देश विदेश

भागरथीको न्यायका लागि प्रदर्शन चर्कदै, अनुसन्धान साँघुरिदै गएको प्रहरीको दाबी

शेयर गर्नुहोस्

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। प्रहरीले अपराधी पत्ता लगाउने कुनै ठोस ‘क्लु’ अहिलेसम्म भेटाउन सकेको छैन। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले अनुसन्धान साँघुरिदै गएको र दोषी पत्ता लाग्ने बताए। घटनास्थलवाट संकलन भएका तथ्य र प्रमाणको हरुको जाँच पछि हत्यारा पत्ता लाग्ने उनको भनाई छ।

‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं, संकलित तथ्य र प्रमाणको जाँचको आधारमा छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने। तर, भागरथीको बलत्कार र हत्यामा एक जनाको मात्र संलग्नता थियो वा सामुहिक संलग्नता थियो भन्ने कुरा पनि अझै खुल्न सकेको छैन।  

भगरथीको हत्या भएको एक बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि निर्मला पन्तजस्तै भागरथीले न्याय नपाउने हो कि भनेर आफन्त र स्थानीय चिन्तित् बनेका छन्। भागरथीको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान लिएका छन्।

शव फेला परेको ८ दिनसम्म पनि बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसकेकाले निर्मलाको जस्तै आफ्नो छोरीले पनि न्याय नपाउने हो कि भन्ने चिन्ताले सताउन थालेको भागरथीका काका शंकर भट्टले बताए। ‘सुरुमा प्रहरीले अनुसन्धान थाल्दा छिट्टै अपराधी पत्ता लाग्ने आशमा थियौं,’ उनले भने,‘दिनहरु बित्दै जाँदा अपराधी उम्कने चिन्ता लाग्न थालेको छ।’

बैतडी सदरमुकाम, अस्थाई राजधानी धनगढी, दिपायल, कंचनपुर, डडेलधुरा लगायत विभिन्न ठाउँमा भागरथीको न्यायका लागी प्रदर्शन हुने क्रम बढ्दै गएको छ। बिहीवार बिद्यार्थीहरुले धनगढीमा प्रदर्शन गरे। धनगढीमा प्रत्येक दिन बिभिन्न बिद्यालय, कलेजमा बिद्यार्थी प्रदर्शन सहित मुख्यमन्त्रीको कार्यालय अघि पुगेर घेराउन गर्ने गरेका छन्।

यसैगरि, कैलालीको लम्कीमा ‘विप्लव’ माओवादी निकट बिद्यार्थीहरुले प्रदर्शन गरेका थिए। दिपायलमा पनि प्रदर्शन भएको थियो। यसैगरि उनको न्यायको लागि बैतडीमा दिनप्रतिदिन प्रदर्शन चर्किदै जान थालेको छ। एक साता बित्दासमेत अपराधी पत्ता नलागेको भन्दै विरोध प्रदर्शन बढ्न थालेको हो। बैतडीका विभिन्न विद्यालयबाट आएका विद्यार्थी, अधिकारकर्मी लगायतले बिहीबार पनि बैतडी सदरमुकाममा विरोध प्रदर्शन गरेका छ। भागरथीले न्याय नपाउँदासम्म निरन्तर विरोधका कार्यक्रम गर्ने विद्यार्थीहरुले बताएका छन्। भागरथीको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै नारा जुलुससहित सदरमुकाम परिक्रमा गर्दै प्रशासन कार्यालय अघिसमेत प्रदर्शन गएिको छ।

भागरथीले न्याय नपाउँदासम्म निरन्तर संघर्षमा उत्रने जगन्नाथ बहुमुखी क्याम्पसकी विद्यार्थी निर्मला टेरले बताइन्। ‘घटनापछि हामी छोरीचेली असुरक्षित भएका छौं,’ उनले भनिन्,‘घरबाहिर निस्कनसमेत डाराउनु पर्ने अवस्था आएको छ, स्वतन्त्रपुर्वक हिँडडुल गर्ने वातावरण बनाउन माग राख्दै बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारबाहीको माग हामीले गरेका छौं।’  

माघ २१ गते विद्यालयबाट घर जादा हराएकी दोगडाकेदार गाउँपालिका–२, चढेपानीकी १७ वर्षीया भागरथीको माघ २२ गते विद्यालय र घरको बिचमा पर्ने लवलेक जंगलमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: २९ माघ २०७७ १९:०६ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *