देश विदेश

कांग्रेस महाधिवेशन भदौमा

शेयर गर्नुहोस्

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । फागुन ७ देखि १० गतेका लागि तय गरिएको मितिमा महाधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका नेताहरूको सहमतिमा नयाँ मितिसहितको कार्यतालिका प्रस्ताव गरिएको हो । प्रस्तावित कार्यतालिकाअनुसार असारभित्र नयाँ सदस्यता वितरण र नवीकरणसहित जिल्ला तहसम्मको अधिवेशन सक्ने र साउनमा प्रदेशको अधिवेशन हुनेछ ।

नयाँ कार्यतालिकाअनुसार प्रदेश अधिवेशन साउन ६ गते गर्ने र असार ३० गते जिल्ला अधिवेशन गर्ने मिति प्रस्ताव गरिएको छ । त्यस्तै असार २७ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र, असार २५ गते प्रदेश निर्वाचन क्षेत्र, नगर अधिवेशन असार २२ गते र असार २० गते वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ ।

गत कात्तिकमै सक्नुपर्ने समायोजनको काम फागुन १५ गतेभित्र सक्ने, क्षेत्रिय समितिहरूले फागुन २८ गतेभित्र क्रियाशील सदस्यता जिल्लालाई पठाउनुपर्ने प्रस्तावमा उल्लेख छ । सदस्यता छानबिन समितिले छानबिन गरी जेठ मसान्तभित्र सभापतिबाट प्रमाणित गराई असार ७ गतेभित्र निर्वाचन समितिलाई बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।

महामन्त्रीको प्रस्तावमाथि बिहीबार बस्ने बैठकले छलफल गरी पारित गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको एक वर्षमा एकतिहाइ सदस्यता नवीकरण र वितरणको काम पनि सकिएको छैन ।

पार्टी विधानको व्यवस्थाअनुसार थप एक वर्ष कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा संवैधानिक व्यवस्थाअनुसार छ महिना थप गर्ने प्रस्ताव बैठकमा राखिएको छ । ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थाबमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ,’ प्रस्तावमा भनिएको छ ।

बिहीबारको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध विरोधका केही कार्यक्रमसमेत तय गर्ने नेताहरूले बताएका छन् ।

बैठक सुरु हुनुअघि पौडेल पक्षधर केन्द्रीय सदस्यहरूको भेलाले १४औं महाधिवेशन जेठमा हुनेगरी मिति तोक्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यही अनुसार बैठकमा नेता पौडेलले महाधिवेशन जेठमा गर्नुपर्ने धारणा राखेका थिए ।

संसद् पुनस्र्थापनामा पौडेलको जोड

नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा पार्टी उभिनुपर्ने दोहो¥याएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई पदाधिकारी बैठकले अलोकतान्त्रिक, असंवैधानिक र स्वच्छाचारी कदम भएको ठहर गरेको स्मरण गराए । विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेपछि पुनस्र्थापना नभएर के हुन्छ त भन्ने प्रश्न गर्दै पौडेलले पुनस्र्थापनाको पक्षमा पार्टीले स्पष्ट निर्णय नलिँदा आमजनतामा निराशा उत्पन्न भएको दाबी गरे । ‘प्रतिनिधिसभा विघटनले संविधान र लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार भएको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी कांग्रेसले संविधानमाथिको प्रहारलाई स्वीकार गर्न सक्दैन ।’

प्रधानमन्त्री ओलीले निर्वाचन नै नगराउने र गराए पनि कांग्रेस सहभागी हुन नहुने धारणा राख्दै पौडेलले बैठकमा भने, ‘कांग्रेसले निर्वाचन जित्छ भन्दैमा अलोकतान्त्रिक कदमलाई साथ दिएर अघि बढ्न सक्दैन/हुँदैन ।’

पार्टी सभापति देउवालाई केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने आश्वासन दिएको सुन्नमा आएको भन्दै पौडेलले त्यसको भ्रममा नपर्न आग्रह गरे । ओलीले सबैलाई प्रधानमन्त्री बाँड्दै हिंडेको टिप्पणी गर्दै पौडेलले प्रदेश सरकारविरुद्ध विभिन्न प्रदेशमा दर्ता भएका अविश्वासको प्रस्तावको पक्षमा पार्टी उभिनुपर्ने धारणा राखे ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *