देश विदेश

बढ्यो हवाई यात्रुको कोटा, एनआरएनएलाई नेपाल आउँन आंशिक अनुमति

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले नियमित तथा उद्धार उडानबाट नेपाल आउने यात्रुको कोटा बढाएर दैनिब ८ सय पुर्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले दैनिक कोटालाई ५०० बाट बढाएर ८०० पुर्याएको हो ।

अब नियमित र उद्धार गरी दिनमा ८ सयसम्म हवाई यात्रुले नेपाल आउन पाउनेछन् । यसरी आउने सम्पूर्ण यात्रु व्यवस्थापनको जिम्मेवारी अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । उडान संख्या, यात्रुको व्यवस्थापन र क्वारिन्टिन तथा आइसोलेसनको क्षमता हेरेर पर्यटन मन्त्रालयले यात्रुलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । आजबाटै नेपालबाट नियमित फ्लाइट खुला हुँदैछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरुसँगै मापदण्ड पुरा गर्ने गैरआवासीय नेपालीहरुले आउन पाउनेछन् । हवाई यात्रुहरुले ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा उडान अनुमति दिइएको छ भने बाँकी पीसीआर सहज नभएका देशमा आवश्यकता अनुसार चार्टर्ड उडान हुनेछन् । साउदी अरब, कतार, कुवेत लगायतका मुलकुमा पीसीआर रिपोर्ट लिन कठीन एकाले दूतावासले सिफारिस गरेका व्यक्ति चार्टर्ड उडन मार्फत फर्किन सक्नेछन् । पुरानै प्रक्रियाअनुसार चार्टर्ड विमान पर्खिनुपर्नेछ ।

विदेशस्थित दूतावासहरुले नियमित फ्लाइटको संख्या कम हुँदा एयरलाइन्सहरुले चर्को भाडा असुल्न थालेको जानकारी सरकारलाई बारम्बार गराएपनि महंगो टिकट काट्नुपर्ने बाध्यता कायमै रहने देखिएको छ । बाक्लो मात्रामा नियमित फ्लाइट गर्न माग गरिदैगर्दा सरकारले ३ सय मात्रै कोटा बढाएपछि तत्कालै नियमित फ्लाइटको भाडा घट्ने सम्भावना टरेको हो । अहिले एयरलाइन्सले महामारीअघिको भन्दा तेब्बरसम्म भाडा असुलेर नियमित फ्लाइटको टिकट काटिरहेका छन् । कतिपय यात्रु यस्तो महंगो टिकट काटेर स्वदेश फर्किनसक्ने अवस्थामा छैनन । मलेसियास्थित नेपाली दूतावासले अहिले महिनामा १३ वटा रहेको नियमित फ्लाइटलाई कम्तिमा ६५ वटा बनाए मात्रै यात्रुले नियमित फ्लाइटमा सस्तो टिकट पाउने भन्दै पत्र लेखेका छन् ।

एनआरएनएलाई नेपाल आउन आंशिक छुट
सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपाली (एनआरएन)का लागि समेत हवाई उडानमा आंशिक अनुमति दिएको छ । नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउन अनुमति दिइएको हो । यस्तो अनुमतिसम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोग मार्फत दिइनेछ । नेपालमा अध्ययन गर्ने विदेशी विद्यार्थीलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिइने भएको छ ।



Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *