देश विदेश

आफ्नै खर्चमा विदेशबाट घर फर्केका श्रमिकको पैसा फिर्ता हुन्छ : श्रममन्त्री

शेयर गर्नुहोस्

काठमाडौं। कोरोना महामारीका कारण संकटमा परेर स्वदेश फर्किएका नेपाली श्रमिकले नेपाल फर्किँदा भएको खर्च फिर्ता पाउने भएका छन्। सामाजिक सुरक्षा, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण रोजगारी गुमाई स्वेदश फर्किन बाध्य भएका श्रमिकले नेपाल आउँदा गरेको खर्चको सोधभर्ना गरिने बताएका छन्।

डिसी नेपालको मजदुर मञ्चसँग कुरा गर्दै मन्त्री यादवले त्यसरी फर्किएका नेपालीले भएको खर्चको विल वैदेशिक रोजगार विभागमा बुझाएमा सोधभर्ना गर्ने सरकारले निर्णय गरेको जानकारी दिए।

यसअघि सरकारले वैदेशिक रोजागरीका क्रममा समस्या परेकाहरुका लागि उद्धार उडान भने पनि उनीहरु आफैले सम्पूर्ण खर्च ब्यहोरेका थिए। तर, सर्वोच्च अदालतले विदेशमा संकटमा परेका नेपालीहरुको निःशुल्क उद्धार गर्न सरकारलाई आदेश दिएपछि सरकारले हालै निर्देशिका बनाएर कार्यान्वयनको तयारी गरेका छ। तर, हालसम्म निःशुल्क उद्धारबाट नेपाली ल्याइएको छैन। मन्त्री यादवले यही भदौ ८ गते विभिन्न मुलुकबाट ८६ जनाको निःशुल्क उद्धार गर्नका लागि ३० लाख रुपैयाँ पठाइएको जानकारी दिए।

मन्त्री यादवले हाल नेपाल फर्किन चाहेन नेपाली श्रमिकको संख्या १ लाख २५ हजार रहेको बताए। उनले खाडी र मलेसिया गरी आठ मुलुकमा मात्र ८३ हजार ४८७ जना नेपालीको तत्काल उद्धार गर्नुपर्ने जनाए। उनका अनुसार यूइउमा ३७ हजार बढी, कतारमा १३ हजार, ओमानमा १ हजार ८०२, मलेसिया ९ हजार ३२०, साउदीको रियादमा १६ हजार ७७७ र जेद्दामा २ हजार ६६०, बहराइनमा ६१३ र कुवेत ५ हजारभन्दा धेरै नेपालीहरु स्वदेश फर्किने तयारीमा रहेको बताए।

उनले यी सबै नेपालीलाई एक महिना भित्र स्वेदश ल्याउने गरी कार्ययोजना बनाइएको जानकारी दिए। उनले भने, ‘यी सबै नेपालीलाई ल्याउन ३ सय ३२ उडानको आवश्यकता पर्छ। सबै कुरा नियमित भए एकमहिना भित्र सबैलाई नेपाल ल्याउँछौं।’ उनले निःशुल्क उद्धार हुने नेपालीलाई विदेशबाट घरसम्म पुग्न लाग्ने सबै खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकमबाट व्यहोरिने बताए। उनले विदेशबाट कोरोनाको पीसीआर परीक्षण गरेर आउनेहरुलाई सिधै घरसम्म जान दिइने बताए।

मन्त्री यादवले उडान नभएका कारण सँयुक्त अरव इमिरेट्स (यूएई)मा ओभर स्टेको फाइन तिर्न नसकेर उतै अलपत्र परेकाहरुको विषयमा सरकारले आवश्यक निर्णय गर्ने बताए। उनले भने, ‘फाइन तिर्न नसकेर अलपत्र परेकाहरुलाई उतै बस्न दिने कुरा भएन। सरकारले आवश्यक निर्णय गर्छ। उनीहरुको उद्धार हुन्छ।’

मन्त्री यादवले भाडा महंगो भएको विषयमा बोल्दै टिकको ब्यापारमा सिण्डकेट भएको उल्लेख गर्दै सरकारले तोकेकोभन्दा धेरै भाडा लिन नपाइने गरी व्यवस्था गरिएको बताए। उनका अनुसार अब अन्तर्राष्ट्रिय उडानको कुनै दैनिक कोटा नतोकिएकाले आवश्यकता अनुसार उडानका लागि अनुमति दिइने बताए।

मन्त्री यादवले विदेशबाट सिप सिकेर फर्किएका नेपाली युवाहरुलाई स्वदेशमा रोजगारी सिर्जनाका लागि सरकारले अवसर जुटाउनेसमेत बताए। उनले श्रम सूचना बैंक बन्ने तयारीमा रहेको भन्दै सूचना बैंक बनेपछि युवाहरुलाई रोजगार दिन सहज हुने बताए। उनले श्रमिकहरुलाई लगानी गर्न श्रम बैंकसमेत स्थापना गरिने बताए।

 


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *