देश विदेश

बदलिँदै दिपायल

शेयर गर्नुहोस्

थोत्रा टिनले बेरिएका स–साना झुप्रा। त्यही झुप्राबाट बर्सौंदेखि चल्दै आएको दिपायल (पिपल्ला) बजारले गति लिँदै बदलिन थालेको छ। पछिल्ला दिनमा पर्यापर्यटन र बजारीकरण विस्तारले दिपायलका टिनका टहरा बदलिएर गगनचुम्बी महलमा परिणत हुन थालेका हुन्।

दिपायलमा विकासले ढिलो गरी गति लिएको बताउँदै पुस्तक तथा स्टेसनरी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा स्थानीय व्यापारी खडकविक्रम शाहीले भने, ‘पुरानो दिपायल र अहिलेको दिपायलमा आकाश पातालको फरक भइसकेको छ।’ पछिल्लो एक दशक दिपायलमा विकास निर्माणले केही गति लिँदै गर्दा प्रदेश सरकारले तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायलको केन्द्रलाई २०७५ असोज १२ गतेका दिन राजधानी गोदावरी नगरपालिकाको तेघरी जंगलमा राख्ने निर्णय गरेपछि विकास निर्माण कार्य मुर्झाएको थियो। ‘विकासले फड्को मार्दै गर्दा प्रदेश सरकारले राजधानी तेघरी तोकिँदा, बर्सौंदेखिको केन्द्र खोसिएको महसुस भएको थियो,’ उनले भने, ‘त्यही निराशाले केही समय दिपायलको विकास रोकिएको थियो।’  

बर्सौंदेखिको केन्द्र खोसिएसँगै दिपायलको व्यापार व्यवसायमा केही वर्ष गिरावट आएको बताउँदै पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने, ‘केन्द्र खोसिएको दुई वर्ष त दिपायलको व्यवसाय मन्दी हुँदै गएको थियो।’ पछिल्लो समयमा वित्तीय संघसंस्था तथा बैंकहरूले आफ्ना शाखा स्थापना गर्दै लगानी बढाउन थालेसँगै पुनः व्यवसायले गति लिन थालेको उनी बताउँछन्। ‘वित्तीय संघसंस्थाले लगानी बढाउन थालेपछि निरास बनेका व्यवसायीमा केही उत्साह थपियो,’ उनले भने, ‘थपिएको उत्साहसँगै टिनले बेरिएका टहरा भत्किए र ठडिए गगनचुम्बी महलहरू।’ 

दशकअघि र दशकपछिको दिपायल बजारमा अकास–पातालकै फरक रहेको वर्षा होटेलका सञ्चालक गणेश बोहरा बताउँछन्। उनले भने, ‘पछिल्लो समय पर्यापर्यटनका क्षेत्रमा काम गर्ने व्यवसायी बढ्नु, खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनु र वित्तीय संघसंस्था धमाधम भित्रँदा दिपायलको मुहार फेरिएको हो।’ काम चलाउ हिसाबले टिनका झुप्राबाटै व्यापार व्यवसाय सञ्चालन गर्दै आएकाहरूले प्रतिस्पर्धात्मक व्यापारमा उत्रन थालेपछि लगानी बढेको उनको तर्क छ। ‘पहिले जस्तो पसल थाप्दा पनि चल्छ भन्ने धारणा थियो,’ उनले भने, ‘तर प्रतिस्पर्धात्मक बजार र ग्राहकले नयाँ ‘डेकोरेसन’ चाहँदा पुराना टिनका टहरा हटाएर आधुनिक भवनमा व्यवसायी सर्न थालेका हुन्।’ 

बजार र ग्राहकको आवश्यकता अनुसार नै पछिल्लो समयमा टहराबाट सञ्चालित होटेलहरूले सुविधा थप्नकै लागि पनि पक्की भवन बनाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘ग्राहकले आधुनिक भवनमा सुविधा सम्पन्न आवास चाहन थाले,’ उनले भने, ‘त्यो सुविधा दिनका लागि पनि टिनका टहराले भएन र त भवन निर्माण हुन थाले।’ यसका साथै साप्ताहिक रूपमा धनगढी–दिपायल हवाइजहाज सञ्चालन हुनुले पनि दिपायलको व्यापारमा आशा जगाएको बताउँदै उनले भने, ‘नियमित जहाज उडान हुनुले पनि यहाँको व्यवसायमा आशा थपिएर लगानी बढ्न थालेको हो।’ लगानी बढ्दा दिपायलको मुहार परिवर्तन हुन थालेको महसुस भएको छ।  

पछिल्लो समय स्थानीय तहले दिपायल बजारबाहेक वरपरका गाउँ तथा टोलमा सडक कालोपत्रे गर्नु, दिपायल बजारलाई व्यवस्थित गर्न खानेपानीलगायत सुविधालाई जोड दिनाले पुरानो दिपायल परिवर्तित हुँदै नयाँ संरचना धमाधम निर्माण हुन थालेका हुन्। दशकअघिको दिपायल बजारको तुलनामा पछिल्लो समयमा स्थानीय तहले पनि विकास निर्माणका कार्यमा लगानी बढाएको बताउँदै दिपायल सिलगढी नगरपालिकाकी मेयर मन्जु मलासीले भनिन्, ‘हामीले दिपायल बजारलाई व्यवस्थित र नमुना सहर बनाउनका लागि योजना बनाएका छौं।’

प्रकाशित: २८ माघ २०७७ १०:४१ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *