देश विदेश

नेपाल अपडेट : उद्धार उडानमा ठगीदेखी गम्भिर बिरामी बढ्दै

शेयर गर्नुहोस्

काठमाडौं । नेपालमा कोरोना मिटर उकालो लागिरहँदा उद्धार तथा नियमित उडानबाट स्वदेश फर्किने क्रम जारी छ । महंगो भाडा तिरेर स्वदेश पुग्नेहरु गाडी भाडामा ठगिनुपरेको लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

उद्धार उडानबाट आएकाहरुमाथी ठगी
यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाइएको छ । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी हुँदै आएको व्यवसायीहरुले नै आरोप लगाएका हुन् । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले केही व्यवसायी, यातायात व्यवस्था विभाग, सीसीएमसी लगायतका सरकारी निकायकै संलग्नतामा अमुक व्यक्तिहरुले सेटिङमा महंगो भाडा लिएर यात्रुलाई ओसार्ने काम गरिरहेको बताए । जनकपुरसम्मको २ हजार भाडा लिएर १२ जनालाई २४ हजारमा लगिदा गाडी धनीलाई १६ हजार मात्रै दिएर बिचौलीयाहरुले ठगी गरिरहेको पाइएको छ । व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको दाबी गर्दै अफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने चेतावनी व्यवसायीले दिएका छन् । नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ ।

थपिदै बीओपी
सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र सुर्केथामको बीओपी प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल पाँचथरका डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार दुवै स्थानमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा बीओपी राखिएको छ । एउटा बीओपीमा ३५ जना खटाइएका छन् । चिवाभञ्ज्याङमा नेपाल भारत सिमानादेखि करिब सय मिटर र सुर्केथाममा सिमाना नजिकै बीओपी राखिएको छ । नेपाल प्रहरीको सीमा प्रहरी चौकी भने च्याङथापुमा रहेको छ । यसअघि सिमाको रेखदेख गर्दै आएको चौकीबाट सिमा क्षेत्रमा पुग्न पुरै एकदिन पैदल हिँड्नुपर्ने थियो भने गाडीमा पनि ५ घन्टा बढी समय लाग्थ्यो । प्रदेश १ नं का सिमावर्ती २२ स्थानमा बीओपी राख्ने योजना भएपनि अहिले चिवाभञ्ज्याङ, सुर्केथाम, इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना भएका छन् ।

दुई वृद्धवृद्धा मृत भेटिएपछि
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव घरमा नै फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पुगेको थियो । शवको अवस्था र स्थलगत मुचुल्कापछि डीएसपी चिमरियाले तीन चार दिन अगाडि नै कसैले हत्या गरेको आशंका सहित अनुसन्धान थालिएको जानकारी दिए । गाउँमा सोधपुछ गर्दा भदौ १७ गते अपराह्न साढे ४ बजेसम्म उनीहरू घरमै काम गरिरहेको पाइएको छ ।

एजिङ नेपाललाई युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदान मूल्याङ्कनसहित गरिएको सिफारिशका आधारमा युनेस्को मुख्यालयले अवार्ड दिने निर्णय गरेको हो । हरेक वर्ष विश्वभरीका प्रतिस्पर्धीमध्ये दुई संस्थालाई दिइने यो विश्वप्रसिद्ध पुरस्कारको राशी २० हजार अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकोमा यस वर्ष भदौ २३ गते भर्चुअलरुपमा पुरस्कार वितरण हुने बताइएको छ । नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय हो । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी भण्डारी (चट्याङ मास्टर) ले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालिमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको जानकारी दिए ।

बढ्दै कोरोनाका गम्भिर बिरामी
कोरोना संक्रमितसँगै गम्भिर बिरामीहरु समेत बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेश १ मा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । प्रदेश १ मा १, वागमती प्रदेशमा २० र प्रदेश ५ मा ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । चारवटा प्रदेशका ११ वटा जिल्लामा पाँचसय भन्दा धेरै संक्रमित रहेका छन् । प्रदेश १ मा मोरङ र सुनसरी, प्रदेश २ मा बारा, पर्सा, धनुषा, रौतहट र सर्लाहीमा वागमती प्रदेशमा काठमाडौं, ललितपुर र चितवन अनि प्रदेश ५ को रुपन्देहीमा पाँचसय भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

 


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *