देश विदेश

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

शेयर गर्नुहोस्

माघ २६, काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ । 

ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । 

केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । यस वर्ष चैत÷वैशाखसम्ममा उपकरण ल्याउने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “कोभिडको कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौँ ।”

चालू आवभित्र खरीद गरेपछि आगामी आवमा त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर(म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ ।  

मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुनेगर्छन् । 

अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौँ उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उहाँले बताउनुभयो । 

उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम दुवैबाट चल्ने सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उहाँले भन्नुभयो, “हामीले विभागसँग सल्लाह गरेर खरीद प्रक्रिया अघि बढाएका छौँ ।”


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *