभाव पार्न सक्ने चेतावनी दिँदै भन्छिन्: महिला हिंसा बढेको छ, गरिबीको जोखिम बढेको छ र लैङ्गिक आधारमा रहेको असमान ज्यालामा प्राप्त उपलब्धि उल्टिने खतरा छ।

उनी भन्छिन्, “हामी पछाडि धकेलिँदैछौँ, महामारीका कारण यस्तो भएको हो।”

स्रोत :- बिबिसि नेपाली सेवा एवमं अनलाईन न्युज पोर्टलहरु

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.