देश विदेश

स्पेनमा खुकुलो पारियो लकडाउन

शेयर गर्नुहोस्

बसन्त रानाभाट

बार्सिलोना, ४ जुन (जीएनएन) — स्पेनमा मुलुकभर लगाइएको आपतकालिन अवस्था जारी नै छ, तर सावधानीका उपाय अपनाउँदै लकडाउनलाई खुकुलो पार्दै लागिएको छ । सङ्क्रमण ज्यादा भएको ठाउँमा अलि कडिकडाउ गर्ने र कम भएका ठाउँहरुमा खोल्दै जाने रणनीति स्पेन सरकारले अपनाएको छ।

प्रत्येक चरणका लागि १५ दिनको परीक्षणको समयसिमा तोकिएको छ। सङ्क्रमणको अवस्था सुधारजनक नभए सो क्षेत्रलाई सोहि चरणमा राख्ने मोडालिटी तय गरिएको छ। त्यसैले पनि बढी प्रभावित शहरहरु राजधानी म्याड्रिड र बार्सिलोना अझै पनि पहिलो चरणमा नै छन्।

यी शहरहरु पनि आगामी सोमबारदेखि दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। तर यसअघि नै झण्डै ७० प्रतिशत जनसंख्या दोस्रो चरणमा पुगिसकेको छ। स्पेनका कतिपय टापुहरु तेस्रो चरणमा पनि प्रवेश गरिसकेका छन्। लकडाउन खुकुलो हुँदै गएपछि सार्वजनिक यातायात प्रयोग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तर यात्राको क्रममा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार कोरोनबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा स्पेन पाँचौ स्थानमा छ । स्पेनमा कोभिड-१९ का कारण २७ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो ४८ घण्टामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।

दैनिक नयाँ संक्रमितको संख्या पनि न्यून रहेको छ। बार्सिलोनामा चहलपहलपर्यटकीय शहर बार्सीलोनास्थित सामुन्द्रिक किनारामा मंगलबार साँझ पुग्दा त्यहाँ चहलपहल देखिन्थ्यो। शारीरिक व्यायाम, खेलकुद तथा हिडडुलका लागि मानिसहरु निस्केका थिए। त्यहाँ वरपरका बार तथा रेष्टुरांबाहिर टेबल कुर्सीहरु भरीभराउ थिए। बार्सिलोनास्थित रेष्टुरेन्ट ब्यवसायी दीपक खरेलले पछिल्लो अवस्थाले आफू निकै उत्साहित भएको बताए । उनले भने,”अहिले रेष्टुरेन्टबाहिर टेबल कुर्सि राखेर सर्भिस सुरु गरेका छौं।

ग्राहकहरु पनि खानपिन गर्न पाउंदा निकै खुशी देखिएका छन्। आउँदो हप्ता दोस्रो चरणमा पुगेपछि भित्रपनि ४० प्रतिशत क्षमतामा ग्राहक राख्न सकिन्छ। सामान्य अवस्थामा फर्कनेमा म निकै आशावादी रहेको छु।”जुलाईदेखि अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत भित्राउने लक्ष्य सरकारले लिएको छ । ४ करोड ६० लाख जनसंख्या रहेको स्पेनले गत वर्ष ८ करोड पर्यटकहरु भित्राएको थियो। तर यो वर्ष अप्रिल महिनामा पर्यटकको संख्या शून्य रहेको सरकारी तथ्याङ्क हालै सार्वजनिक भएको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरसभन्दा खतरनाक हुने देखिएपछि संकटकाबीच पनि आर्थिक गतिबिधि बढाइने बताएका छन्।

ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै राष्ट्रिय स्वास्थ्य तथा पर्यावरण संस्थान, काठमाडौंका उपाध्यक्ष तथा जनस्वास्थ्यविद् डा. गेहेन्द्र महराले नेपालले पनि स्पेनले अपनाएको रणनीतिबाट सिक्नु पर्ने बताए। “हामी कहाँ संक्रमण पहिलो चरणमै छ र खासगरी भारतबाट आएका नेपालीहरुमा देखिएको छ। त्यसैले सीमावर्ती क्षेत्रमा रहेका क्वारेन्टिनहरुलाई व्यवस्थित गरी, स्वास्थ्यकर्मीहरुको राम्रो व्यवस्था गरेर, समुदायको समेत सहयोगमा जनजागरण अभियान चलाउनु पर्छ।

संक्रमण न देखिएका वा कम देखिएका जिल्लाका शहरी क्षेत्रहरु खुला गर्दै जानु पर्छ। तर मास्क लगाउने, पटक पटक साबुन पानीले हात धुने तथा भौतिक दूरी कायम गर्ने जस्ता काम चाहीं अनिवार्य गर्नु पर्छ । साथसाथै ट्रेसिंग र पीसीआर टेस्टिंगको संख्या र दायरालाई पनि बढाउंदै लग्नुपर्छ, ” उनले भने। यसैबीच कोरोना महामारीले रोकिएको स्पेनी ला लिगा पनि जुन ११ तारिखदेखि सुरु हुँदैछ। लिग आयोजकले दुई चरणको तालिका सार्वजनिक गरिसकेको छ। दर्शकहरु बिना नै खेलहरु संचालन हुने भएतापनि संसारभरका फुटबलप्रेमीहरु निकै उत्साहित बनेका छन्।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *