देश विदेश

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन

शेयर गर्नुहोस्

काठमाडौं। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरेको छ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका माग, चाहाना र आकांक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्किया र सहकार्यका माध्यमबाट कार्यविधिको दोश्रो संशोधन गरिएको हो।
उनका अनुसार मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ। दोस्रो संशोधनले विगतको कोषलाई परिमार्जन गरी धेरै विषय समेटिएको कोषले जनाएको छ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको कोषले जनाएको छ।

त्यसैगरी नयाँ संशोधनमा कोषले अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरुले सो सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप हुन सक्ने व्यवस्था मिलाएको छ।

मातृत्व सुरक्षाअन्तर्गत योगदान कर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्तासम्मको उपचार खर्च समेत पाउने व्यवस्था गरेको छ। यस्तै योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गरेका योगदान कर्ताहरुले चाहेमा आफ्नो मासिक निवृत्तिभरणबाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ।
कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीजन्य दुर्घटनाको उपचारलाई पारदर्शी बनाउन कोषलाई जानकारी गराउने व्यवस्था गरेको छ। साथै, अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ।

आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा सात लाख रुपैयाँसम्म लिन सक्नेछन्। कोषबाट सञ्चालनमा ल्याएको वृद्ध अवस्था योजनाअन्तर्गत जम्मा हुने योगदान कर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकास सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ।

निवृत्तिभरण योजनामा जम्मा भएको कुल रकमलाई १८० ले भाग गरी मासिक रुपमा निवृत्तिभरण दिने व्यवस्था भएकोमा १८० भागलाई १६० कायम गरी मासिक निवृत्तिभरण रकम अधिक हुन सक्ने व्यवस्था गरेको छ।

साथै, २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदाकर्ताहरुले चाहेमा निवृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकास सुविधा योजनामा जम्मा गर्न सक्ने छन्।

यस्तै, अवकाश सुविधा योजनामा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै ८० प्रतिशत विशेष सापटीको रुपमा प्रदान गर्न सकिने छ।

यसैगरी, अवकाश सुविधा योजना अन्तर्गत नियमित रुपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदाकर्ताहरुले स्वेच्छिकरुपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम, योगदानकताहरुको चाहेमा न्यनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने छ।

र, सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताहरुको निवृत्तिभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *