देश विदेश

पत्रकार डेकेन्द्र हत्या प्रकरणः ३ जना हत्या आरोपित पक्रन उदासिनता

शेयर गर्नुहोस्

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा जिल्ला अदालत दैलेखबाट मुलुकी ऐन अ.ब. १९० नम्वर बमोजिम मुल्तबीमा राखिएका तीन जना हत्या मुख्य आरोपितहरु पक्रन दैलेख प्रहरीले उदासिनता देखाएको छ। अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरि मुल्तबीमा राखीएको हो।  

प्रहरीलाई फरार रहेका मुख्य आरोपित ३ जनाको बारेमा सूचना आएपनि पक्राउ गर्न चासो नदिएको आरोप पीडितका आफन्तले गरेका छन्। फरार रहेका मुख्य आरोपितमा बमबहादुर खड्का (मुक्ति), केशव खड्का र भक्तिराम लामिछाने रहेका छन्। उनीहरु जिल्लामै रहेको सूचना प्रहरीलाई पीडित परिवारले दिएपनि पक्राउ हुन नसकेको स्वर्गीय पत्रकार थापाका भाई यज्ञराज थापाले बताए। पटक पटक मुख्य हत्या आरोपितका बारेमा खवर दिँदा समेत प्रहरी सुनेको नसुने झै गर्ने गरेको गुनासो थापाले गरे। ०६९ पौष २० गते ५ जना आरोपीलाई पहिलो पटक दैलेख प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो। 

त्यसयता जिल्ला अदालत दैलेखले पक्राउ परेका प्रतिवादीहरु बीरबहादुर केसी र लक्षीराम घर्तीको कैद भुक्तान भैसकेकाले कैद मुक्त गर्न र निरक घर्तीमगर १ महिना, हरिलाल पुन, जयबहादुर शाहीलाई बाँकी कैद भुक्तानका लागि ४ महिना २९ दिन कैद असूल गराउन तत्कालिन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फैसला सुनाएका थिए। फरार ४ जना बमबहादुर खड्का मुक्ति, बमबहादुर खड्का अरुण, केशव खड्का र भक्तिराम लामिछानेका हकमा मुलुकी ऐन अ.ब. १९० नम्बर बमोजिम मुल्तबीमा राखिएको थियो। गत वर्ष फरार रहेको मुख्य आरोपित अरुण भनिने बमबहादुर खड्कालाई कैलालीबाट प्रहरीले पक्राउ गरि पुर्पक्षका लागि दैलेख कारागार चलान गरेको छ।  

तत्कालिन सशस्त्र माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते नौमुले गाउँपालिका तत्किालिन द्धारी गाविस १ मा हत्या गरी पत्रकार थापाको ४ वर्षसम्म शव लुकाएका थिए। चार वर्षपछि परिवारले दाहसंस्कार गरेको थियो। दैलेख प्रहरीले सूचना आएपनि मुद्दाको बारेमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ। ‘फरार आरोपी पक्रन प्रहरी लागिरहेको छ।’ दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने, कति ढिलो, कति छिटो पक्राउ पर्ने भन्ने मात्र हो। खोजी कार्य जारी रहेकोले कानुनी दायरामा आउने छन्।’

प्रकाशित: २९ माघ २०७७ ११:३५ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *