देश विदेश

अष्ट्रेलियामा विश्वकै ठुलो मखमली फुलबारी बनाउदै नेपाली युवा

शेयर गर्नुहोस्

सरल गुरुङ/होवार्ट
अष्ट्रेलियाको तास्मानियामा एक नेपाली युवाले विश्वकै ठुलो मखमली फुलवारी बनाउन सुरु गरेका छन् । फुलबारीका लागि जग्गा किन्ने काम सकिएर डिजाइन र खनजोत गर्ने कार्य सुरु भइसकेको छ । तास्मानियाको राजधानी होबार्टबाट ३५ किलोमिटर टाढा रहेको ओरियलटनमा ७ सय १३ रोपनी अर्थात ९० एकर जमिनमा मखमली फुलको बगैचा बनाउन लागिएको हो । जसमध्ये पहिलो वर्ष २४० रोपनीमा मखमली रोपिने तयारी छ । आगामी दुइ वर्षभित्र ६ सय रोपनीमा मखमली रोपिने तयारी छ । मखमली रोप्नका लागि नेपालबाटै बिउँ झिकाइएको छ । तिहारको मालाका लागि ल्याएको मखमलीलाई नै बिउँको रुपमा प्रयोग गर्न लागिएको हो । बगैचा आगामी डिसेम्बरबाट संचालनमा आउनेछ ।
मखमली बगैचा बनाउने युवा हुन् नुवाकोट स्थाई घर भएका डाक्टर किरण थापा । सिड्नीमा रहेर मोर्गेज क्षेत्रको सफल उद्यमी बन्नु भएका थापाले अष्ट्रेलियाको फाइनान्समा पिएचडी गर्नुभएको छ । तीन वर्ष अघिको आफ्नो सपनालाई मुर्तरुप दिन थापा अहिले तास्मानियामै हुनुहुन्छ ।

घुम्दा घुम्दै जुरेको पर्पल लभ

अष्ट्रेलियामा डेढ दशक बिताइसक्नु भएका सफल व्यवसायी किरण थापालाई धेरै प्रकृति प्रेमी घुमन्ते पनि भन्छन् । फुर्सद मिल्यो कि परिवार लिएर लुसुक्क चाहार्न निस्किने थापाको बानी छ । थापा भन्नु हुन्छ त्यहि घुमन्ते बानीले नै जुराइदिएको हो पर्पल लभ अर्थात बैजनी माया ।
खास भएको के रहेछ भने, केही वर्षदेखि किरण केही नयाँ गर्न चाहिरहनु भएको थियो । तर, के गर्ने खासै आइडिया फुरेको थिएन । तर, क्यानबेरा र टोअम्बाका केही फुल फेष्टिभलहरु घुमेपछि भने किरणले प्राकृतिक कुरालाई नै सदुपयोग गर्ने केही व्यवसाय गर्ने निधो गरे । मखमली फुलको आइडिया भने तिहारमा नेपालबाट ल्याएको माला देखेपछि फुरेको रहेछ । तिहारमा ल्याएको मखमली माला लगाएर केटोकटीले घर नजिकै क्रिकेट खेल्दा त्यसको बिउ जमिनमा खसि फुल उम्रिएको घटना किरण सुनाउनुहुन्छ । ‘तिहारको मालाबाट झरेको फुलबाट घर पछाडीको करेसा बारीमा मखमली फुल फुलेको देखेर म छक्क परे’-किरणले भन्नुभयो -‘यत्तिकै त उम्रिन्छ भने यसलाई व्यवसायिक रुपमा उमान्न सकिन्छ कि भन्ने पहिलो सोच आयो ।’ त्यसपछि दुइ वर्ष यहि फुल सम्बन्धी अध्ययन र अनुसन्धान गरेपछि अन्तत किरणले मखमली फुलको बगैचा नै बनाउने निधो गर्नुभएको हो ।

गोलाकार आकारमा बन्ने मखमली फुलवारीलाई थापाले पर्पल लभ अर्थात बैजनी मायाको नाम दिनुभएको छ । यसको ब्राण्ड नाम चाहि ओ पर्पल हुने भएकाले फुलबारीको आकार पनि ओ जस्तै गोलाकार बनाउन लागिएको हो । पर्पल लभ फुलवारीभित्र डोम आकारका २० वटा होटलहरु पनि रहनेछन् । त्यस्तै क्याफे, साइकल सवारी, बालबालिका खेल्ने उद्यान लगायतले बगैचाको सुन्दरतामा चमक ल्याउने छन् ।ओ पर्पल ब्राण्डका फेसन कपडा समेत उत्पादन गर्न लक्ष्य छ । पर्पल लभमा वार्षिक १ लाख पर्यटक भित्र्याउने तयारी छ । होबार्टमा वार्षिक १३ लाख पर्यटक आउने गरेको तथ्यांक पेश गर्दै किरण भन्नुहुन्छ ती मध्ये हाम्रोमा १ लाख त कसो नआउलान् ?

मखमलीको माला र चिया बिक्री

झट्ट हेर्दा र पढ्दा पर्पल लभ पर्यटक तान्ने फुलवारी जस्तो देखिएपनि खासमा यो आर्युवेदको एउटा प्रयोगशाला हो । किरणका अनुसार मखमली फुलको चिया, पात मानव स्वास्थ्यका लागि निकै लाभदायक छ । चीनमा त मखमली फुलको चियाको माग निकै धेरै रहेको किरण बताउनुहुन्छ । त्यसैले पर्पल लभमा उत्पादन भएको फुल र पातलाई सुकाएर चियाको रुपमा विश्व बजारमा पु¥याउने किरणको तयारी छ । यसबारे थप अनुसन्धान गर्न किरणको टिमले स्थानिय विश्वविद्यालयसंग सहकार्य गरेर अनुसन्धान गर्ने पनि तयारी गरेको छ ।
त्यस्तै यहाँ उत्पादन भएको मखमलीको माला पनि अष्ट्रेलियाभरी बिक्री हुनेछ । नेपाली, भारतिय र भूटानी समुदायमा मखमलीको माला प्रयोग हुन्छ । एक तथ्याकं अनुसार तिहारको बेलामात्रै एक नेपाली व्यवसायीले ३० हजार मखमली माला नेपालबाट भित्र्याउने गरेको किरण बताउनुहुन्छ । त्यस्तै बगैचामा घुम्न जाने पर्यटकलाई पनि सम्झना गुच्छा बनाएर फुल बिक्री गर्ने योजना किरणको छ ।

दश लाख डलरको परियोजना

पर्पल लभ परियोजनाका लागि झण्डै १० लाख डलर खर्च हुने अनुमान छ । किरणका अनुसार अन्य लगानीको तुलनामा यो त्यति ठुलो लगानी होइन । थोरै लगानीमा पनि अर्थपुर्ण काम हुने परियोजनाका रुपमा यसलाई लिनुपर्ने किरणको भनाई छ । १० लाख डलरमा जग्गाको मुल्य र अन्य संरचनाहरु निमार्णको खर्च जोडिएको छ । हाललाई कम खर्च गर्नका लागि डोम होटलका ठाउमा टेन्ट, र क्याफेको सट्टा बस क्याफे राखिने किरणको तयारी छ । बगैचाको व्यवस्थापन गर्न स्थानिय श्रम बजारबाटै कर्मचारीहरु राखिने बताइएको छ । हाललाई २५ देखि ३० जना कर्मचारी राखेर आगामी डिसेम्बरबाट बगैचा संचालनमा ल्याउने तयारी रहेको किरणले बताउनुभयो । यो परियोजनाले स्थानिय पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने नभई, अष्ट्रेलियामा बढ्दै गरेको नेपाली समाजको शान बढाउन मद्दत पुग्ने किरणको दाबी छ ।

को हुन् किरण

नुवाकोटको ढुंगेबजार स्थाई घर भएका किरण थापा सन् २००६ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनु भएको हो । नेपालका सिभिल इन्जिनियर किरण मेलवर्न विश्वविद्यालयमा डेभलपमेन्ट टेक्नोलोजीमा मास्टर्स पढ्न आउनु भएको थियो । त्यसपछि किरणले स्डिनीको युटिएस विश्वविद्यँलयबाट फाइनान्समा पिएचडी गर्नुभएको हो ।

सन् २००९ देखि क्यापकन भन्ने व्यवसाय दर्ता गरेर मोर्गेज ब्रोकरको रुपमा काम गर्दै आउनुभएका किरण एक सफल व्यवसायीका रुपमा चिनिनुहुन्छ । हाल क्यापकनको शाखाहरु सिड्नीबाट अष्ट्रेलियाका मुख्य शहरहरुदेखि नेपालसम्मै फैलिएको छ ।
सफल हुनका लागि आफ्नो उदेश्य कहिल्यै भुल्न नहुने किरणको भनाई छ । जुन समयमा जे गर्नुपर्ने हो त्यो मन लगाएर गर्न किरण सुझाव दिनुहुन्छ । पढ्न आएको हो भने राम्रोसंग पढ्नुस् किरण भन्नुहुन्छ पढ्न छोडेर पैसा मात्रै कमाउछु भन्नु भयो भने सफल हुन सकिदैन । किरण भन्नुहुन्छ – ‘समय अनुसार आफ्नो क्षमतावृद्धी गर्न लागिरहने, आफ्नो क्षेत्रका सफल मानिससंग नेटवर्किङ गर्ने तथा निरन्तर प्रयास गरिरहने हो भने अष्ट्रेलियामा जो कोही पनि सफल बन्न सक्छ’ |
Source link

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *