देश विदेश

भारतको मध्यप्रदेशमा यात्रुवाहक बस दुर्घटना, ५४ मध्ये ४२ यात्रुको लाश भेटियो

शेयर गर्नुहोस्

काठमाडौं। भारतको मध्यप्रदेशमा निकै भयानक सडक दुर्घटना भएको छ । मंगलबार बिहान साँघुरो सडकमा गुडिरहेको यात्रुवाहक बस २२ फिट तल नहरमा खसेको छ । ५४ जना यात्रु लिएर हिँडेको बस बाणसागर नहरमा खसेको हो । अहिलेसम्म ४२ जनाको शव भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन् । ६ जनाको जीवितै उद्धार गरिएको छ । चालक स्वयं पौडी खेल्दै बाहिर आएका थिए । उनलाई हिरासतमा लिइएको छ ।

अधिकारीहरुले मृतकको संख्या ४५ भन्दा धेरै भएको आशंका गरेका छन् । केही शवहरु बगेर गएको हुन सक्ने समेत आशंका गरिएको छ । बस सिधीबाट सतना गइरहेको थियो । दुर्घटना रामपुरको नैकिन क्षेत्रमा बिहान करिब साढे ७ बजे भएको बताइएको छ । दुर्घटनाको ४ घण्टापछि बसलाई क्रेनको सहायताले बाहिर निकालिएको थियो । नहरको गहिराइ २० देखि २२ फिट बताइएको छ । दुर्घटनाको समयमा पानीको बहाव तीब्र थियो । मृतकहरुमध्ये १२ जना विद्यार्थी भएको बताइएको छ ।

पुलिसका अनुसार बसको सिट क्षमता भने ३२ जना मात्र थियो र यात्रुहरु उभिएर समेत यात्रा गरिरहेका थिए । बस सिधा बाटो जाँदा छुहिया घाटी हुँदै सतना जानुपर्ने थियो तर त्यो बाटोमा जाम भएपछि ड्राइभरले रुट बदलेका थिए । ड्राइभरले नहरको किनाराबाट बस लैजाँदै थिए । त्यो बाटो निकै साँघुरो छ । यही क्रममा ड्राइभरले नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *