११ प्रतिशतले बढ्यो रेमिटेन्स

शेयर गर्नुहोस्

कोरोना महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बेला रेमिटेन्स आप्रवाह भने निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा रेमिटेन्स अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ११.१ प्रतिशतले वृद्धि भएको छ।  

यसरी रेमिटेन्स आप्रवाहमा वृद्धि भएपछि पुस मसान्तसम्म चार खर्ब ९५ अर्ब ३१ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स जम्मा ०.६ प्रतिशतले बढेको थियो। करिब एक वर्षदेखि कामदार वैदेशिक रोजगारीमा जान नपाए पनि रेमिटेन्समा गिरावट नआउनुमा पछिल्लो समयमा हुन्डीको कारोबार हुन नपाएको सम्बद्ध अधिकारीहरू बताउँछन्।

चालु आर्थिक वर्षको ६ महिनामा रेमिटेन्स आप्रवाह अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिनेको संख्या ७७.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो। त्यस्तै, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो।  

त्यस्तै, समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि भई १४ खर्ब ९३ अर्ब ७५ करोड रूपैयाँ पुगेको छ। गएको असार मसान्तसम्म कुल विदेशी विनियम सञ्चिति १४ खर्ब एक अर्ब रूपैयाँ थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।  

समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोड रूपैयाँले घाटामा रहेको छ अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रूपौयँ घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा छ।  

महँगी वृद्धिदर घट्यो

अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा पुस मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता महँगी वृद्धिदर (मुद्रास्फीति) ३.५६ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी वृद्धिदर ६.८२ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको ४.२७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत छ।

२०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यु तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि क्रमशः १७.०१, १६.५८ ११.४८ र १९.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा सबभन्दा धेरै महँगी पहाडमा बढेको छ। काठमाडौं उपत्यकामा ३.५५ प्रतिशतले महँगी बढ्दा तराईमा २.८७, पहाडमा ४.७२ र हिमालमा ३.३८ प्रतिशतले बढेको छ।  

६१ अर्बको निर्यात

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६।१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलसकतर्फ क्रमशः ८.४ र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पस्मिना, चाउचाउ लगायत वस्तुको निर्यात बढेको छ। पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो।

प्रकाशित: २७ माघ २०७७ ११:१६ मंगलबार


श्रोत: नागरिक

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *