देश विदेश

ह्विल चेयरको फन्को

शेयर गर्नुहोस्

‘दिज्यू, हजुरले नपकाउनू, म सबै भ्याइहाल्छु नि’ भाइबुहारीले भनिरहेकी छिन् । तर आज मेरो छोरोको बर्थडे हो । जन्मदिन हो । ऊ ठ्याक्कै सोर वर्षको लाग्यो । पन्ध्रसम्म खड्गो छ भन्थे ज्योतिषीले । अब त्यो पनि काट्यो छोराले । ऊ निकै लाठे भएझैँ लागिरहेको छ । मेरो छोरा १६ वर्षको लाग्यो । काटीकुटी त्यसकै बाउजस्तै । बलियो उस्तै । चौडा छाती । हिँड्छ उसैगरी । बोल्छ उसैगरी । उसको बाउ पढ्न कस्तो थियो कुन्नि थाहा भएन । तर मेरो छोरो पढ्छ । पढैया छ । अहिलेसम्म गुनासोे गर्ने ठाउँ दिएको छैन ।

आज प्रेसमा फोल्डिङ गर्ने कामबाट पनि बिदा लिएँ छोराको बर्थडे भनेर । मैले ह्विलचेयरमै बसेर पुलाउ पकाएँ । आलुको अचार बनाएँ । चिकेन चिली बनाएँ । अरू कुरा भाइबुहारीले पकाइन् । बानेश्वरको सुविधानगरको भित्री गल्लीमा मेरो डेरा छ । चारैपट्टि अग्ला घरहरूका बिचमा दुई तले घरमा छ मेरो डेरा । चिसो पनि छ । अँध्यारो पनि छ । तर मेरो मन उज्यालिएको छ । तातिएको छ । म खुसी छु । त्यसैत्यसै फुर्किएकी छु । मनभरि न पेटभरि भएकी छु । चिच्याएर कराउन मन लागेको छ । आज मेरो छोराले खड्गो काटेको छ । म बसेको ह्विलचेयर पनि खुसी भएझैँ लागिरहेछ । मलाई यो ह्विल चेयर दिने संस्थालाई धन्यवाद दिइरहेकी छु । त्यही ह्विलचेयरमा बसेर परपर देखिने आकाशलाई हेरिरहेकी छु । आकाश छ्याङ्ङ छ । निलो आकाश हाँसिरहेको छ । खोई यी गुलाबका फूलहरू, कलकल बग्ने कल्पनाको रोसी खोला पनि, निलो आकाश पनि र पारिको जंगल पनि म हाँसे मात्रै हाँस्छन् कि क्या हो ! यसअघि कहिल्यै यी हाँसेको देखेको थिइनँ।

छोराका साथीहरू आउन थालेका छन् । आफन्तहरू आउन थालेका छन् । मेरो भाइ र बुहारी पनि खुसी मारे पागल भइरहेका छन् । उच्छवास छाएको छ यो घरमा याने मेरो डेरामा । म भने ह्विलचेयरमै बसेर केही खोजिरहेकी छु । निलो आकाशभित्रबाट त्यो पापी आइहाल्छ कि जस्तो लागिरहेछ । अझै एउटा आश मरेको छैन । ऊ आइदिए मात्र हुन्थ्यो । म उसलाई धन्यवाद भन्ने थिएँ । कस्तो पापी रहेछ मलाई धन्यवाद भन्ने पनि मौकै नदिई भाग्यो । दुम लुकाएर भाग्यो । मलाई जीवनको घनघोर जंगलमा एकलै छोडेर भाग्यो । निर्दयी मोरो । ऊ आए ता हुन्थ्यो नि । कहाँ होला निर्मोही ? के गरिरहेको होला कुन्नि त्यो मान्छे ? जहाँ भए पनि उसको जय होस् ।

मेरो यो ह्विल चेयर साथी भएको छ । मलाई जहाँ पनि यसैले पुरयाउँछ । यो ह्विल चेयरले मलाई माया गरेर भन्छ– ‘निमा दिज्यू, तपाईँ जहाँ जानुस् म हजुरलाई पुरयाइदिन्छु । तपाईँले गर्न नसकेको काम के छ र दिज्यू ? तपाईँलाई कसले अपाङ्ग भन्न सक्तछ र दिज्यू । बरु सपाङ्गहरू तास खेलेर बसेका होलान् । जीवन भोगेर भागेका होलान् । दायित्व बिर्सिएर हराएका होलान् । ती बोझ हुन् जीवनका । देशका । समाजका । समग्र विश्व र मानवजगतका । तर तपाईँले त जीवन बाँच्नुभएको छ । दायित्व निर्वाह गर्नुभएको छ । काम गर्नुभएको छ । छोरो पाल्नुभएको छ । जीवनका अस्मेल दुर्दिनहरूलाई झेलेर आउनुभएको छ । मान्छे भएर जन्मेको तपाईँको जीवन सार्थक भएको छ’तर पनि जब एकान्त आउँछ, त्यही मोरो, निर्दयी मोरो, विश्वासघाती मोराको याद आउँछ । त्यही पापीको याद आउँछ।

आज मलाई किनकिन बाबाको याद आइरहेको छ । घरबाहिर राखिएको खाटमा पल्टिरहेकी हुन्थेँ । बाबा इन्डियाको रेल कम्पनीको जागिरे । आमा मेलापात र भाइ स्कुल । यो हाम्रो घरको नियति थियो । म घस्रेर भित्रबाहिर गर्थेँ । तिघ्रामुनिको भाग चल्दैनथ्यो । हिँड्डुल गर्न सक्तिनथेँ । स्कुल जाने काम बन्द भएको थियो । म त्यसै खाटमा पल्टेर जीवनसँग टोलाएर बाँचिरहेकी थिएँ । आखिर मान्छेले बाँच्नै पर्दो रहेछ । खासमा भन्दा म मृत्यु पर्खिरहेकी थिएँ । सायद आमाबाको मनमा मप्रति के आउँथ्यो कुन्नि, कहिल्यै भन्नु भएन । मावलमा के कुरा हुन्थ्यो कुन्नि कहिल्यै बिझाउनु भएन । सायद छिमेकी र आफन्त भन्थे होला– ‘यो कुँजी बोझ भै आमाबाबुको । तर, मलाई लाग्थ्यो कि म कुँजी होइन । मेरा पूरै शरीर चल्छ । म कुँजिएकी छैन। यी खुट्टाले धोका दिएका हुन् ।

मलाई लाग्थ्यो म किन भगवानलाई धेर भएँ । मैले विधाताको के बिगारेकी थिएँ र मलाई यो सजाय । बिनाअपराधको सजाय भोगिरहेकी थिएँ । कहिलेकाहीं आत्महत्या गरूँ भन्ने सोच पनि आउँथ्यो । गरूँ त गरूँ, कसरी गरूँ ! मेरो जीवन यस्तै थियो । यस्तै भोग्दै थिएँ । मान्छे भन्थे– उस जन्मको पाप, के गर्ने भोग्नै पर्छ।

तर मैले के पाप गरेकी थिएँ न ती भन्नेलाई थाहा थियो न मलाई । न परिवेशलाई थाहा थियो न बाल्यकालमा स्कुल जाँदा खेलेको भगवती मन्दिरलाई । तर, म अभिशप्त भोग्दै थिएँ । मेरो दिसापिसाब पनि मेरो बोझ भएको थियो । कहिलेकाहीं लाग्थ्यो कि यो भगवान् नामको कुनै चिज छैन । भए सर्वव्यापी भगवान् यस्तो निर्दयी हुने थिएन । मैले सधैँ पूजा गर्ने गथेँ, भगवान् भए कृतघ्न हुने थिएन । मेरी आमा सधैँ पूजा गर्नुहुन्थ्यो । भगवानसँग सायद मेरो पापमोचनको भिख माग्नुहुन्थ्यो होला । र मलाई टीका लगाइदिनुहुन्थ्यो । म चूपचाप टीका लगाउँथेँ।

केटाकेटीमा म नाच्थेँ । तन्दुरुस्त थिएँ । ओल्लो कान्लाबाट पल्लो कान्लामा फाल हाल्थेँ । तर विधाताले के रोग पठाइदिए कुन्नि, मेरा तिघ्रा चल्न छोडे । सायद उसलाई म नाचेको मन परेन होला । म हाँसेको मन परेन होला । म चलेको मन परेन होला । म उफ्रेको रिस उठ्यो होला।

खुट्टा नचले पनि मेरो तिघ्रामाथिका भागहरू चलायमान थिए । ती बढ्दै थिए । ती उर्लँदै थिए । ती बहकिँदै थिए । म हेरिरहेकी हुन्थेँ । देखिरहेकी हुन्थेँ । मेरा गुप्ताङ्गमा रौँ पलाउन थालेका थिए । मेरो छातीमा गुच्चाजस्तो डल्लो देखिन थालेको थियो । केही दिनपछि नै थ्याप्चो ओखरजस्तो भएर आए । र एकदिन मेरो गुप्ताङ्गबाट रगत चुहियो । मैले घरबाहिर पनि निस्कन पाइनँ । मान्छे मेरै सामुन्नेमै भन्थे– ‘कठै यो कुँजीलाई किन बैँस आएको होला ? किन प्रारब्ध यति बेइमान भएको होला ?’ मन लाग्थ्यो म समाजसँग विद्रोह गरूँ । मलाई कुँजी भन्ने मान्छेलाई भनूँ कि ए मान्छेहरू हो म कुँजी होइन । हेर मेरा दुई हात सगल्ता छन् । मेरो शरीर पूर्ण छ । ममा पनि उच्छवास छ । तर मसँग द्रविभूत हुनुबाहेक अरू केही उपाय थिएन।

म जन्मेको १६ वर्ष पुगेको थियो । आमा मन्दिर जानुभयो । आएर टीका लगाइदिनुभयो र भन्नुभयो– ‘रक्खे गर है भगवान् ।’ बाबा पनि इन्डियाबाट आउनुभएको थियो । खानेकुरा ल्याइदिनुभएको थियो । लुगाकपडा ल्याइदिनुभएको थियो । माया गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘छोरी, उता इन्डियामा भा बहुत सजिलो हुन्थ्यो । कौनै फिकर थिएन । सरकारले नै ह्विल चेयरको व्यवस्था गथ्र्यो । स्कुल पढ्न पाइन्थ्यो । यता केही छैन । यताको सर्कार पनि के सर्कार ? नासमझ सरकार । तर कौनै धन्दा नमान छोरी म अर्कोपल्ट आउँदा परिवारै उतै लैजान्छु । बडेसा’बसँग कुरा गर्छु । लैजान्छु तिमीलाई त्यसै त के छोड्थेँ म । तिमी कौनै फिकर नलेऊ है छोरी’

बाबाको यो कुरा सुन्दा मलाई आनन्द लाग्थ्यो । र्मैले ह्विलचेयर पाएर हिँडन डुल्न पाउने कुराले म हर्षित हुन्थेँ । स्कुल जान पाउने कुराले रोमान्चित हुन्थेँ । सरकारले नै व्यवस्था गर्छ भन्ने कुराले त म झन् अचम्ममा परेकी थिएँ । म मनमनै इन्डिया जान तयार भएँ । आफ्नो देश भनेर के गर्नु ? आफ्नो ठाउँ भनेर के गर्नु ? आफ्नो घर पाखो र यो रोसी खोला भनेर के गर्नु ? सरकार नै निर्लज्ज छ । कुनै व्यवस्था छैन । ह्विलचेयर भए म पनि हिँड्थेँ होला । पढ्थेँ होला । जागिर खान्थेँ होला । देशको सेवा गर्थेँ होला । तर उफ, केही थिएन । ह्विलचेयर थिएन । स्कुल थिएन । भाग्य थिएन । जीवन थिएन । म ओसारीको खाटमा बसेर आमालाई पर्खी बस्थेँ । भाइलाई पर्खिबस्थेँ । जीवन यस्तै बित्दै थियो।

बाबा जागिरमा जानुभयो । केही महिनापछि खवर आयो । बा बित्नुभएछ । बाका चाहनाहरू मरिहाले । मेरा ह्विलचेयरमा डुल्ने चाहनाहरू बाको मृत्युपछि त्यसै मरे । मेरो स्कुल पढ्ने इच्छाहरू बाको स्वर्गवासको खबर सँगसँगै मरे । दबिए । मेरो सारा पृथ्वी धसेझँ भएको थियो । आमाको राता पहिरन खोसिएको थियो । आमा घरि मलाई हेर्नुहुन्थ्यो । सायद उहाँलाई लाग्थ्यो होला कि यो छोरी म के गरूँ ? सायद भाइलाई हेर्दा केही आड लाग्दो हो । आश लाग्दो हो । भरोसा लाग्दो हो र बाबाको नामको पेन्सन पट्टालाई कन्तुरमा सुरक्षित थन्क्याएर जीवन बाँच्ने आँट गर्नुभयो होला ।

हाम्रो घरको मास्तिर डाँडामा सैनिक क्याम्प थियो । त्यो क्याम्पबाट घन्टाघन्टामा बज्ने घन्टीका आवाजहरू आइरहन्थे । घरिघरि ती सैनिकहरू चिच्याएको आवाज पनि आउँथ्यो । म घर बसेरै ती आवाजहरू सुन्थेँ । एकदिन आमा हाटबजार गर्न पनौती बजार जानुभएको थियो । मैले घस्रेरै घरभरिका भान्साका कामहरू गरेँ । भाँडा माझेँ । बेलुकालाई तरकारी केलाएँ । लुगा पट्याएँ । भाइ स्कुल गएको थियो । काम सकेर म घरको ओसारीकै खाटमा लेटेकी थिएँ । एउटा लर्दु आयो । उसले आफूलाई सैनिक बतायो । मैले उसलाई हेरेँ । ऊ भन्दै थियो– ‘आमाबा खोई त नानी ?’

मैले लजाएरै भनेको थिएँ– ‘आमा पनौती, बाबा इन्डिया, भाइ स्कुल ।’

उसले केही यस्तैयस्तै कुराहरू बोलेर गयो । बात मारेर गयो । हँसाएर गयो । नजिकिएर गयो । माया गरेझैँ गरेर गयो । मभने ऊ गएपछि उसलाई सम्झिन थालेँ । कस्तो कसिलो शरीर ? कस्तो मिठो बोली ? कस्तो मिहीन हँसाइ ? भगवानको कस्तो राम्रो मिलेको सृष्टि ? कस्तो काइदाको मान्छे ?

ऊ अर्को दिन पनि आयो । आमा घरमै हुनुहुन्थ्यो । आमासँग भलाकुसारी गर्यो । आमासँग पनि नजिकियो । आफन्तजस्तै भयो।

अब ऊ आमा नभएको बेला आउन थाल्यो । मलाई बिस्कुट ल्याइदिन थाल्यो । चकलेट ल्याइदिन थाल्यो । म नजिकै बस्न थाल्यो । टाउकोमा हात राख्न थाल्यो । मलाई सुम्सुम्याउन थाल्यो । मेरा लुगा त्यसै पनि अस्तव्यस्त नै हुन्थ्यो । उसले मलाई खेलाएर गयो । ऊ गयो । तर मलाई भने मिठो काउकुती लागिरह्यो । मेरो मन अधैर्य भइरह्यो । मैले ऊ आएको कुरा खोई किन हो कुन्नि आमालाई भनिनँ । अब ऊ दिनहुँ जस्तो आउन थाल्यो । आमा नभएको मौका पारेर आउन थाल्यो । भाइ नभएको बेला पारेर आउन थाल्यो ।

दुई तीन दिन ऊ आएन । मलाई खल्लो लागिरह्यो । नियाँस्रो लागिरह्यो । किनकिन उसको सम्झना आइरह्यो । हरेक दिउँसो अनायासै मेरा आँखाहरू उसलाई खोज्न थालेका थिए । चौथो दिन ऊ फेरि आयो । हातमा एक झोला खानेकुरा बोकेर आएछ । ऊ भन्दै थियो– ‘दुई तीन दिन काजमा सिन्धुली व्यारेक गएको थिएँ’

उसले मलाई जुरुक्क बोक्यो ओसारीबाट घरभित्रको ओछ्यानमा पुर्यायो । ढोका लगायो र मेरो लुगा खोल्न थाल्यो । मैले नाईनाई भनेँ । उसले भन्यो– ‘पगली म तिमीलाई कान्छी बनाउँछु, बिहे गर्छु के? ’

मैले उसका कुरा पत्याएँ । ऊ मलाई भोग्न थाल्यो । मलाई अप्ठ्यारो महसुस भयो । अलिअलि मिठो पीडा पनि भयो । तर ममा अचम्मको भाव देखापर्यो । म त्यसैत्यसै किन हलुङ्गो भएँ कुन्नि ? यो शरीरमा किन फुर्ति आएजस्तो भयो । उसले जाँदाजाँदै माया गरेर गयो । मेरो गाला चाटेरै गयो र भन्दै गयो– ‘निमा, यो कुरा कसैलाई पनि नभन है, आमालाई पनि नभन है ।’

म चुप लागेँ । आमालाई पनि भनिनँ । कसैलाई भनिनँ । ऊ बाक्लै आयो । मौका मिल्नेबित्तिकै आयो । कन्डम बोकेरै आयो । माया लिएरै आयो । मलाई लाग्न थाल्यो मेरा पनि कोही छन् संसारमा । एकदिन उसले सहवासपछि भन्यो– ‘ला, बित्यास पर्यो निमा, कन्डम त फुटेछ ।’ उसले खल्तीबाट एउटा औषधी झिक्यो र मलाई खुवायो । र फेरि भन्यो–‘नडराऊ निमा, यो औषधिले गर्भ रहँदैन’

मेरो महिना टरयो । उसलाई भनेँ । ऊ उदाश देखिन्थ्यो । तर भोग्थ्यो जान्थ्यो । अर्को महिना पनि टरेपछि उसले मलाई भन्यो– ‘निमा, कसरी हो काठमाडौँ जाने ? एवोर्सन गर्नुपर्ने भो ।’ म एकलै आमाको स्वीकृति बेगर काठमाडौँ जाने सम्भव थिएन । मैले आमालाई आफू पर नसरेको कुरो सुनाएँ । ऊ आयो र आमासँग मलाई बिहे गर्ने आश्वासन दिएर गयो । त्यसपछि १५ दिन भयो ऊ आएन । एक महिना भयो ऊ आएन । मेरी आमा छटपट गर्न थाल्नुभयो । आमा क्याम्पमा पुग्नु भो । तर, ढोकामा उभिएको मयुरप्वाँखेले आमालाई भनेछ– ‘ए त्यो हर्के ? त्यो त सरुवा भएर गयो । खोई कहाँ गयो कुन्नि ? मलाई थाहा छैन ।’

सैनिक क्याम्पभित्र हाम्रो उजुरी गर्ने सामथ्र्य थिएन । म बान्ता गर्न थालिसकेकी थिएँ । अमिलो खान थालिसकेकी थिएँ । आमाले हेल्थपोस्टको डाक्टरलाई बोलाएर ल्याउनुभयो । उसले मलाई जाँच्यो र भन्यो– ‘अब धेरै ढिलो भइसक्यो । जन्मन दिनू । आफ्नो भाग्य लिएरै आउँछ । खान्छ ।’

गाउँमा हामीलाई सबैले हेला गर्न थाले । आमाले मलाई मामाघरमा पुर्याइदिनु भयो । जोरपाटीमा पुर्याइदिनुभयो । शहरमा अलि चियोचर्चो कम हो कि जस्तो लाग्यो ।

मैले छोरो पाएँ । त्यही छोराको आज बर्थडे हो।

आमा बितेको बाह्र वर्ष भयो । आमा थला परेपछि बेस्सरी रुनुभएको थियो । उहाँ एकोहोरो भन्नुहुन्थ्यो– ‘ठुली, अब म बाँच्दिनँ । पक्कापक्की बाँच्दिनँ । मेरो मनले हरेस खाइसकेको छ । सपनीमा पनि तेरो बाबालाई देख्छु । जहिले पनि ‘आऊ सानू यतै आऊ भन्नुहुन्छ ।’

उहाँले भाइलाई बोलाउनु भयो र भन्नुभयो– ‘बाबु छोरा, यो दिदी छे । यसको भगवान पनि आफ्ना भएनन् । एउटा नाति छ । त्यसले पाल्ला । मैले कुशेश्वर महादेवसँग भाकल गरेकी छु । यो नातिका लागि, तेरी दिदीका लागि । यो नातिले १५ वर्ष काटेपछि लाखबत्ती बालेस् । तैँले यो दिदीको माया गरेस् । सहारा बनेस्, त्यो नातिको संरक्षक भएस् । भावी भएस् ।’

त्यो रात हामी सबै बेस्सरी रोयौँ । भोलिपल्ट बिहानै आमाको चोला उठेको थियो ।

म बरन्डामा बसेर सोचिरहेकी छु । संस्थाले मलाई यो ह्विलचेयर नदिएको भए ? यो जागिर नदिएको भए ? यो उत्साह, जिन्दगी बाँच्ने साहस र सहारा नदिएको भए ? तर दियो । र म अहिले समयको तिरमा बसेर आमालाई सम्झिरहेकी छु । बाबालाई सम्झिरहेकी छु । मलाई ह्विल चेयरमा देखेर बाबा कति खुसी हुनुहुन्थ्यो होला ? मेरो जवान छोरा देखेर कति पुलकित हुनुहुन्थ्यो होला । आमाबाबालाई सम्झेर म भावविह्वल भएकी छु । सम्झिरहेकी छु, मेरा बाबाले मलाई तिरस्कार गरेको भए म के गर्थेँ होला ? आमाले ‘अलच्छिनी’ भनेर निकालिदिएको भए म गर्थेँ होला ? भाइले र बुहारीले हेपेर गलहत्याएको भए म के गर्थेँ कुन्नि ? ठुलो उकालो हिँडिसकेपछिको थकाइ लागेको छ मलाई । मेरा दिमागभरि मेरो विगत आइरहेको छ । छोरोले बोलाएको सुने– ‘आमा’ । उसको स्वर उसकै बाउको जस्तो लाग्यो । बरन्डाबाट हेरेँ । परपर पहाड देखियो । फेरि हेरिरहेकी छु कि कहीँ त्यो पापी आइहाल्छ कि ? । म रोइरहेकी रहिछु । छोराले आएर कसिलो अँगालो हाल्यो उसको बाबुले जस्तै । मैले डाँडाको पारिपट्टि शीतल चन्द्रमा उदाएको देखेँ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *