देश विदेश

वर्षदिनमै चर्कियो भवन

शेयर गर्नुहोस्

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुईकोठे भवन बनेको वर्षदिनमै चर्किएको छ। उक्त भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भएर एक महिनामै बनाइएको थियो। जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण भएको भवन वर्ष दिनमै चर्किएको हो।

अहिले भवनको झ्यालको साइडबाट चर्किएको छ। गुणस्तरहीन सामग्री र मापदण्डअनुसार भवन निर्माण नहुँदा चर्किएको स्थानीय शेरबहादुर पौडेलले जनाए।

‘आवको अन्तिममा रकम आउँदा राम्रोसँग काम नहुन पाएन,’ उनले भने, ‘जसको फलस्वरूप वर्ष दिनमै भवन चर्कियो।’ असारे विकासले गर्दा भवन वर्ष दिनमै जीर्ण बनेको उनको भनाइ छ। ‘भवन निर्माण गुणस्तरीय नहुँदा चर्किएको हो,’ उनी भन्छन्। विद्यालयका प्रधानाध्यापक छविलाल गौतमले हिउँदमा आएको भुमरीले विद्यालय भवन चर्किएको बताए। ‘ठूलो हावाहुरीसहित आएको भुमरीले क्षति पु¥यायो,’ उनले भने, ‘झन्डै भवन भत्काएन, चर्कियो मात्र।’ झ्यालढोका लगाएकाले विद्यालय भवन नभत्किएको भन्दै उनले भने, ‘झ्यालढोका खुला भएको भए भवनै भत्काइदिन्थ्यो।’

भवन चर्किए पनि जोखिम नभएकाले प्रयोग भइरहेको छ। भवन चर्किएको मात्र छैन, भवनको छानो तलमाथिसमेत भएको छ। जग (घर बनाउँदा जमिनमुनिको गारो लगाउने ठाउँ) राम्रोसँग बनाउँदा र ढुंगा नबिछ्याउँदा भवन चर्किएको हुनसक्ने स्थानीले बताए। प्राविधिक मापदण्डअनुसार सामान्यतया जग खन्ने, जग निर्माण भइसकेपछि ढुंगा बिछ्याउने, त्यसको माथि पिसिसी (बालुवा, सिमेन्ट, गिट्टीसहितको मसला हाल्ने) गर्ने गरिन्छ। त्यसपछि पर्खाल निर्माण गर्ने र झ्यालको भागमा आरसिसी गर्नुपर्छ। जसले भवन चर्काउन र ढल्नबाट जोगाउँछ। तर त्यसरी भवन निर्माण नहुँदा भवन निर्माण भएको छोटो समयमै चर्किएको कतिपयको भनाइ छ।  

जिल्ला समन्वय समितिको २५ लाख रूपैयाँ अनुदानमा बराहताल गाउँपालिकाले उक्त भवन निर्माण गरेको थियो। भवन निर्माणको सम्झौता २०७६ वैशाख २६ गते भएको थियो। उक्त भवन सोही वर्षको जेठ २८ गते अर्थात् एक महिनामै भवन निर्माण सम्पन्न भएको थियो। असार मसान्तभित्र भवन निर्माण सकिनुपर्ने समयसीमा थियो। असारे विकासले गर्दा पनि भवन गुणस्तरहीन निर्माण भएको स्थानीयको भनाइ छ। 

असारमा गुणस्तरीय कामभन्दा पनि बजेट सिध्याउने परम्पराको यो एउटा गतिलो उदाहरण भएको उनीहरू बताउँछन्। यस भवनमा स्थानीयले पाँच लाख ३४ हजार पाँच सय ३२ रूपैयाँ जनश्रमदान गरेको भवन निर्माण सम्पन्न प्रतिवेदनमा उल्लेख छ। समयमै रकम आएर योजना बनेको भए संरचना गुणस्तरीय बन्ने स्थानीय बताउँछन्।

प्रकाशित: २८ माघ २०७७ ११:०२ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *