देश विदेश

कोरोना भाइरस नेपाल: कोभिड-१९ का कारण पहिलो मृत्यु पुष्टि, मृतक सुत्केरी महिला

शेयर गर्नुहोस्

कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

कोभिड-१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो। उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन्।

घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बताइएको छ।

मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ। योसहित शनिवार साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

अब कुल सङ्क्रमितको सङ्ख्या २८१ पुगेको छ।

नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण कसैको मृत्यु भएको यो पहिलो पटक हो।

के भन्यो मन्त्रालयले?

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी ती २९ वर्षीया महिला काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएको उल्लेख छ।

“ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ।

“यस सम्बन्धमा विस्तृत विवरण लिइएको र कोभिड-१९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।”

अधिकारीका अनुसार साँझ पुष्टि भएका दुई सङ्क्रमित धनुषाका हुन्।

शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।

कहाँ कति सङ्क्रमित छन्?

अहिलेसम्म २६ वटा जिल्लामा सङ्क्रमण भेटिएको छ। तर कर्णाली प्रदेशमा कतै पनि कोभिड-१९ पुष्टि भएको छैन।

अहिलेसम्म प्रदेश नं २ मा ११० र प्रदेश नं ५ मा १०९ सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्।

सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार अपराह्णसम्म १६,३६६ व्यक्ति देशका विभिन्न स्थानमा क्वारन्टीन छन्।

तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै १०,२२२ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम २०० जना छन्।

मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म पीसीआर विधिवाट जम्मा २६,६९१ वटा र आरडीटी विधिबाट ६५,७४९ वटा परीक्षण गरिएको छ।

अहिले काठमाण्डू उपत्यकामा ३२ जनासहित देशभरि कुल ३२० जना आइसोलशनमा छन्। यो सङ्क्रमित र सम्भावित व्यक्तिसहितको सङ्ख्या भएको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *