देश विदेश

अस्ट्रेलियामा तीब्र रुपमा फैलिँदै मासु खाने रोग बुरुली अल्सर

शेयर गर्नुहोस्

काठमाडौं। अस्ट्रेलियाका एक व्यक्तिको कुर्कुच्चामा पछाडिपट्टी एउटा रातो दाग देखियो । यो ठिक भइरहेको थिएन । तीन हप्तापछि त्यहाँ प्वाल पर्यो । यो प्वाललाई आफ्नो खुट्टामा लिएर हिँडिरहेका व्यक्ति तत्काल मेलबर्नमा रहेको अस्टिन अस्पताल गए । यो घटना गएको अप्रिलको हो जतिबेला अस्ट्रेलियामा कोरोनाभाइरस तीब्र रुपमा फैलिएको थियो ।

अस्पतालमा डाक्टरहरुले एडम नोएल्स नामका ती व्यक्तिलाई उनको समस्या केही दिनमा ठिक हुने बताए । तर, केही दिनमै खुट्टाको प्वालबाट हड्डीहरु देखिन थालेका थिए र प्वाल टेबल टेनिसको बलजति ठूलो भइसकेको थियो । त्यसपछि एडम नोएल्स अस्ट्रेलियाको अत्याधिक सुविधासम्पन्न अस्पताल सेन्ट विन्सेन्टमा गए । एक हप्ताको जाँचपछि थाहा भयो उनलाई मासु खाने रोग बुरुली अल्सर भएको छ ।

बीबीसीको रिपोर्टअनुसार ब्याक्टेरियाबाट हुने बुरुली अल्सरले मानव शरीरमा घाउ उत्पन्न गराउँछ । यदि समयमै उपचार हुन सकेन भने शरीरको संक्रमित अंग काटेर हटाउनु पर्न सक्छ । डाक्टरहरुले त्यसपछि एडमको दिनचर्याबारे सोधे किनकि यो रोग कहाँबाट आयो भन्ने पत्ता लगाउनु जरुरी थियो । एडमले आफूले बगैंचामा दिनभर काम गर्ने बताए । उनले बगैंचाको लागि छाप्रो बनाउन धेरै माटो खने, रुख काटे तर उनलाई रत्तिभर अनुमान थिएन कि यिनै रुखमा बस्ने पोसम्स नामको नीवको शरीरमा पाइने ब्याक्टेरियाले उनको यो हाल गर्नेछ ।

पोसम्स लोखर्केकै एक प्रजाति हो । यो अस्ट्रेलिया, अमेरिका र अफ्रिकाका केही स्थानमा पाइन्छ । पोसम्म सामान्यतया रातमा घुम्छन् र खाना खान्छन् । बुरुली अल्सरको कारक ब्याक्टेरियालाई माइक्रोब्याक्टेरियल अल्सरान भनिन्छ । यो ब्याक्टेरिया पोसम्सको मलमा प्रचुर मात्रामा पाइन्छ । पोसम्सको प्राकृतिक वासस्थान अहिले घटिरहेको छ किनकि मानिसहरुले रुखको फँडानी गरिरहेका छन् । यही कारण पोसम्स मानिसको इलाकामा आएर बस्न थालेका छन् । मानिससँग उनीहरुको सम्पर्क बढ्न थालेको छ र उनीहरुलाई हुने मासु खाने रोग अब मानिसलाई हुन थालेको छ ।

अस्ट्रेलियामा मासु खाने रोग बुरुली अल्सरका केस पछिल्लो केही समययता बढिरहेका छन् । २०१४ मा यहाँ यसका ६५ केस भेटिएका थिए । २०१९ मा भने बढेर २९९ नयाँ केस भेटिए । २०२० मा २१८ नयाँ केस भेटिए । संक्रामक रोगका डाक्६र ड्यानियल ओब्रायनका अनुसार उनी हरेक हप्ता बुरुली अल्सरका ५ देखि १० बिरामी हेर्छन् । ओब्रायनका अनुसार बुरुली अल्सरले निकै छिटो मानव शरीरको मासु खान्छ ।

यसको उपचारको लागि खास किसिमको एन्टिबायोटिक्स एस्टोरोएड्स दिइन्छ । यसको डोज आवश्यकताअनुसार केही हप्तादेखि महिनौंसम्म दिनु पर्न सक्छ । यदि यो रोग तीब्र रुपमा फैलियो भने शरीरको अंक काट्नु पर्न सक्छ । यो रोग सामान्यतया हात वा खुट्टामा हुन्छ । कैयौं पटक त यसबाट पीडितको २० भन्दा धेरै सर्जरी गर्नुपर्छ । वैज्ञानिकहरुले अहिलेसम्म यो रोगको कारक ब्याक्टेरिया कुन जीवमा पाइन्छ भन्ने पत्ता लगाएका छन् तर त्यो जीवबाट मानिसमा कसरी सर्छ भन्ने प्रस्ट छैन ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *