देश विदेश

नेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । भारतमा बसेर जासुसी गरेको आरोपमा तीन जना पक्राउ, एसिड आक्रमणकारीमाथी कडा सजाय सहितको नयाँ कानुनको गृहकार्य, स्वास्थ्यकर्मीमा कोरोनाको उच्च जोखिम लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

एक नेपाली सहित ३ जना पक्राउ
भारतमा बसेर जासुसी गरेको आरोपमा एक नेपालीसहित ३ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोपमा भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई पक्राउ गरेको दिल्ली स्पेसल सेलले जानकारी दिएको छ । दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेर त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले जानकारी दिनुभएको छ । चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६–२०१८ बीचमा दस्तावेज दिएको बताइएको छ । दिल्ली पुलिसले यस बिषयमा थप अनुसन्धान गरेर नाम सार्वजनिक गर्ने जानकारी दिएको छ ।

रोकिएला त एसिड आक्रमण ?
एसिड हिंसासम्बन्धी नयाँ कानुनले आगामी केही दिनमै पूर्णता पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा एसिड हिंसाको निरोध र कडा दण्ड प्रावधानसहितको व्यवस्थालाई नयाँ कानुनका रुपमा अन्तिम रुप दिन कानुन आयोग र महान्यायाधिवक्ताबीचको छलफलले तिब्रता पाएको छ । भदौ २५ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा एसिड पीडितहरुसँगको भेटमा १५ दिनभित्र कानूनी मस्यौदा तयार गर्ने प्रतिवद्धता जनाउँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सहितका सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको थियो । एसिड आक्रमणका पीडितहरूमाथि पर्ने मानसिक र शारीरिक असरको प्रभावलाई केन्द्रित गरी अपराधको विभिन्न पक्षलाईसमेत समेटेर कानुन बनाउनुपर्ने राय विज्ञहरुले दिएका छन् । महान्यायाधिवक्ता अग्नि खरेलले प्रस्तावित मस्यौदा उपर विज्ञ र पीडित समेतको राय लिएर छिट्टै अन्तिम रुप दिने बताउनुभएको छ । ९ वर्षअघि पहिलोपटक एसिड आक्रमण भएको नेपालमा गत ४ वर्ष यता यस्ता घटनाले निरन्तरता पाएका छन् । अभियन्ता उज्जवलविक्रम थापाको निरन्तरको प्रयास र सचेतना अभियानले पीडितहरुलाई संगठित गरेपछि सरकार कठोर कानुन बनाउने बाध्यतामा परेको छ । विद्यमान कानुनमा एसिड आक्रमणका दोषीलाई केवल ३ देखि ८ वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

स्वास्थ्यकर्मी कोभिड–१९ को उच्च जोखिममा
मुलुकभर कोभिड–१९ का संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकामा मात्र ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने स्थान, होम आइसोलेसन, क्वारेन्टिन र कन्ट्र्याट ट्रेसिङमा समेत अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी प्रभावित भएको पाइएको छ । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका २१ चिकित्सक अधिकांश नर्स सहित १५० जनामा कोरोना संक्रमण देखिएको छ । वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका ११५ जनामा कोरोना पहिचान भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण देखिएको छ । अहिले मुलुकभरि ६२ हजार ७९७ जनामा संक्रमण देखिएको छ भने ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । ४०१ जनाको कोरोनाबाट निधन भएको छ ।

फुटबल खेलाडीको तलब बढ्दै
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने भन्दै छलफल थालेको छ । खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने गरि छलफल सुरु भएको एन्फाले जानकारी दिएको हो । अहिले कर्मचारीको ग्रेड निर्धारण गरेर बेसिक तलब निर्धारण गर्ने काम भइरहेको छ । त्यसमा केही सुविधाहरु थपिनेछन् । खेलाडीको तलब व्यवस्थापनका लागि बजेट समायोजनको काम भइरहेको बताइएको छ । अहिले पुरुष राष्ट्रिय टीमका खेलाडीले मासिक १५ हजार पाउँछन् भने महिला टोलीका खेलाडीले ७ हजार पाउँने गरेका छन् । अब खेलाडीको तलब बढ्दा २० हजार वा २५ हजार पुग्नेछ ।

दूरसञ्चारबाट सामाजिक सञ्जालको निगरानी
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने गरि तयारी थालेको छ । टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो बढेको छ । यसअघि टिकटक भारतमा प्रतिबन्ध लगाउँदा नेपालमा चर्चा बटुल्नु र प्राटोकल परिवर्तन एकै पटक हुनुले क्यास सर्भरमा समेत असर परेको थियो । टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको छ । सर्भर कम हुँदा नेपालको इन्टरनेटमै समस्या परेको बारे व्यापक गुनासो बढेपछि आकमाईको सर्भर थप गरेर टिकटकले समस्या समाधान गरेको छ । तर पछिल्लो समय गुगलको क्यास सर्भरको खपत बढेको छ । सामाजिक सञ्जालको मनलाग्दी प्रयोग बारे अध्ययन गरिरहेको प्राधिकरणले दुई महिनाभित्र नियमनको प्रारुप तयार गर्नेगरि काम अघि बढाएको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *