देश विदेश

‘भीआईपी’ काे स्वागतमा जाने जाे–काेहीलाई विराटनगर विमानस्थलभित्र पस्न कडाइ

शेयर गर्नुहोस्

माेरङ – विराटनगर विमानस्थलमा दलहरूले लैजाने कार्यकर्तालाई भित्र प्रवेशमा थप कडाइ गरिने भएको छ । दलहरूबीच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीलाई विमानस्थल भित्र पस्न कडाइ गर्न लागिएको हो ।

विराटनगरमा संवाद समूह मोरङले विराटनगर विमानस्थलको व्यवस्थापनका बारेमा गरेको कार्यक्रमका क्रममा मोरङका राजनीतिक दल तथा प्रशासनले भिड व्यवस्थापनका लागि कडाइ गर्ने सहमति गरेका हुन् । २०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ वैशाख १६ पछिको परिपत्रले विमानस्थलमा भीआईपीकाे स्वागतका लागि पाँच जनामात्र जान मिल्ने भनी उल्लेख भएकाले त्यसलाई पूर्ण कार्यान्वयन गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयाे । 

‘नेपाल सरकारले जारी गरेको राजपत्रमा प्रकाशित भएको भन्दा अहिले केही परिमार्जन भएर आएको छ, त्यसलाई कार्यान्वयनमा कडाइ गर्नेबारेमा दलहरूसँग सहमति गरेर अघि बढ्छाैँ’, उहाँले भन्नुभयाे ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कानुन भएर पनि कार्यान्वयनमा केही लचक भएको प्रशासनले भीआईपीको पहिचानमा नै समस्या भएपछि कडाइ गर्न लागिएको बताउनुभयाे । ‘स्वागतका लागि भीआईपीमा जानेभन्दा पनि भित्र सेल्फी खिच्न जाने गरेको पाइएको छ’, उहाँले भन्नुभयाे, ‘त्यसलाई व्यवस्थापन गर्नका लागि कुनै समस्या छैन, कडाइका साथ कार्यान्वयनमा लैजाने हो ।’ स्वागतका लागि धेरै जना भीआईपीको कक्षमा जाँदा उनीहरूलाई नै न्याय गर्न नसकेको जस्तो देखिएकाले त्यसका लागि दलहरूले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयाे ।

मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भीआईपी कक्ष नै साँघुरो रहेका कारण अत्यधिक भिड बढ्दा जुनसुकै बेला जस्तोसुकै घटना हुन सक्ने भएकाले त्यसलाई कडाइ गर्नुपर्ने बताउनुभयाे । ‘विराटनगर विमानस्थलको भीआईपीले १५ जनाभन्दा बढी धान्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयाे, ‘भीआईपीको स्वागतमा धेरै नेता तथा कार्यकर्ता जाँदा त्यहाँ निगरानीमा नै समस्या हुने भएकाले कडाइ गर्नुको विकल्प छैन ।’ एसपी खड्काले निगरानीमा विमानस्थल प्रशासन पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयाे । 

नेकपाका नेता ऋषिकेश पोखरेलले तोकिएको मापदण्ड भन्दा बाहिर कार्यकर्ता लग्नेबारेमा दलहरुले नै प्रतिबद्धता जनाए अनुसार कार्यान्वयनमा लैजानु पर्ने बताए । ‘विमानस्थलमा तोकिएको मापदण्डभित्र नै स्वागतको लागि लगिएको छ, उनले भने, ‘कहिलेकाँही बढी भएको हुन सक्छ, अब तोकिएभन्दा बढी नलग्न प्रतिबद्ध हुनैपर्छ ।’

नेकपाका नेता महेश रेग्मीले केन्द्रीय नेताहरूले नै भीआईपीमा स्वागतका लागि भिड खोज्ने गरेको बताउनुभयाे । ‘कतिपय नेताहरू आफै आउँदै छु भन्छन्, कतिपय कार्यकर्ताहरू नेताको आसपास पुग्दा सुविधा पाइन्छ भन्ने लोभमा देखिन्छन्, उहाँले भन्नुभयाे, ‘गेटमा नै रोक्ने हो भने सबै समस्या समाधान समाधान हुन्छ ।’ सबै दलमा कार्यकर्ता चिढ्याउनुहुन्न भन्ने खालका कुराले पनि भिड बढेको उहाँको ठहर छ । प्रशासनले गरेको कडाइलाई दलहरूले पनि सहयोग गरेर कार्यान्वयनमा जानुपर्ने रेग्मीको भनाइ छ ।

नेपाली कांग्रेसका नेता तथा जिल्ला सचिव मोदराज घिमिरेले कार्यकर्ता बढी भएका कारण कतिपय अवस्थामा प्रहरीसँग झगडा गर्नुपर्ने अवस्था आएकाे सुनाउनुभयाे । 

‘विमानस्थलमा धेरै नेता कार्यकर्ता जाँदा हामीलाई पनि अप्ठेरो भएको छ, घिमिरेले भन्नुभयाे, ‘अब सबै दलले कडाइका साथ कार्यान्वयनमा जाँदा नेपाली कांग्रेसले पनि कार्यकर्ता नल्याउन सहमत छौँ ।’ उहाँले यसअघि भएका निर्णयलाई केही महिना कडाइका साथ कार्यान्वयन गरिएको बताउँदै आउँदा दिनमा पनि त्यसलाई कार्यान्वयन गरेर पाँच जनामात्र लैजान आफूहरू तयार रहेको बताउनुभयाे । घिमिरेले कतिपय अवस्थामा कहिलेकाँही कार्यकर्ता धेरै जाँदा बाहिर नै बस्ने प्रतीक्षालयको व्यवस्थापन गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिनुभयाे । 

राजपा समाजवादीका अध्यक्ष राजकुमार यादवले भीआईपी व्यवस्थापन गर्न नसक्दा कतिपय अवस्थामा जिल्ला अध्यक्षहरूलाई निकै अप्ठेरो हुने गरेको सुनाउनुभयाे । ‘पाँच जनाभन्दा बढी लग्दै नलग्नका लागि सबैले प्रतिबद्धता जनाएका छौँ, यादवले भन्नुभयाे, सबै दलले कार्यान्वयन गर्ने हो भने समस्या हुँदैन, साना दललाई कडाइ गर्ने अनि ठूला दललाई कडाइ नगर्ने हो भने समस्या हुन्छ, सबैले पालना गर्नुपर्‍याे ।’

राप्रपाका नेता दिनेश साह तथा टङ्क गुरागाईँले भीआईपीको सुरक्षाको दृष्टिले निकै समस्या रहेको औँल्याउनुभयाे । ‘भीआईपीको सुरक्षासँगै भित्र हुने भिड व्यवस्थापनका लागि हामी सबै लाग्छौँ’, उहाँले भन्नुभयाे, सबै मिलेर कार्यान्वयनमा जाने हो भने अहिलेको जस्तो समस्या आउँदैन ।’  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *