देश विदेश

मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने

शेयर गर्नुहोस्

पूर्वी पाँचथरको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल–मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने भएको छ। सुरुवाती विन्दु मानिएको चिावभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्नका लागि केही दिन अगाडि ठेक्का सम्झौता भएको हो।  

तीन प्याकेजमा ५० दशमलव ६४ किलोमीटर सडक कालोपत्रे गर्नका लागि १ करोड ४७ लाखमा ठेक्का लागेको हो। थर्पुसम्म यस अघिनै कालोपत्रे भएको थियो। पाँचथरमा लोकमार्गले छुने ७० किलोमीटर मध्ये बाँकी खण्डकमा यस अघिनै कालोपत्रे भएको थियो। दुई वर्षभित्रमा कालोपत्रे सक्ने गरी ठेक्का लागेको हो।

लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ भारतको सिक्किमसँग सीमा जोडिन्छ। केहि हप्ता अगाडी भारत तर्फबाट पनि चिवाभञ्याङसम्म सडक जोडिएको छ। चिवाभञ्याङदेखि झुलाघाटसम्मको १ हजार ८ सय ७९ किलोमीटर सडकमा आर्थिक वर्ष २०७९/८० भित्रमा कालोपत्रेसम्पन्न गर्ने सरकारी योजना अुनरुप सुरुवाती विन्दुको कामको ठेक्का लागेको हो।  

चिवाभञ्याङदेखि च्याङ्थापु, फलैचा, ओयाम हुँदै थर्पु जोडिन्छ। यो क्षेत्रका १० वर्ष अगाडी लोकमार्गको सडक पुगेको थियो। पाँचथरका साथै ताप्लेजुङका विभिन्न गाँउलाई सुविधा दिने यो सडक कालोपत्रे भएपछि सहजता हुने अपेक्षा छ।

यो खण्ड कालोपत्रे गर्ने कामको च्याङ्थापु बजारमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले शिलान्यास गरे। शिलान्यासपछिको समारोहमा बोल्दै नेम्बाङले भने ‘मलाई थाहा छ यो खण्ड कालोपत्रे हुनु निक्कै महत्वपूर्ण छ। यो सडक कालोपत्रे भईसकेपछि यहाँका बासिन्दाले ठूलो सुविधा पाउनका साथै व्यासायिक गतिविधि पनि बढ्छ।’ देशमा विकासले गति पाएको नेम्बाङले दाबि गरे।  

यसअघि यो लोकमार्ग ग्राबेल स्तरको बनाइएका थियो। ‘चिवाभञ्याङदेखि ६ किलोमीटर लोकमार्गको सँधै चिसो हुने भएकाले पकाएको कालोपत्रे (रिमिक्स) गरिने छ। बाँकीमा अन्यत्र झै कालोपत्रे हुने छ। सडक धेरै हदसम्म चौडा भएकाले धेरै चुनौती नआउने आशा गरीएको छ’ मध्यपहाडी लोकमार्गका आयोजना निर्देशक दिपक केसिले भने ‘काम चाडो अघि बढाउन आवश्यक निर्देशन दिएको छु। निर्माण व्यसायिले पनि एक वर्षभित्रमा च्याङ्थापुसम्म र बाँकी एक वर्षमा चिवाभञ्याङसम्म कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्।’

आर्थिक वर्ष ०७९/८० मा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने गरी तीन वर्षे कार्ययोजना बनाइएको उनले जानकारी दिए। ‘विभिन्न ठाँउमा विवाद समाधान भएका छन्। निर्धारीत समयमा काम सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ’ उनले भने ‘मध्यपहाडका २६ जिल्ला जोड्ने यो लोकमार्गको महत्वलाई ख्याल गरेरै काम अघि बढाएका छौँ।’

चिवाभञ्याङबाट थर्पु हुँदै गणेश चोकसम्म मध्यपहाडी लोकमार्ग रहेको छ। गणेशचोकदेखि जोरसालसम्म मेचीराजमार्गको सडकलाई प्रयोग गरीएको छ। जोरसालदेखि माझिटार हुँदै लोकमार्गले तेह्थुम छुन्छ। यो लोकमार्ग बनेपछि विभिन्न गाउँहरुमा सडक सुविधाका साथै ग्रामिण सहरीकरण समेत भएको देखिन्छ। तीन खण्डकमा गरी कालोपेत्र गर्न लागिएको हो।  

लोकमार्गको ठेक्का पहिलो प्याकेज रोशन शिव शक्ति जेवी, दोश्रो प्याकेज सन्तोषी शिव शक्ति जेवी र तेश्रो प्याकेज शिव शक्ति जेवीले पारेको छ। २०७९ माघ १८ गतेसम्मका काम सक्ने गरी सम्झौता भएको छ। निमार्ण कम्पनीले पनि समयमा काम सक्ने सार्वजनिक प्रतिवद्धता गरेको छ। ‘हामी काम अघि बढाई हाल्छौँ। निर्धारित समयमा भित्रमानै काम सम्पन्न गर्ने छौँ’ शिवशक्ति जेवीका निर्देशक सुरेन्द्र पाठकले भने ‘चिवाभञ्याङ नजिकको क्षेत्र ४ महिना मात्र काम गर्न सकिने भएकाले सोहि अनुसार योजना बनाएका छौँ।’

सडक कालोपत्रे हुने भएपछि यो क्षेत्रका बासिन्दा खुसी देखिएका छन्। यहाँका विभिन्न गाउँमा पहिलो सडकको रुपमामा मध्यपहाडी लाकमार्ग पुगेको थियो। दश वर्ष अगाडी पुगेको सडक चाडै कालोपत्रे भएको ठूलो रहात हुने अपेक्षा छ। ‘सडक राम्रो बन्छ भनेर हामी काहि नगई बसेका थियौँ। अब कालोपत्रे हुने भएछ, यो निक्कै ठूलो खुसीको कुरा हो’ फलैचाका एक जना वृद्ध रामचन्द्र खरेलले भने ‘दुई वर्षपछि त पिच बाटोमा सरर हिँड्न पाइने भइयो।’

सडक कालोपत्रे भएसँगै पाँचथरको उत्तरी क्षेत्रको बसाई सराई घट्ने अपेक्षा छ। सुविधासँगै यो क्षेत्रमा व्यासायीकरण बढ्ने जाने आशा यो क्षेत्रका बासिन्दाले गरेका छन्। शिलान्यास भईसकेकाले चाडै काम कालोपत्रेका लागि काम अघि बढ्ने मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए।

प्रकाशित: २९ माघ २०७७ ११:५९ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *