देश विदेश

पाँच महिनापछि नियमित उडान, सिमित उडानलाई धेरै जनशक्ति र संरचना खर्च

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात भदौ १६ बाट केही शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याएको छ । पाँच महिनापछिको नियमित उडान अन्तर्गत मंगलबार राती १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिता प्रस्थान गरेको छ ।

यस्ता छन्, नियमित उडानका शर्तहरु
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीकाबीच सुरक्षित उडानका लागि भन्दै पिसीआर परीक्षण सहज भएका देशहरुबाट मात्र नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ८०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुनेछ । विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पिसिआर लगायतको विवरण हेरेर होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्नेछ । पिसिआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्न पाउनेछन भने पिसीआर रिपोर्ट नभएकाले होटल क्वारेन्टिनमा सात दिन बसेर स्वास्थ्य परीक्षण लगायतको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन् ।

मंगलबार मध्यराती पहिलो नियमित उडान
नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको पहिलो दिन नेपाल वायु सेवा निगमको एक मात्र जहाजले उडान भरेको छ । निगमको वाइड बडी जहाजले राति १ः०० बजे जापानको नारिताका लागि उडान भरेको छ । यो जहाज नियमित उडान मार्फत नै बुधबार काठमाडौं फर्कनेछ । मंगलबार अन्य एयरलाइन्सको नियमित उडान तालिका नभएपनि चार्टर्डतर्फ पाँच उडान भएका छन् । राती नै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि कुनमिङ उडेको छ । बुधबार माल्दिम्भमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज त्यता जाने छ भने कतार एयरवेज दोहाबाट काठमाडौं आउँनेछ ।

धेरै जनशक्ति खर्चेर सिमित उडान
विमानस्थललाई कोभिड–१९ सङ्क्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने बाध्यता भएपनि थोरै उडान सञ्चालन गर्दा समेत जनशक्ति र संरचना उत्तिकै खर्चनुपर्ने देखिएको छ । विमानस्थलको खर्च, समय र जनशक्ति बढी व्यवस्थापन गर्नुपर्दा केही असहज हुने भएको छ । नियमिततर्फ दैनिक दुई देखि तीन र चार्टर्डका केही उडानले अब नियमित उडान भर्नेछन् । विदेशतर्फको तालिका नमिल्दा रात्रिकालिा समय र मध्यरातमा उडान र अवतरणका कारण सम्पूर्ण संरचना तयार हुनुपर्दा विमानस्थलको खर्च र समय बढी खर्चिनु परेको छ ।

नियमित उडान हुने देश
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई नेपाल ल्याउन नियमति उडान गरिनेछ ।

उद्धार उडान नै जारी रहने देश
पिसिआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन । नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रु चार्टर्ड उडान मार्फत नेपाल ल्याइनेछन् । पिसिआर टेष्ट सहज नभएका मुलुकहरुमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्नेछन् ।

बन्दबन्दीपछि ७६ हजार बढीले उडान भरे
बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको नेपालमा यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि भन्दै बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बन्दाबन्दी र त्यसपछि लागू गरिएको निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आउँदा नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । चैत ११ देखि भदौ १४ गतेसम्मको अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *