देश विदेश

टुक्रिएको हत्केला जोडिएपछिको खुसी, रवि सिंह भन्छन्– ‘नयाँ जीवन पाएजस्तो भो’

शेयर गर्नुहोस्

काठमाडौं । मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुले सफलतापूर्वक जोडिदिएपछि १८ वर्षीया रवि सिंह खुसी भएका छन् । सर्लाही जिल्लाको पर्सा गाँउपालिका २ निवासी १८ बर्षीय रवि सिंहको फ्लेक्स पाइप मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला ट्रमा सेन्टरका चिकित्सकले १० घण्टा लामो शल्यक्रियाबाट जोडिदिएका हुन् ।

असार २९ गते दक्षिणकालीस्थित एक कारखानामा फ्लेक्सको काम गर्दा फ्लेक्स पाइप मेसिनले रविको हत्केला दुई टुक्रा पारिदिएको थियो । टुक्रा भएको हत्केला बोकेर ट्रमा पुगेका रविको त्यहाँको प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा पीयूष दाहालको नेतृत्वमा रहेको चिकित्सक टोलीले १० घण्टा लामो शल्यक्रियापछि जोड्न सफल भएको उनले बताए । सर्जरीको सफलता बारे जानकारी दिदै प्राडा दाहालले अत्यन्तै जटिल मानिने शल्यक्रिया कोरोना महामारीपछिको लकडाउनको अवधीमा सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए । बेलुका ५ बजे घटना घटेको र एक डेढ घण्टामै घाइते युवा ट्रमा आएकाले तत्कालै सर्जरी शुरु गरेर सफलता पाएको डा दाहालले बताए । सर्जरीको नेतृत्वकर्ता समेत रहेका प्लास्टिक सर्जन डा कृष्ण मानन्धरले १८ वटा चलाउने नशा, ५ वटा भेन, ३ वटा आर्टरी र ४ वटा हड्डी जोडिएको बताए । ‘हत्केलामा धेरै मसिनो मसिनो नसाहरु हुन्छ । त्यसलाई छुट्याउनु पर्यो र जोडनु पर्यो । त्यसैले पनि यो जटिल सर्जरी हो । तर पनि हामी त्यसमा सफल भयौँ,’ डा. मानन्धरले भने ।

पुरै काटिएको हत्केला जोडिएपछि रविले चिकित्सकहरुले आफूलाई पुर्नजन्म दिए जस्तो लागेको भन्दै खुसी व्यक्त गरे । ‘म मर्छु होला भनेको थिएँ तर बाँचे र चुडिएको हात पनि जोडियो । हात अहिले चल्न थालेको छ । चिकित्सकले अझै केही समय फिजियो थेरापी पनि गर्नुपर्छ भन्नु भएको छ । म ज्यादै खुशी छु,’ रबिले भने । प्राडा दाहाल र डा मानन्धरसहित अर्का प्लास्टिक सर्जन डा. अपार लामिछाने, प्लास्टकी सर्जरी रेजिडेन्ट डा कमलराज पाठक, एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा, नर्सिङ टिमकी पीङकी लागेजु र अनुपमा फुँयालले सर्जरीलाई सफल बनाएका थिए ।

बेलुका करीब ७ बजे देखि शुरु गरी १० घण्टामा हात जोडिएका रविको गत २२ साउनमा डिस्चार्ज गरिएको थियो । अहिले पनि उनी फिजियो थेरापीमै छन् । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोरोना महामारीको समयमा समेत ट्रमाले जटिल सर्जरीलाई निरन्तरता दिएर सफलता हासिल गरेको बताए । लकडाउनको अवधीमा ट्रमाले २११ वटा ठूला सर्जरी र ४ वटा अत्यन्तै जटिल सर्जरी भएका छन् । निर्देशक डा. पौडेल ट्रमा सेन्टरमा जतिसुकै जटिल सर्जरी पनि सफलतापूर्वक गरिएको दाबी गर्छन ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *