देश विदेश

मोवाइलको चोरी पैठारी रोक्नुपर्नेमा जोड

शेयर गर्नुहोस्

मोवाइलको चोरी, पैठारी बढेको प्रति सरोकारवालाले चिन्ता जनाएका छन् । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको पाचौं साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले मोवाइलको चोरी, पैठारी बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् । साथै उनीहरुले त्यस्ता चोरी पैठारी भएका मोवाइलको प्रयोग रोक्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेपाल मोवाइल इम्पोर्ट एशोसिएसनका केन्द्रीय अध्यक्ष दीपक मलहोत्राले मोवाइलको चोरी पैठारी बढ्नु चिन्ताको विषय भएको बताए । चोरी पैठारीका कारण राज्य, व्यवसायी र उपभोक्ता सबैलाई मार पर्ने उनले बताए । चोरी पैठारीबाट आएको मोवाइलका कारण राज्यले राजश्व गुमाउने, कर तिरेर ल्याएको भन्दा चोरी पैठारीबाट आएको मोवाइलको प्रयोगकर्ता बढ्दा व्यवसायीको व्यवसाय नहुने तथा त्यस्तो मोवाइलको प्रयोग गर्दा उपभोक्ताले वारेन्टी नपाउनुका साथै पछि साटफेर तथा मर्मतसम्भार नहुने तथा चोरीको मोवाइल भए कहिलेकाहिँ कानूनी झमेलामा समेत उपभोक्ता फस्न सक्ने बताए ।  

नेपालमा कुल मोवाइलको ३० देखि ४० प्रतिशत मोवाइल चोरी पैठारीबाट आउने आँकडा प्रस्तुत गर्दै सो नियन्त्रण गर्न एमडिएमएस लागु गर्नका लागि पहल भइरहेको उनले बताए । तर राज्यको उदासिनताका कारण एमडिएमएस लागु गर्न ढिलाई भइरहेको उनको भनाई छ ।

नेपाल मोवाइल वितरक संघका केन्द्रीय अध्यक्ष सञ्जीव चुल्याधोले चोरी पैठारीबाट आएको अवैध मोवाइलका कारण राज्यले करोडौं राजश्व गुमाइरहेको बताए । त्यस्ता मोवाइल रोक्नुपर्ने भन्दै उनले त्यसका लागि वैध मोवाइललाई होलोग्राम (स्टिकर) टाँसेर बेच्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि पहल भइरहेको तर राज्यकै उदासिनताका कारण अहिलेसम्म त्यसले सार्थकता नपाएको उनको भनाई छ ।

नेपाल मोवाइल इम्पोर्ट एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सञ्जय मलहोत्राले पनि चोरी पैठारीका कारण कर तिरेर व्यवसाय गर्ने भन्दा अवैध व्यापार गर्ने मालामाल भएको बताए । यहि कारण कतिपय व्यवसायी धरासायी हुने अवस्था आएको समेत उनले बताए । यसलाई नियन्त्रण गर्न जरुरी भएको बताउँदै उनले यसका लागि राज्य नै जिम्मेवार बन्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले चोरी पैठारीबाट आएको मोवाइलका कारण कहिलेकाहिँ व्यक्ति फस्न सक्ने बताए । जस्तो भारतबाट चोरी पैठारीबाट आएको मोवाइल यदि चोरीको रहेछ र भारतको प्रहरीमा उजुरी गरेको भए नेपालमा मोवाइल किन्ने व्यक्ति केहि गरी भारत गएर त्यहाँको सीमकार्ड एक्टिभेट गर्ने वित्तिकै पक्राउ पर्ने र चोरीमा फस्ने अवस्था आउनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मोवाइलको प्रयोग र चोरी पैठारीबाट मोवाइल किन्दा पर्नसक्ने समस्याबारे सचेतनामूलक कार्यक्रम गर्न सुझाव दिए । वडा प्रहरी कार्यालय बैदामकी ईञ्चार्ज तथा डिएसपी चिनिमाया तामाङले चोरी पैठारी रोक्न प्रहरीमात्र नभई उपभोक्ता आफैपनि सचेत हुनुपर्ने बताइन । भ्याटविल लिएर मोवाइल खरिद गर्ने हो भनेपनि उपभोक्ता ठगिनबाट जोगिने उनको भनाई छ ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले मोवाइलको चोरी पैठारी रोक्न संघले पहल गर्ने बताए । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेश अध्यक्ष शिवराज पहारीले चोरी पैठारीबाट आएका अवैध मोवाइल आफ्नो आँखै अगाडिबाट बेचिरहँदा आफुहरु मुकदर्शक भएर टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रहेको बताए । यसको अन्त्यका लागि राज्यले नै पहलकदमी लिनुपर्नेमा उनले जोड दिए ।

श्रेष्ठ बने मोवाइल वितरक संघको अध्यक्ष

नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको अध्यक्षमा मनोहर श्रेष्ठ चयन भएका छन् । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको पाचौं साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको नव निर्वाचित टीम ।

संघको बरिष्ठ उपाध्यक्षमा सुशीलकुमार गुरुङ, उपाध्यक्षमा जीवन ढुंगाना, सचिवमा विनोद केसी, सह–सचिवमा चिन्तामणी खरेल र कोषाध्यक्षमा सुनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुदीप कँडेल, पुरुषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशव पराजुली र सञ्जय श्रेष्ठ चयन भएका छन् । संघको सल्लाहकारमा निवर्तमान अध्यक्ष शिवराज पहारी र दीनेश श्रेष्ठलाई चयन गरेको अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: ९ फाल्गुन २०७७ १७:११ आइतबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/economy/463001-1613906799.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *