देश विदेश

मनाङमा वन जलेको जल्यै

शेयर गर्नुहोस्

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट गत मंसिर ११ देखि सुरु भएको आगलागी नियन्त्रणमा आउन झन्डै डेढमहिना लाग्यो । थानचोकबाट सुरु भएको आगलागी ठाउँठाउँमा फैलिँदै नासोँ गाउँपालिका–८ ताचैसम्म पुगेर बल्ल्तल्ल नियन्त्रणमा आएको थियो । पहिलोपटकको आगलागीले मनाङको सातसय हेक्टर क्षेत्रफलको वन क्षेत्र नष्ट भएको अनुमान छ ।

पहिलोपटकको आगलागी जसोतसो निभेको मात्र के थियो, माघ दोश्रोसाता पुनः नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वन क्षेत्रमा आगलागी फैलियो । दोश्रोपटकको आगलागी झनै भीषण थियो । एकसाता बढी समय लगाएर दोश्रोपटकको आगलागी मुस्किलले नियन्त्रणमा आएको थियो । हिमपातले गर्दा दोश्रोपटकको आगो निभाउन केही सहज भएको थियो । दोश्रोपटकको आगलागी हुँदा झन्डै २१ सय हेक्टर क्षेत्रफल वन क्षेत्र ध्वस्त भएको अनुमान छ ।

दोश्रोपटकको आगलागी नियन्त्रणमा आएको धेरैदिन बित्न नपाउँदै मनाङमा फेरि आगलागी भएको छ । माघ २९ गतेदेखि मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित वनमा लागेको आगो शनिबारदेखि नियन्त्रणमा आएपनि अझै पूर्ण रुपमा निभिसकेको छैन । बेलैमा नियन्त्रणको प्रयास गर्दा तेश्रोपटकको आगलागीको क्षति करिब १२ हेक्टरमा मात्र सिमित छ । काठका मुढाको आगो अझै ननिभेपनि फैलिने सम्भावना कम रहेको स्थानीय प्रशासनले बताएको छ । आगलागी भएको थाहा पाउनासाथ खटिएको सुरक्षाटोलीको सक्रियताले तेश्रोपटकको आगलागी बेलैमा नियन्त्रणमा ल्याउन सकेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । तिब्रगतिको हावा चलिरहेकोले कम भएको आगलागी पुन फैलिने जोखिम भने कायमै लामिछानेले उनले बताए ।

मनाङमा आगलागी भएको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्रको वन हो । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति मातहतको वनक्षेत्रमा अहिले धमाधम आगलागी भएको छ । जसोतसो एकठाउँको आगलागी रोकिए लगत्तै अर्काे ठाउँमा आगलागी हुने गरेको छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार यो सिजनमा मात्र मनाङमा २८ सय हेक्टर क्षेत्रफल भन्दा बढी वनक्षेत्र आगलागीले ध्वस्त भएको छ । ‘तेश्रोपटकको आगो मात्र थोरै क्षतिमा नियन्त्रणमा ल्याइएको हो । नत्र यो पटकको क्षति डरलाग्दो हो,’ गौतमले भने, ‘आगलागीले वन क्षेत्र, जडिबुटी, बोटविरुवा ठुलो मात्रामा क्षति गरेको छ ।’

गौतमका अनुसार चिसोका कारण उच्चहिमाली भेगमा आफै उम्रेका बोटविरुवा हुर्किन निकै नै समय लाग्छ । वर्षाै लगाएर हुर्केका ती बोटविरुवा आगलागीसँगै ध्वस्त भएका छन् । ‘जसोतसो जोगिएको वन क्षेत्र हो । वर्षाै लगाएर बोटविरुवा हुर्केका थिए,’ गौतमले भने, ‘अब त्यो ठाउँमा आगलागीअघिको जस्तो वन क्षेत्र देखिन कम्तिमा दुईदशक लाग्छ । चिसो अधिक हुने भएकोले पनि बोटविरुवा हुर्किन समय लाग्छ ।’ आगलागी फैलिएको धेरैजसो वनक्षेत्रमा धुपि र गोब्रेसल्लाका बोट थिए । आगलागीले अधिकांश धुपिको बोट ध्वस्त भएका छन् । ‘निकै नै राम्रो वन क्षेत्र आगलागीले ध्वस्त भयो । यसले हिमाली क्षेत्रमा असर पार्ने देखिन्छ,’ उनले भने, ‘त्यो आकारको वन क्षेत्र बन्न वर्षाै लाग्नेछ । हिमाली क्षेत्रका लागि यो आगलागीको क्षति निकै नै ठुलो हो ।’

एक्याप प्रमुख गौतमका अनुसार आगलागी भएको जंगलमा झारल, घोरल, थार, चितुवा, हिउँ चितुवा, वन बिरालो, दुम्सी, बाँदर लगायतका जनावरको बासस्थान हुन्थ्यो । त्यस्तै डाँफे, मुनालको बासस्थान पनि हुन्थ्यो । यार्सागुम्बा, सतुवा, जटामसी, पाँचऔंले, निरमसी लगायतका जडिबुटी हुने क्षेत्र पनि हो । आगलागीले ती जनावर पनि बिस्थापित हुने र बासस्थानमा असर पर्नुका साथै चराचुरुङगी पनि समस्यामा पर्नेछन् । धुपि, गोब्रे लगायतका सल्ला भएकोले आगो फैलिन सहज भएको उनले बताए । ‘निकै नै कठिनका साथ हुर्केका बोटविरुवा आगलागीले ध्वस्त भएको छ,’ उनले भने, ‘अहिले जलेको ठाउँमा नयाँ विरुवा हुर्काउन निकै नै समय लाग्नेछ ।’

गौतमले आगलागी गर्ने व्यक्ति पहिचान गर्न नसकेको बताए । ‘यो बेला गाउँमा उत्तिसारो मान्छे पनि छैनन, तर, आगलागीका घटना बढेको बढ्यै छन् । बाहिरी मान्छेले आगलागी गरेको होइन, स्थानीयले सहयोग नगर्ने हो भने आगजनी गर्ने व्यक्ति पत्ता लगाउन सकस हुन्छ,’ उनले भने, ‘आगलागी गर्ने व्यक्ति पहिचानका लागि सुराकी परिचालन गरेका छौ । तरपनि पत्ता लगाउन सकिएको छैन ।’ शिकारको लोभ या राम्रो घाँस पलाउने लोभमा आगलागी गरेको हुनसक्ने उनको अनुमान छ ।

मनाङका प्रजिअ लामिछानेका अनुसार आगलागी भएको क्षेत्र अन्नपूर्ण फेरोको पदमार्ग भन्दा बाहिर पर्छ । यो बेला पदमार्गमा पनि मान्छे छैनन । त्यसैले आगजनी गर्ने नियतबस नै भीरको अप्ठेरो ठाउँमा पुगेर आगो सल्काएको हुनसक्ने उनले बताए । ‘अप्ठेरो भीरमा गएर आगो सल्काइएको छ । जो कोही त्यहाँ जान पनि सक्दैनन,’ उनले भने, ‘पदमार्ग बाहिर गएर नियतबस नै आगजनी गरिएको छ । आगो कसले लगायो भनेर निगरानी बढाएका छौ ।’

पातलो बस्ती र कम जनसंख्या हुँदा पनि आगजनी गर्ने व्यक्ति पहिचानमा चूनौती थपिएको उनले बताए । ‘एक्यापले अब यो बारेमा सोच्नुपर्छ । एक्यापको संरक्षित क्षेत्रभित्रको वनक्षेत्र सखाप भएको छ,’ लामिछानेले भने, ‘स्थानीय समुदायले लाभ पाउने जंगल क्षेत्र अहिले आगलागीले ध्वस्त भएको छ ।’ भूइमा हिउँ भएपनि घाँस र बोटविरुवाको टुप्पोटुप्पोमा फैलिने गरि आगलागी भएको उनले बताए । ‘शिकार र घाँसका लागि आगजनी गरेको हुनसक्ने अनुमान सबैको छ,’ उनले भने, ‘घाँस र शिकारका लागि भन्दा पनि आगलागीले ठुलो वनक्षेत्र नोक्सान गरेको छ । त्यो नै चिन्ताको विषय हो ।’

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *