देश विदेश

नेपाल अपडेट : कोरोना मिटर, जग्गा कित्ताकाटदेखी राजश्वको तकेतासम्म

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना मिटर बढ्दैगर्दा जग्गाको कित्ताकाट खुलेको छ । संसद विकास कोषलाई कोरोना रोकथाममा उपयोग गर्ने तयारी गरिदैगर्दा राजश्व उठाउन राष्ट्र बैंकले धेरै शाखाहरु खोल्न बैंकलाई निर्देशन दिएको छ । नेपालका यी र यस्तै प्रमुख पाँच खबरहरु यस्ता छन् ।

नेपालमा कोरोना
पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जना संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ सय ९१ जनामा, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ पुगेको छ । आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । सोमबार ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । कोरोनाबाट थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ सय पुगेको छ ।

तीन वर्षपछि खुल्यो जग्गा कित्ताकाट
तीन वर्षपछि सरकारले कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ मा कित्ताकट खुल्ला गर्ने निर्णय गरेसँगै लामो समयदेखी रोकिएको भूमि खण्डिकरण खुल्ला भएको हो । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । कित्ताकाट रोक्दा स्थानीय तहदेखी मालपोत नापीसम्म आर्थिक लेनदेनमा खण्डिकरणले निरन्तरता पाएको भन्दै सरकारकै चर्को आलोचना भयो । अहिले जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ । मन्त्रालय यो निर्णय बारे भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा परिपत्र गरिसकेको छ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले रोकेको कित्ताकाट सर्वसाधारणका लागि मात्रै जस्तो देखिएको थियो । जग्गा कारोवारी, पेसेबर प्लटिङ व्यवसायी लगायतले कित्ताकाट गरेबापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाएर जग्गा खण्डिकरण भएको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । १३ वटा कम्पनी र केही व्यक्तिलाई भने जग्गा प्लटीङ गर्न छुट दिइदै आइएको थियो । सामान्य सर्वसाधारणले भने जग्गा कित्ताकाटमा सधै झमेला ब्यहोर्दै आएका थिए । कृषीयोग्य भूमी खण्डिकरण हुनबाट रोक्न भन्दै बन्द गरिएको कित्ताकाट खोलेर के देशलाई कृषीमा आत्मनिर्भर बनाउन सकिन्छ ? भूमिको बर्गिकरण गरेर कहाँ खेतीयोग्य कहाँ बस्ती बसाउन मिल्ने भन्दै कित्ताकाट गर्ने यसअघिको सरकारी ब्यवस्था किन रातारात खारेज ? धेरैले मन्त्रीको नियमाथी प्रश्न गरिरहेका छन् ।

सांसद विकास कोषको पैसा कोरोना रोकथाममा
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा अड्किएको छ । ालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा रहेको ‘स्वास्थ्य’ लाई प्रस्तावित संशोधित नियमावलीमा पहिलो नम्बरमा राखेर सांसद विकास कोषलाई स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनुपर्ने बनाइएको छ ।

प्रस्तावित संशोधित नियमावली स्विकृत भए कोषको रकमबाट अस्पताल बनाउन, क्वारेन्टिन, आइसोलेसन वार्डहरु बनाउन, भेन्टिलेटर वा अन्य स्वास्थ्य उपकरणहरु किन्न सकिने छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४४ करोडका दरले ६ अर्ब ६० करोड विनियोजन गरेको छ । अघिल्लो वर्ष प्रत्येक निर्वाचन क्षेत्रका लागि ६र६ करोड रुपैयाँ दिइएको थियो । यस वर्ष घटाएर ४ करोड बनाइएको छ । कोरोना नियन्त्रण केन्द्रित संरचना बनाउन वा स्वास्थ्य सामग्री खरिद गर्न लागि सहज हुने प्रावधानहरु राखेर तयार पारिएको नियमावली संशोधन प्रस्ताव स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएपनि स्विकृत हुन बाँकी छ । अधिकांश सांसदहरुले संशोधन प्रस्तावको खुलेर प्रशंसा गरेका छन् ।

नक्कली प्रेस कार्ड बनाउने पक्राउ
पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको छ । नक्कली प्रेस कार्ड बनाएर बिक्रिवितरण गरेको सुराकीका आधारमा पक्राउ गरिएकाहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । अनुसन्धानका क्रममा प्रिन्टिङ कारखानाको दुरुपयोग गर्दै अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएको पाइएको छ । काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाउँदै आएको छ ।

बैंकका धेरै शाखा खोलेर राजश्व उठाउने जुक्ति
नेपाल राष्ट्र बैंकले मंगलवारदेखि आगामी बिहीवारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राजस्व संकलनका लागि तीन दिनसम्म शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई आग्रह गर्दै आएको छ । राजस्व उठाउने म्याद नजिकिदै गएको समयमा करदातालाई सहज सुविधाका भन्दै केन्द्रीय बैंकले ती संस्थाका शाखा कार्यालयहरु खुला गर्न निर्देशन दिएको हो । कोरोना महामारीपछि निषेधाज्ञा लागू गरिएका कारण अहिले बैंक तथा वित्तीय संस्थाका सिमित शाखाहरु मात्र खोल्ने गरिएको छ ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *