देश विदेश

अवैध ओसारपसार

शेयर गर्नुहोस्

नेपाल–भारत सीमा नाकाबाट स्रोत नखुलेको अवैध रकमको शंकास्पद ओसारपसार भइरहेको छ । यस्तो रकमको ओसारपसार के प्रयोजनका लागि भइरहेको हो भन्ने प्रष्ट छैन । तर पछिल्ला दिनमा प्रहरीले अवैध रकम ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिरहेको छ । प्रहरीले यसमा अनुसन्धान पनि अघि बढाएको छ । तर, यस किसिमको रकम लागुऔषध कारोबार, हातहतियार खरिद वा आपराधिक कार्यमा प्रयोग गर्ने उद्देश्यले नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि स्रोत नखुलेको रकम बरामद गरिएको भए पनि कारोबारी उम्कन सफल हुँदै आएकामा अहिले रंगेहात पक्राउ पर्न थालेका छन् । यसले पनि प्रहरीलाई अनुसन्धान गर्न र कारोबारीको पहिचान गर्न सहज हुने देखिएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेकालाई थप कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने गरिएको छ । जे होस्, पछिल्लो समय प्रदेश २ का सीमावर्ती नाकामा यस किसिमको अवैध ओसारपसारसँगै प्रहरीले सक्रियतासमेत बढाएको छ । यो अवस्थामा प्रहरीले अनुसन्धान गरी अवैधरूपमा रकम ओसारपसार गर्ने गिरोहको जालो पत्ता लगाउन र  यस्ता गतिविधि नियन्त्रण आवश्यक छ ।  

नेपालमा प्रतिनिधिसभा विघटन भएसँगै यस किसिमको अवैध ओसारपसारका घटना हुन थाल्नु अनौठो संयोग हो । बलियो र प्रभावकारी सरकार हुँदा अवैध काम गर्नेदेखि अपराधका घटनामा पनि कमी आउँछ । जब मुलुकमा सरकार कमजोर हुन्छ, त्यस्तो बेला अवैध कारोवारीदेखि अपराधमा संलग्नहरूले टाउको उठाउने गर्छन् । त्यसैले नेपालमा प्रतिनिधिसभा विघटन भएसँगै सरकार कामचलाउ भएको छ । प्रशासनिक हिसाबले मुलुकमा अहिले संक्रमणकालीन अवस्था छ । त्यसैले यस्तो बेला अवैध कारोबारमा संलग्नहरूले आफ्ना गतिविधि बढाएका हुन सक्छन् । त्यसैले सरकारले यो अवस्थामा सीमावर्ती नाकाहरूमा भइरहेको अवैध कारोबारदेखि संभावित अन्य अपराध नियन्त्रणका लागि सक्रियता देखाउन जरुरी छ । मुख्य कुरा, सरकार आन्तरिक राजनीतिक समस्यामा मात्रै अल्झिने होइन, सीमावर्ती क्षेत्रमा भइरहेका अवैध गतिविधिहरू नियन्त्रणमा पनि उत्तिकै चनाखो हुन जरुरी छ ।

अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमका क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ ।

प्रहरीले अवैधरूपमा ओसारपसार भइरहेको रकम बरामद गरेको छ भने रकमसहित कतिपय व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यस किसिमको अवैध धन्दाको जालो भने पत्ता लगाइसकेको छैन । पक्राउ परेकाले रकमको स्रोत खुलाउन सकेका छैनन् । यही सोमबार गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवार महम्मद दिलसाद आलमलाई २१ लाख ९० हजार रुपियाँसहित रौतहट प्रहरीले पक्राउ गर्‍यो । रौतहटको परोहा नगरपालिका–१ का आलमले सोधपुछका क्रममा रकमको स्रोतबारे बताउन नसकेपछि उनलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको छ । चेकजाँचका क्रममा आलमबाट ३१ लाख १६ हजार रुपियाँका पाँचवटा चेक पनि बरामद भएका छन् । बारा प्रहरीले पनि स्रोत नखुलेको ४९ लाख नेपाली रुपियाँसहित दुई भारतीयलाई पक्राउ गर्दै आइतबार सार्वजनिक गरेको छ । भारत बिहार मोतिहारी जिल्ला हरपुर–१० घोडासहनका अरबिन्द महतो र अर्का एक नाबालकलाई पक्राउ गरिएको हो । सीमावर्ती जोतपुर अस्थायी प्रहरी पोस्ट हुँदै नेपालतर्फ आउँदै गरेको बिआर ०५–६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उनीहरूलाई अवैध रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयले दिएको शंकास्पद बयानकै आधारमा नेपाल बसेर भारतबाट नेपाली रुपियाँ भित्र्याउने व्यक्तिहरूको समेत खोजतलास सुरु गरिएको प्रहरीको भनाइ छ ।  

अवैध रकम ओसारपसारको शृंखला यतिमै सीमित छैन । पुस दोस्रो साता रौतहटको मौलापुरबाट खटिएको प्रहरी टोलीले सीमापारिबाट आउने सवारीसाधन जाँच गर्दा सिम्रौनगढ नगरपालिका–१ का धीरेन्द्र साहको साथबाट स्रोत नखुलेको आठ लाख रुपियाँ बरामद गरेको थियो । पुस ११ गते रौतहट सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको १२ लाख नेपाली रुपियाँसहित भारतको पूर्वी चम्पारण थाना ढाका, ग्राम पञ्चायत फुलबरिया–१० का ललनकुमार र रोहितकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सिरहा प्रहरीले पुस दोस्रो साता स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपियाँसहित सिरहा नगरपालिका–२२ हकपाडाका ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको थियो । पुस तेस्रो साता सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट प्रहरीले स्रोत नखुलेको ९ लाख रुपियाँसहित बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई प्रहरीले पक्राउ गरेको थियो । यसरी अहिले प्रदेश २ का सीमावर्ती नाकामा अवैध रकम ओसारपसारका घटनामा उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।  

सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रकमसहित पक्राउ परेकामा भरिया मात्र भएको प्रहरीको प्राम्भिक अनुसन्धानको निष्कर्ष छ । मुख्य कारोबारीसम्म प्रहरी अझै पुग्न सकेको देखिँदैन । पछिल्लो समय हुन्डी कारोबारीमाथि निगरानी र कारबाही कडा पारेपछि भरियामार्फत स्रोत नखुलेको रकम ओसारपसार सुरु भएको पनि प्रहरीको भनाइ छ । यो अवस्थामा अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ, त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमको क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ । यसतर्फ प्रहरीको गम्भीर ध्यान आकृष्ट हुन आवश्यक छ ।

प्रकाशित: २८ माघ २०७७ १२:१३ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *