देश विदेश

पर्सामा थप १७ जनामा कोभिड-१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ९९

शेयर गर्नुहोस्

नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ९९ पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।

यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।

अहिले सङ्क्रमण पुष्टि भएका सबै जना प्रदेश नं २ मा पर्ने पर्सा जिल्लाका हुन्।यसअघि गत आइतवार एकै दिन १६ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको थियो। तीमध्ये एक जना पर्सा र १५ जना बाँके जिल्लाका थिए।

को हुन् नयाँसङ्क्रमित?

पर्साको वीरगन्जबाट सङ्कलित नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो।

तीमध्ये १७ वटामा कोरोनाभाइरस देखिएको हो।

अहिले सङ्क्रमण पुष्टि हुनेमा दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका व्यक्ति रहेको जानकारी डा. देवकोटाले दिए।

तीमध्ये सात महिला र १० पुरुष छन्।

फेरि कोरोनाभाइरस देखिने को हुन्?

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यसअघि कोभिड-१९ निको भएर अस्पतालबाट बिदा पाएका तीन जनामा पुन: कोरोनाभाइरस देखिएको बताए। उनीहरू काठमान्डू, रौतहट र पर्साका हुन्।

उनीहरूमा सङ्क्रमण देखिनुका कारणबारे थप अध्ययन भइरहेको डा. देवकोटाले बताए।

वैशाख ११ गते सङ्क्रमणमुक्त भएर घर फर्किएका व्यक्ति नियमित जाँचका लागि आउँदा उनको शरीरमा कोरोनाभाइरस पाइएपछि पाटन अस्पतालमा भर्ना भएको बताइन्छ।

त्यसैगरी वैशाख १४ गते सङ्क्रमणमुक्त भएका भनिएका पर्साका ४४ वर्षीय र रौतहटका १९ वर्षीय किशोरमा पनि पुन: परीक्षण गर्दा कोरोनाभाइरस देखिएपछि वीरगन्जमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *