देश विदेश

केपी ओलीले तीनवर्षमा जनताका लागि केही काम गरेनन् : प्रदिप पौडेल

शेयर गर्नुहोस्

दैलेख। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार दैलेख सदरमुकाम दैलेख बजारमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो ओली सरकारको चर्को आलोचना गरे।

प्रधानमन्त्री ओलीले ओम्नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन। तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन।’

पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको बताए।
‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए। यो सरकार आएपछि कम एकदमै ढिलो भयो’, उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १०% मात्रै बाँकी थियो। तीन वर्षसम्म त्यो १०% काम पनि पूरा भएन।’

कार्यक्रममा बोल्दै उनले भने, ‘तीन वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो? यो नेपाली जनताको सरोकारको विषय होइन।’

ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको भनाइ थियो। उनले संसदले पास गरेको नेपालको नक्सा केपी ओलीले शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताए।

उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीरसमेत गरेका छन्।

प्रधानमन्त्रीको रुपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिन भन्ने केपी ओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए।

कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान भन्दामाथि बस्न खोजेको तर नेपालमा काँग्रेस रहँदासम्म संविधानभन्दा माथि कोहीपनि बस्न नपाउने दाबी गरे।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *