देश विदेश

‘निरङ्कुशताको साक्षी बस्ने राष्ट्रपतिविरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको बताएकी छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा कोठाको ‘एसिस्टेन्ट’ जस्तो बनेपछि आफू बोल्न बाध्य भएको बताइन्।  

‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको ‘एसिस्टेन्ट’ जस्तै राष्ट्रपतिलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सही छाप गर्ने संस्था बनाइएको छ। राष्ट्रपति पद होइन संस्था हो,’ उनले भनिन्,‘त्यो सम्माननीय राष्ट्रपति संस्था हाम्रो बलिदानीले पाएको संस्था हो। हाम्रो शीर माथिको संस्था हो। मैले त्यो संस्थाकाविरुद्ध बोल्ने दुस्साहस गरेको छैन।’

तर, निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिजस्तो पदमा पुगरे निरङ्कुशताको साक्षी बस्न थालेपछि आफूले त्यसविरुद्ध बोलेको नेतृ झाँक्रीको दाबी छ। ‘राष्ट्रपतिजस्तो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरङ्कुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्धमा बोल्न पाइन्छ। कसले भन्छ बोल्न पाइँदैन भनेर। एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर,’ उनले प्रश्न गरिन्।

उनले प्रधानमन्त्री ओलीलाई ‘कागजी बादशाह’को संज्ञा दिइन्। ‘खड्ग प्रसाद ओली कागजी बादशाह हुन्,’ उनले भनिन्,‘ती ढलिसके अब अन्तिम घोषणा गर्न बाँकी छ।’  

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको हो। सभामा नेकपामा शीर्ष नेताहरुको सहभागिता छ।

प्रकाशित: २८ माघ २०७७ १४:५६ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *