देश विदेश

आफूलाई कम्युनिष्ट भन्ने धेरै भएपनि सच्चा कम्युनिष्ट थोरै छन्ः मोहन वैद्य

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उनले देशमा जनताको शासन आवश्यक भएको बताए। क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे ।

स्वाधिनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पारे । धेरैले आफूलाई कम्युनिष्ट भन्दै आए पनि देशमा सच्चा कम्युनिष्ट थोरै रहेको महासचिव वैद्यले बताए । उनले नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनु जरुरी रहेको बताए । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरुको मोर्चा अग्रसर रहेको उनले उल्लेख गरे । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताए । संसद् पुनःस्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।

सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले रणनैतिक मोर्चाको अवधारणा र संरचना सम्बन्धि दस्तावेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको जानकारी गराइएको थियो । मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तर्गत आगामी फागुन ६ गते रुपन्देहीको बुटवलमा, फागुन १४ गते कैलालीको धनगढीमा तथा फागुन १८ गते सुनसरीको इटहरीमा जनसभा गर्ने भएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *