देश विदेश

एनआरएनएले गैरआवासीयहरुको १० अर्ब लगानीबारे सरकारसँग गर्‍याे छलफल

शेयर गर्नुहोस्

काठमाडौं। गैरआवासीय नेपालीहरुको १० अर्ब रुपैयाँको सामुहिक लगानी बारे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको छ। उक्त लगानीबारे एनआरएनएका अध्यक्ष कुमार पन्तले अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत बैठकमा सहभागी नेपाल सरकारका प्रतिनिधिहरुसंग छलफल गरेका हुन्।

सो अवसरमा अध्यक्ष पन्तले संघको अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउनको लागि तयारी भइरहेको बताए। साथै, त्यसका लागि एनआरएनएले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जानकारी गराए।

अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताए। उनले कम्पनीमा प्रमोटरहरुको १० प्रतिशत र ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको शेयर रहने जानकारी गराए। गैरआवासीय नेपालीहरुले लगानीका लागि आईपीओ जारी गरिने जनाइएको छ ।

विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको जानकारी गराउँदै अध्यक्ष पन्तले लगानीका क्षेत्रबारे प्रस्तावहरु आइसकेको र कतिपय आउने क्रममा रहेको बताए।

अर्थमन्त्री पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताएका छन्। उनले एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न संघका अध्यक्ष पन्तलाई आग्रह गरे। अर्थमन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतको उपस्थिति रहेको थियो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *