देश विदेश

सञ्चालनमा आयो तातोपानी नाका

शेयर गर्नुहोस्

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोवार १९ दिनपछि पुनः सञ्चालनमा आएको छ । चीनले नेपाल जोड्ने मितेरी पुलको मर्मत सकेसँगै मंगलबारदेखि कारोबार सञ्चालनमा आएको हो ।

चीनले पुल मर्मतको कारण देखाउँदै गत माघ ८ गतेबाट कारोवार रोकेको थियो । उसले बढीमा २० दिन लाग्ने भन्दै पुल मर्मत थालेको थियो । ‘चीनले भने जस्तै २० औँ दिनमै कारोवार सञ्चालनमा आयो,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले नागरिकसँग भने । कारोवार सञ्चालनमा आएको पहिलो दिनमै स्याउ, ऊन लगायत ६ नेपाली कन्टेनर सामाग्री बन्दरगाह आइपुगेको उनले जानकारी दिए ।  

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति बनाएको मितेरी पुल चीनले मर्मत गरेको हो । बाढीले पुलका दुई स्पान (पिलर) का जग केही खोतलेको थियो । त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको गरेको थियो । पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत गरेको हो । २०७२ वैशाख १२ को बिनासकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो । २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो ।

वार्षिक २०–२५ अर्वको आयात÷निर्यातबाट पाँच अर्व रुपैयाँ राजस्व संकलन गर्दै आएको यो नाका भूकम्पपछि लगातारजसो बन्द रहँदै आएको छ । भूकम्पपछिको चार वर्ष नाका पूर्ण रुपमा बन्द भयो । २०७६ जेठ १५ बाट नाका पुनः सञ्चालनमा ल्याइएको थियो । कोरोना महामारी, बर्खाको बाढीपहिरो लगायत कारण यो बीचमा नौ पटक नाका बन्द हुने र खुल्ने क्रम चलिरह्यो ।  

पछिल्लो १९ दिन नाका बन्द हुँदा कम्तिमा १५ करोड रुपैयाँ राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । कारोबार सञ्चालनमा आएसँगै चीनले दैनिक ४० नेपाली कन्टेनर सामाग्री नेपाल पठाउने प्रतिवद्धता जनाएको भन्सार प्रमुख खत्रीले जनाए । ‘चीनको प्रतिवद्धता हेर्दा अब कारोवारमा उल्लेख्य सुधार आउने देखिन्छ,’ उनले भने ।  

उनका अनुसार कारोवारमा सुधार आउन नेपाली व्यापारीले पर्याप्त सामाग्री अर्डर भने गर्नु पर्ने हुन्छ । कारोवार सञ्चालनमा आएसँगै नयाँ सामाग्री अर्डर गर्न व्यवसायीलाई बाटो खुलेको छ । कोरोना संक्रमण, बर्खाको बाढी पहिरो लगायत कारण पछिल्लो समय व्यापारीका अलपत्र सामाग्री मात्र आयात थालिएको थियो । कोरोना संक्रमणले गत वर्षको माघदेखि चीनका विभिन्न स्थानमा रोकिएका नेपाली व्यवसायीका झण्डै हजार कन्टेनर सामाग्री पछिल्ला तीन महिनामा नेपाल भित्रिसकेको खत्रीले जनाए ।  

कोरोना संक्रमणबाट बच्न ‘कन्टेनर हुक एण्ड ड्रप मोडेल’ लागू भएपछि नाका कारोबार क्रमशः सुधारतर्फ रहेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ । संक्रमण रोक्दै आयात बढाउन गएको मंसिर १० गतेबाट नाकामा यो मोडेल लागू गरिएको थियो । गत असोजमा दुई कन्टेनर सामाग्री आयातबाट नाका पुनः सञ्चालनमा आएको थियो । पुल मर्मतले कारोवार रोकिनुअघि कन्टेनर मोडेल लागू भएपछि दैनिक ३० कन्टेनरसम्म सामाग्री आयात भएको भन्सार तथ्यांक छ ।  

प्रकाशित: २७ माघ २०७७ १८:१३ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *