देश विदेश

रसुवा भन्सारमा आर्थिक वर्ष सकिन ५ महिना बाँकी हुँदा १७ प्रतिशत मात्र राजस्व संकलन

शेयर गर्नुहोस्

चालु आर्थिक वर्ष २०७७/७८ सकिन ५ महिना मात्र बाँकी रहँदा रसुवा भन्सार कार्यालयले १७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमा साउनदेखि माघ मसान्तसम्ममा २ अर्ब ३ करोड ४८ लाख ३२ हजार मात्र राजस्व संकलन भएको छ । ७ महिनामा १७.९ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्म रसुवा भन्सारले लक्ष्य भन्दा निकै कम राजस्व संकलन गरेको छ । नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘पहिले दिनमा सय वटा भन्दा बढी गाडीमा सामग्री आउथ्यो’, उनले भने, ‘अहिले दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन् ।’ अहिले ल्होसारको कारण नाकाबाट सामग्री आएको छैन ।

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन् । केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरू बीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो । तर सहमति अनुसार सामग्री नआएको रसुवा भन्सारले जनाएको छ ।

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो । कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *