देश विदेश

लेबनानमा सयौँ नेपालीको बिचल्ली : हातमा टिकट छ तर उडान छैन

शेयर गर्नुहोस्

काठमाडौं । लेबनानमा ७ महिनादेखि सयौँ नेपाली अलपत्र परेका छन्। रोजगारी प्रभावित भएपछि उनीहरु स्वदेश फर्किन खोजेका थिए। तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरु रोकिएका हुन्। लामो समय बितिसक्दा पनि घर फर्किन नपाउँदा आम्दानी विहीन भएका उनीहरुको समस्या थप बल्झिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापाले डिसी नेपालालाई बताए।

आफ्नै खर्चमा टिकट काट्दासमेत जहाज नपाउँदा अलपत्र परेको उनीहरुको गुनासो छ। लेबनानसँग नेपालको सिधा हवाइ उडान छैन । दुबई र दोहा ट्रान्जिट हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल सरकारले त्यहाँको लागि चार्टर्ड उडानको व्यवस्था नगरिदिँदा उनीहरु विचल्लीमा परेका हुन्। उनीहरुमध्ये धेरै जनाले दोहा हुँदै नेपाल आउनको लागि कतार एयरलाइन्सको टिकटसमेत लिइसकेका छन् । तर, कतार एयरलाइन्सले उनीहरुलाई नेपाल सरकारले अनुमति नदिएको भन्दै ल्याउन मानिरहेको छैन। उनीहरुको अहिलेसम्म ७ पटकभन्दा बढी टिकट सारिएको बेरुतमा कार्यरत नेपाली युवा सुदिप श्रेष्ठले बताए ।

लेबनानमा करिब तीन हजारको हाराहारीमा नेपालीहरु कार्यरत छन्। तीमध्ये अधिकांश घरेलु महिला कामदार हुन। त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यरत छन्। पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दी तथा कोभिडका कारण त्यहाँ सयौँ नेपालीले गर्दै आएको रोजगारीबाट हात धुनु परेको छ। पछिल्लो समय बेरुतमा भएको विस्फोटले पनि त्यहाँ रहेका नेपालीको रोजगारी थप प्रभावित भएको छ। उनीहरु पनि नेपाल फिर्न खोजेका छन्।

लेबनानमा रोजगारीको लागि जान सरकारले नै अनुमति दिएको छ। प्रायः सबै जसो श्रम स्वीकृति नै लिएर गएका श्रमिक हुन्। तर, समस्यामा पर्दा आफ्नै सरकार मुकदर्शक बनेको उनीहरुले आरोप लगाएका छन्। उनीहरुले जसरी भए पनि आफूहरुको उद्धार गर्न माग गरेका छन्।

लेबनानमा नेपाली दूतावास समेत छैन । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ । दूतावास नहुँदा पनि आफूहरुको समस्या सरकारले नसुनेको उनीहरुले गुनासो छ। इजिप्टमा रहेको दूतावासले त्यहाँको स्थानीय नागरिकलाई नेपाली कन्सुलरको रुपमा नियुक्त गरेको छ। लामो समयसम्म नेपाल फर्कन नपाएपछि उनीहरुले शनिबार कन्सुलर अफिसमा पुगेर आफूहरुलाई उद्धार गर्न भन्दै दवाव दिएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *