हाम्राे लडाइँ व्यक्तिभन्दा पनि प्रवृत्तिविरुद्धकाे हाे : माधव नेपाल

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनकाे प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरूले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उहाँको नेकपासँग कुनै सम्बन्ध नभएको नेता नेपालले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौँ । पार्टीको साधारण सदस्यबाट पनि बर्खास्त गरिसकेका छौँ । उनको अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग कुनै सम्बन्ध रहेको छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरू उतै जान्छन् । जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौँ त्यहाँ सूर्य चिह्न आउँछ । अरू कसैले खोस्न सक्तैन ।’ 

उहाँले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उहाँले आफूहरूको सङ्घर्ष व्यक्तिभन्दा पनि सामन्तवादी प्रवृत्तिविरुद्धको भएको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको सङ्घर्षलाई ओली र आफूहरूबीचको निजी लडाइँका रूपमा नलिइ ओली प्रवृत्तिविरुद्धको लडाइँका रूपमा बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्धको लडाइँ हो । केपीको नयाँ–नयाँ अवतार चाहिएको छैन । केपीको नयाँ–नयाँ अवतार आयो भने के होला यो देशमा ? थिलो–थिलो भएर सकिन्छ । अहिले हामी लागेका छौँ केपी ओलीको प्रतिगमनविरुद्धको सङ्घर्षमा । संविधान मिच्ने उनका कदमका विरुद्धमा र संविधान मासेर उनले संवैधानिक शासनलाई जसरी चुनौती दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धि तहसनहस हुने खतरा बढेको छ । त्यसैले ती उपलब्धि जोगाउने कुराको पक्षमा जुधिरहेका छौँ । केपी ओली र आफूहरूबीचको निजी लडाइँ नभइ यो पार्टीभित्रको लडाइँ मात्रै पनि होइन, नेकपाको अन्तरद्वन्द्व मात्रै पनि होइन । संविधानलाई सम्मान गर्ने र क्षत्विच्छेद पार्नेबीचको लडाइँ हो ।’ 

लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउनेबीचको सङ्घर्ष भएकाले जसरी पनि आफूहरूले जित्नै पर्ने भन्दै उहाँले लोकतन्त्र र संविधान रक्षाका पक्षमा एकजुट हुन आह्वान गर्नुभयो । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरी प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *