देश विदेश

अबैध आयातले बिस्कुट उद्योग संकटमा

शेयर गर्नुहोस्

भारतबाट चोरी तस्करी भई अबैध रुपमा बिस्कुट आयात हुन थालेपछि प्रदेश १ का बिस्कुट उद्योगहरू संकटमा परेका छन्। खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करहरूले ठूलो परिमाणमा भारतीय बिस्कुट नेपाली बजारमा भित्राउँदा नेपालका उद्योगहरू संकटमा परेका हुन्।

नेपाली उत्पादनको तुलानमा तस्करी भएर भित्रने बिस्कुट सस्तो हुने भएकाले नेपाली बिस्कुट बजारबाट प्रतिस्थापन हुन थालेको बिस्कुट उद्योगीहरू बताउँछन्। विशेष गरी नेपालका सीमावर्ती शरहरूलाई लक्षित गरेर तस्करहरूले ठूलो परिमाणमा भारतीय बिस्कुट तस्करी गरी भित्राएका कारण नेपाली उत्पादन मारमा परेको गुडलाइफ बिस्कुटका उत्पादक महेश जाजुले बताए। जाजुका अनुसार अबैध रुपमा आयात हुने बिस्कुटले नेपाली उद्योगका उत्पादनको बजारीकरणमा समस्या खडा गरेको छ। जाजुले भने‘अबैध रुपमा ठूलो परिमाणमा भारतीय बिस्कुट नेपाल भित्रदा नेपाली उत्पादनको बजारीकरणमा समस्या भएको छ।’ लक डाउनको समयमा नेपालका बिस्कुट उद्योगलाई बजारको माग धान्न नै मुस्किल परेको तर, सीमानाका खुकुलो भएसँगै अबैध रुपमा क्यारिङको माध्ययमबाट भित्रिएको भारतीय बिस्कुटले नेपाली बिस्कुटको माग ह्वात्तै घटेको जाजुले बताए। उनले भने‘अबैध रुपमा आयात भएको भारतीय बिस्कुटका कारण नेपाली बिस्कुटको माग ह्वात्तै घटेको छ।’

सुनसरी– मोरङ ओद्योगिक करिडोरका उद्योगहरूले यतिबेला ५० प्रतिशत भन्दा बढी उत्पादन कटौती गरिसकेको जाजुले जानकारी दिए। उद्योगहरूले उत्पादन कटौती गरेपछि सरकारको राजस्व र रोजगारीमा प्रत्यक्ष प्रभाव परेको उनले बताए। उद्योगले धमाधम उत्पादन कटौती गरेसँगै मजदुर पनि कटौती गरिरहेकाछन्। जसका कारण बिस्कुट उद्योगमा काम गर्ने मजदुरहरूले रोजगारी गुमाउनु पर्ने अवस्था आएको छ। यतिमात्रै हैन उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा मजदुरहरूले अतिरिक्त समय काम गरेर पनि थप आर्जन गरिरहेका थिए। बिस्कुट उत्पादन घटेसँगै मजदुरहरूको अरिरिक्त आम्दानी समेत प्रभावित भएको छ। भारतबाट राजस्व तिरेर आउने बिस्कुटसँग नेपाली उत्पादन प्रतिस्पर्धा गर्न सक्ने भए पनि अबैध रुपमा आयात हुने बिस्कुटसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको उद्योगीहरूले बताएका छन्। ‘राजस्व तिरेर आयात हुने बिस्कुट हाम्रालागि समस्या हैन’ उद्योगी जाजुले भने‘अबैध रुपमा क्यारिङ गरेर ल्याइने बिस्कुटले चाहिं समस्यामा पारेको हो।’

अबैध आयातले उद्योग नै बन्द हुने अवस्थामा पुगेपछि बिस्कुट उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरूले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी सीमा सुरक्षा बललाईसमेत पत्र पठाएर अबैध रुपमा भइरहेको बिस्कुटको आयात नियन्त्रण गर्न माग गरेका छन्। उनिहरूले अबैध आयातले आत्मनिर्भरको अवस्थामा पुगेको नेपाली बिस्कुट उद्योग नै संकटमा पारेकाले सीमा क्षेत्रबाट हुने अबैध आयात रोक्न माग गरेका हुन्। अबैध आयातले बिस्कुट उद्योगहरू संकटमा पारिसकेको नेपाल बिस्कुट संघका सचिव अजय पराजुलीले बताए। उनले सीमा क्षेत्रबाट हुने अबैध आयातका कारण धेरै उद्योग बन्द भइसकेको र भएका उद्योग पनि सञ्चालनमा समस्या आएको बताए। उनले भने‘अबैध रुपमा ठूलो परिमाणमा भारतीय बिस्कुट भित्रिएपछि हाम्रा उत्पादन बजारबाट बिस्थापित हुँदै गएका छन्।’ सुनसरी मोरङ औद्योगिक करिडोरमा पशुपति, गुडलाईफ , क्वालीटीलगायतका ब्राण्डका ठूला उद्योगहरू सञ्चालनमा छन्।

नेपाल बिस्कुट संघका अनुसार पाँच वर्ष अघिसम्म नेपालमा ३५ वटा बिस्कुट उद्योगहरु सञ्चालनमा थिए। तर, अहिलेसम्म २१ वटा बिस्कुट उद्योग बन्द भइसकेका छन्। चलेका केही उद्योगहरु पनि रुग्ण बनेका छन्। नेपाली उद्योगबाट उत्पादन भएकै गुणस्तरका बिस्कुटहरु सहजरुपमा भारतबाट आयात हुने गरेका छन्। भारतबाट आयात हुनेमा सबैभन्दा धेरै पार्लेजी, गुडडे, ह्याप्पी ह्याप्पी, टफ लाइफ जस्ता ब्राण्डका बिस्कुटहरु छन्। नेपाली बजारमा ती ब्राण्डका जति बिस्कुट भेटिन्छन् भन्सारको औपचारिक मार्ग भएर न्यूनमात्र आयात हुने गरेको उद्योगीहरूको दाबी छ। ठूलो परिमाणमा अबैध रुपमा भारतबाट बिस्कुट अयात भएपछि नेपाली बजारमा चर्चित ब्राण्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरु अहिले बन्द भएका छन्। मयुर बिस्कुट, चौतारी बिस्कुट, बबी बिस्कुट, सनसाइन बिस्कुट आदि अहिले बजारमा भेटिदैनन्। बिस्कुट उद्योगका लागि पिठो र चिनी मुख्य कच्चा पदार्थहरु हुन्। बिस्कुट उत्पादनका लागि मसिनो चिनीको आवश्यकता पर्छ। उद्योगीहरुले उद्योगको उत्पादन र विगतको खपत अनुपातका आधारमा सहुलियत मूल्यमा चिनी आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। बिस्कुट उद्योगहरुले चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने भएकोले उत्पादन लागत बढ्न गई भारतीय बिस्कुटसँग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको उद्योगीहरुको भनाई छ।

यता जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीबाट ठूलो परिमाणमा बिस्कुट भित्रिएको गुनासो उद्योगीहरूले गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले उद्योगीहरूले तस्करीको भारतीय बिस्कुटका कारण नेपाली उद्योगको बिस्कुट उत्पादन प्रभावित भएको गुनासो आफूmलाई पनि गरेको जानकारी दिए। तर, उनिहरूले भनेजस्तो ठूलो परिमाणमा बिस्कुट तस्करी भएर नआएको खड्काको दाबी छ। उनले भने‘थोरै परिमाणमा क्यारिङ गर्नेहरूले ल्याए पनि उद्योगको उत्पादनै प्रभावित पार्ने गरी तस्करी भएको अबस्था छैन।’ उनले क्यारिङलगायतका तस्करी नियन्त्रणमा प्रहरीले अभियानै चलाइरहेको बताए। तस्करी नियन्त्रण गर्न प्रहरी तत्पर रहेकाले तस्करहरूले प्रयोग गर्ने संभावित नाकाहरूमा थप निगरानी गरिने उनले बताए।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *