खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लामा पहिलोपटक स्टिम जिरा चामल आपूर्ति गरेको छ। जिरा चामल लिमिटेडको हुम्ला शाखाको प्रयासमा जिल्ला पुगेको हो। पहिलोपटक कर्णालीका साविकका जिल्लामा भित्रिएको स्टिम जिरा चामल जिल्लामा पनि आइपुगेको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालयप्रमुख भरत अधिकारीले बताए।
राम्रो गुणात्मक चामल ल्याउन शाखाले निकै प्रयास गर्नुपरेको उनले बताए। उक्त चामल शहरी तथा सुगमका जिल्लामा मात्र यसअघि जाने भए पनि अहिले भने लिमिटेडका सबैभन्दा बढी खाद्यान्न आपूर्ति हुम्लामा भएको छ। लिमिटेडले जनतालाई प्रतिकेजी रु ८२ र कर्मचारीलाई प्रतिकेजी रु ८५ मूल्य निर्धारण गरेको छ।
हुम्लामा पहिलोपटक आइपुगेको चामल बिक्री पनि शुरु गरिएको लिमिटेडले जनाएको छ। हालसम्म यो चामल सुर्खेत नेपालगञ्जबाट ६३८ क्विन्टल आइपुगेको र अरू पनि आउने क्रम जारी रहेको अधिकारीले जानकारी दिए।
यसअघि हुम्लामा उसिना, अरुवा र जापानिज चामलमात्र आउने गरे पनि यो पटक अलि स्वादिष्ट हुने चामल पुगेको अधिकारीले बताए। रासस
प्रकाशित: २५ माघ २०७७ १९:३० आइतबार
श्रोत: नागरिक