कठै होममाया !

शेयर गर्नुहोस्

वरिपरि ढुङ्गा माटोका घर, केही पक्की पनि । तिनै घरको बीचमा छ एउटा कटेरो  । बाँसले बारिएको कटेरो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् । होममाया थापाले अहिलेको ठण्डी छेक्न टाँगेको थोत्रो बोराले कटेरो बारेकी हुन् । तर त्यसले पानी, स्याँठ, चिसो छेक्ने त परैको कुरा प्वाल पनि राम्रोसँग टालिएको छैन ।  

कैयौं रात ठण्डीले जागै बसेको अनुभव छ गोरखाको गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षिय होममाया थापासँग । होममाया जन्मजात शारीरिक रुपमा आपांग हुन् । उनको खुट्टा र हातमा समस्या छ । खुट्टा छोटो छ । हात राम्रोसँग चल्दैन । चारहात खुट्टा टेकेर घर भित्रबाहिर गर्छिन । ‘घर भित्रै खानेकुरा भयो भने जसो तसो घिस्रिएर पकाउँछु’ उनले भनिन् ‘अहिलेसम्म मागेर गुजारा गर्दै आएकी छु ।’ कसैको मनमा दयामाया पालायो भने उनको पेट भोक हुँदैन, नभए उनी पेट कसेर दिन कटाउँछिन् ।  

एक वर्षअघि सम्म उनको दैनिकी सजिलो थियो । उनी १६ वर्ष हुँदा बाबुको मृत्यु भयो । आमाको काखमा हुर्किँदै आएकी उनले गतवर्ष आमा पनि गुमाईन । ‘आमा नभएपछि म बेसहारा भएँ’ उनले भनिन् ‘अहिले एक्लै गुजारा चलाउन सकस भएको छ ।’  

अहिले बसिरहेको कटेरोको जग्गा पनि उनको होईन । अपांग भतिजीलाई काका हुकबहादुर थापाले कटेरो बनाउने ठाउँ दिए । त्यहाँ नै गाउँले मिलेर कटेरो बनाईदिए । उनी एक वर्षदेखि त्यहाँ गुजारा गर्दै आएकी छिन् । ‘अपांग छ, काम केही गर्न सक्दैन, दैलो उक्लिन पनि समस्या हुन्छ’ हुकबहादुरले भने ‘नजिकै बसेकी छ, बेलाबेला खान त दिनैप¥यो, माया लाग्छ, दिने गरेको छु ।’  

दाउरा खोज्न जान नसक्ने भएकाले उनको चुल्हो बल्न छाड्यो । ‘दाउरादेखि खानेकुरासम्म सँधै गाउँका मान्छे सँग मागेर कसरी गुजारा गनर्,ु’ उनले भनिन् ‘गाउँपालिकाबाट पाउने अपांगता भत्ताले ग्याँस किनेकी छु, अब खाने कुरा छैन ।’ सामाजिक सुरक्षा भत्ताको पैसाले घरमा चाहिने सामान जोहो गरेपनि उनको पेट भोको रहन्छ । धारामा पानी लिन जान पनि शकस हुने उनी सकि नसकी चार हात खुट्टाले आँगन सम्म हिँडडुल गर्छिन । ‘आफ्नो काम आफैँ गरिन भने म सँधै भोकै हुन्छु’ उनले दुखेसो गरिन ‘घस्रिएरै खाना, पानी आफै गर्छु ।’ सँधै वरपरका घरसँग मागेर खाएर कसरी गुजारा चलाउने भन्ने चिन्ताले होममायालाई पिरोलेको छ ।  

‘मलाई आफ्नो शरीर नै भारी भएको छ’ उनले भनिन् ‘नुवाई धुवाई गर्न सक्दिन, नियमित सरसफाईमा पनि समस्या छ ।’ बिरामी परेका बेला, बिसन्चो भएका बेला उनको पेट भोकै हुन्छ । सुतेर दिन बिताएको कैयौं अनुभव उनको छ । आमा बित्नु अघि मामाघर बस्दै आएकी उनी त्यहाँ राम्रो माया नपाएपछि काकाको छिमेकी हुन फर्किएकी हुन् । २०७२ सालको भूकम्पमा घरबार विहीन भएका करिब ७० हजार परिवारको नयाँ घर बनेको गोरखामा होममाया त्यो सुविधाबाट पनि छुटिन् । भन्छिन् ‘मागेर एक पेट भएपनि खाएको छु, तर बस्ने ठाउँ भएन, गर्मीमा खलखली पसिना, जाडोमा ठण्डीले मार्ने भो ।’ 

प्रकाशित: २५ माघ २०७७ १६:३१ आइतबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.