देश विदेश

रेडियाेबाट सुन्दै, सहपाठीलाई सिकाउँदै

शेयर गर्नुहोस्

ताप्लेजुङ । शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपालले ताप्लेजुङका दश माध्यमिक विद्यालयमा (क्विक इम्प्याक्ट परियोजना) शुरु गरेको छ । (जाइका) नेपालको आर्थिक सहयोगमा बालबालिकाको क्षमता अभिवृद्धि गराई आत्म निर्णयको अधिकारलाई अभिप्रेरित गराउने उद्देश्यले उक्त परियोजना कार्यान्वयनमा ल्याईएको रिड नेपाल ताप्लेजुङ प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।

उक्त परियोजना सिरिजङ्घा गाउँपालिकाअन्तर्गतका सिनाम, राष्ट्रिय, गणेश, कञ्चनजङ्घा, लक्ष्मी र फक्ताङलुङ गाउँपालिकाका सेवालुङ, सुनदेवी, सरस्वती, पार्वती, सरस्वती च्यारिबुक माध्ययमिक विद्यालयमा शुरु भएको पन्तले बताए।

हरेक विद्यालयमा नौ छात्रा र एक छात्र गरी १० को नेतृत्व तथा मूल्याङ्कन कर्ता समूह बनाइएको छ। उक्त समूहलाई सीप सिक्ने र सहपाठीलाई सिकाउने कामको मुख्य भूमिकामा राखिएको छ। समूहका हरेक सदस्यलाई परियोजनाअन्तर्गत स्थानीय रेडियोबाट प्रसारण हुने कार्यक्रम हाम्रो विद्यालय रेडियो, हाम्रो भविष्य नामको कार्यक्रम सुनेर सिकाइ हासिल गर्न एक/एक वटा रेडियो वितरण गरिएको छ। उनीहरुले उक्त कार्यक्रमबाट आत्म सम्मानका कुरा, विभेदका कुरा बुझ्ने र सहपाठीबीच छलफल तथा आदानप्रदान गर्ने गर्छन्। रेडियो कार्यक्रमबाट विभिन्न प्रकारका भेदभाव, घरेलु हिंसा, यौनजन्य अपराध कसरी हुन्छ र तिनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ साथै कसरी बच्न सकिन्छ भन्नेजस्ता कुरा सिकाइने गरिएको छ।

यसरी विद्यालयमा बनाइएको समूहले हिंसामा परेका बालबालिकाको समस्या बुझ्ने र समाधान गर्ने काम गर्ने गरेको बताइएको छ। समूहले नै समाधान गर्न नसकेमा सम्बन्धित निकायमा पुग्न र न्याय दिलाउनसमेत समूहले भूमिका खेल्ने प्रबन्धक पन्तको भनाइ छ। यो परियोजनाले जीवन उपयोगी सीपको विकास, सञ्चारका सीप, अरुसँग गरिने व्यवहार साथै नेतृत्व क्षमतासमेत बढाउने भएकाले निक्कै प्रभावकारी देखिएको परियोजना कार्यान्वयन भएका विद्यालयले जनाएका छन्।

समाजमा रहेका कुरीति, कुसंस्कार, आफूमाथि हुने अन्यायका विरुद्धमा स्वयम सचेत भएर लड्ने क्षमताको विकासका लागि कार्यक्रमले सहयोग पुग्ने रिड नेपालको विश्वास छ। विद्यालयमा बनेका समूहले गर्न नसकेको काममा फोकल पर्सनका रुपमा छनोट भएका शिक्षक तथा शिक्षिकाले सहयोग गर्ने गरेको जनाइएको छ। परियोजना ताप्लेजुङसहित ओखलढुङ्गा, खोटाङ, बझाङ, रुपन्देही र सिन्धुलीमा सञ्चालन भइरहेको छ।रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *