Uncategorized

यूएईमा नेपालीको हत्या : एकले अर्कालाई चक्कु प्रहार गरेको प्रहरीको निष्कर्ष

शेयर गर्नुहोस्

उमाकान्त पाण्डे

दुबई – यूएईमा हत्या भएका दुवै नेपालीको पहिचान र हत्याको कारण पनि खुलेको छ ।

यूएईको सारजाहमा साउन २४ गते हत्या भएको दुई नेपालीमध्ये बेलबारी ३ मिर्मिरेचोक मोरङका २६ वर्षीय किरण गुरुङ रहेको खुलेको छ । यसअघि त्यही घटनामा भगवतीपुर ७ तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठको पहिचान भईसकेको थियो ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको हत्या भएको यहाँका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चासो लिएर प्रतिनिधि घटनास्थलमा खटाएको थियो ।

दूतावास रहेको ठाउँबाट घटनास्थल झण्डै २ सय किलोमिटर टाढा सारजाहको सरगानमा पर्छ । पहिचान खुलेका गुरुङ र श्रेष्ठको शरीरमा २० भन्दा धेरै ठाउँमा छुरा प्रहार भएको छ । दुवै जनाले एक अर्कालाई छुरी प्रहार गरेको र किरणको कोठाभित्रै र मंगलराजको घरको आँगनमा ज्यान गएको हो ।

चक्कु प्रहारबाट किरणको ज्यान गएपछि मङलराज डराएर लत्रिंदै घरको छतमा पुगेर हाम फाल्दै गर्दा प्रहरी घटनास्थल पुगेको र प्रहरीले सम्झाउँदा सम्झाउदै छतबाट हाम फालेर मङगलराजले पनि देहत्याग गरेको अनुसन्धानबाट खुलेको छ ।

सामान्य विवादमा झगडा परेको र आवेशमा आएर एकले अर्कालाई छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको हो ।

मृतक दुवै जना नेपालबाट कामका लागि बहराइन गएका थिए । दुवै जनाले बहराइनका राजपरिवारको घरमा पालेका चराचुरुङ्गीलाई रेखदेखको काम गर्थे । चराचुरुङ्गीका मालिकको निधन भएपछि त्यहाँको परिवारले ती चराहरु यूएई बेचेको र पंक्षीसँगै रेखदेखको काम गर्दै आएका उनीहरुलाई पनि यूएई ल्याइएको हो ।

मंगलराजले गएको भदौ १ गते बिदामा नेपाल जान टिकटसमेत लिनुभएको यूएईमै कार्यरत उहाँका जेठान कर्मा लामाले उज्यालोलाई जानकारी दिनुभयो । त्यस्तै दशैंसम्ममा मंगलराज फर्किने र किरण दशैंमा नेपाल जाने योजना बुनेर बसेको किरणको परिवारले जनाएको छ ।

हातमा टिकट र साथमा घर फर्कने योजना लिएर मंगलराज यूएईमै अस्ताउनु भयो भने आमा बुवा, बोजु र एक बहिनीको सपना पूरा गर्न परदेशिएका घरका एक्लो छोरा किरण पनि कहिले परिवारलाई नभेट्ने गरी संसार छोड्नुभयो ।

ज्यान गुमाएका दुबै जनाको अनुसन्धान सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाउने दूतावासले जनाएको छ ।  

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *