देश विदेश

बदलिँदै दीपायल

शेयर गर्नुहोस्

थोत्रा टिनले बेरिएका स–साना झुप्रा। त्यही झुप्राबाट वर्षौंदेखि चल्दै आएको दीपायल (पिपल्ला) बजारले गति लिँदै बदलिन थालेको छ। पछिल्ला दिनहरुमा पर्यापर्यटन र बजारीकरण विस्तारले दीपायलका टिनका टहरा बदलिएर गगनचुम्बी महलमा परिणत हुन थालेका हुन्।

दीपायलमा विकासले ढिलोगरी गति लिएको बताउँदै पुस्तक तथा स्टेशनरी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा स्थानीय व्यापारी खडकविक्रम शाहीले भने,‘पुरानो दीपायल र अहिलेको दीपायलमा आकाश पातालको फरक भइसकेको छ।’ पछिल्लो एक दशक दीपायलमा विकास निर्माणले केही गति लिँदै गर्दा प्रदेश सरकारले तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दीपायलको केन्द्रलाई  २०७५ असोज १२ गतेका दिन राजधानी गोदावरी नगरपालिकाको तेघरी जंगलमा राख्ने निर्णय गरेपछि विकास निर्माण कार्य मुर्झाएको थियो। ‘विकासले फड्को मार्दै गर्दा प्रदेश सरकारले राजधानी तेघरी तोकिँदा, वर्षौदेखिको केन्द्र खोसिएको आभाष भएको थियो,’ उनले भने,‘त्यही निरासाले केही समय दीपायलको विकास रोकिएको थियो।’  

वर्षौदेखिको केन्द्र खोसिएसँगै दीपायलको व्यापार व्यवसायमा केही वर्ष गिरावट आएको बताउँदै पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने,‘केन्द्र खोसिएको दुई वर्ष त दीपायलको व्यवसाय कम हुँदै गएको थियो।’ पछिल्लो समयमा वित्तीय संघसंस्था, बैकहरुले आफ्ना शाखा स्थापना गरेपछि लगानी बढाउन थालेसँगै पुनः व्यवसायले गति लिन थालेको उनी बताउँछन्। ‘वित्तीय संघसंस्थाले लगानी लगाउन थालेपछि निरास बनेका व्यवसायीमा केही उत्साह थपियो,’ उनले भने,‘थपिएको उत्साहसँगै टिनले बेरिएका टहरा भत्किए र ठडिए गगनचुम्बी महलहरु।’ दशकअघि र दशकपछिको दीपायल बजारमा आकाश–पातालकै फरक रहेको वर्षा होटेलका सञ्चालक गणेश बोहरा बताउँछन्। उनले भने,‘पछिल्लो समयमा पर्यापर्यटनका क्षेत्रमा काम गर्ने व्यवसायी बढ्नु, खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनु र वित्तीय संघसंस्था धमाधम भित्रदा दीपायलको मुहार फेरिएको हो।’ काम चलाउ हिसावले टिनका झुप्राबाटै व्यापार व्यवसाय सञ्चालन गर्दै आएकाहरुले प्रतिस्पर्धात्मक व्यापारमा उत्रन थालेपछि लगानी बढेको उनको तर्क छ। ‘पहिले जस्तो पसल थाप्दा पनि चल्छ भन्ने धारण थियो,’ उनले भने,‘तर, प्रतिस्पर्धात्मक बजार र ग्राहकले नयाँ ‘डेकोरेसन’चाहँदा पुराना टिनका टहरा हटाएर आधुनिक भवनमा व्यवसायी सर्न थालेका हुन्।’ बजार र ग्राहकको आवश्यकता अनुसार नै पछिल्ला समयमा टहराबाट सञ्चालित होटेलहरुले सुविधा थप्नकै लागि पनि पक्की भवन बनाउनु पर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘ग्राहकले आधुनिक भवनमा सुविधा सम्पन्न आवास चाहन थाले,’ उनले भने,‘त्यो सुविधा दिनका लागि पनि टिनको टहराले भएन र त भवन निर्माण हुन थाले।’ यसका साथै साप्ताहिक रुपमा धनगढी–दीपायल जहाँज अवतरण हुनुले पनि दीपायलको व्यापारमा आशा जगाएको बताउँदै उनले भने,‘नियमित जहाँज उडान हुनुले पनि यहाँको व्यवसायमा आशा थपिएसँगै लगानी बढ्न थालेको हो।’ लगानी बढ्दा दीपायलको मुहार परिवर्तन हुन थालेको महसुस भएको छ।  

पछिल्लो समयमा स्थानीय तहले दीपायल बजारबाहेक वरपरको गाउँ तथा टोलमा कालोपत्रे सडक निर्माण गर्नु, दीपायल बजारलाई व्यवस्थित गर्न खानेपानीलगायतका सुविधालाई जोड दिनाले पुरानो दीपायल परिवर्तित हुँदै नयाँ संरचना धमाधम निर्माण हुन थालेका हुन्। दसक अघिको दीपायल बजारको तुलनामा पछिल्लो समयमा स्थानीय तहले पनि विकास निर्माणका कार्यमा लगानी बढाएको बताउँदै दीपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले भनिन्,‘हामीले दीपायल बजारलाई व्यवस्थित र नमुना सहर बनाउनका लागि योजना बनाएका छौँ।’  

 

 

प्रकाशित: २७ माघ २०७७ १६:४२ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *