देश विदेश

प्रदेश २ : नवनियुक्त प्रदेश प्रमुख झा र प्रदेश सरकारबीच सम्बन्धको सकस !

शेयर गर्नुहोस्

गत कात्तिक १८ गते प्रदेश २ को प्रमुख नियुक्त भई गत वर्षकाे कात्तिक २० गते पद्भार ग्रहण गर्न जनकपुरधाम पुग्दा तिलक परियारलाई प्रदेश सरकारबाट भव्य स्वागत गरियो। मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु विमानस्थलमा परियारलाई फूलमाला लगाएर स्वागत गरेका थिए।  

यही फागुन ७ गते सरकारले परियारलाई पदमुक्त गरि राजेश झालाई प्रदेश २ को प्रमुख नियुक्त गर्यो। आइतबार पद्भार ग्रहण गर्न आएका प्रदेश प्रमुख झालाई प्रदेश सरकारबाट त्यो किसिमको स्वागत भएन। प्रदेश सरकारले क्याबिनेट मन्त्री नपठाएर आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहालाई स्वागतका लागि पठायो।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नागरिकसँग भने,‘उहाँ (प्रदेश प्रमुख) को आगमन हुने दिन मुख्यमन्त्रीदेखि हामी सबै मन्त्रीहरु जनकपुरधाम बाहिर थियौं। हामी नभएकोले राज्यमन्त्रीलाई स्वागतका लागि पठाएका हौं।’

उनले नवनियुक्त प्रदेश प्रमुख झा संघीयता र मधेसप्रति सकारात्मक नभएको आरोप समेत लगाए। झा विगतमा संघीयता र मधेस विरोधी भएकाले प्रदेश सरकार सशंकित बनेको उनको भनाई छ। ‘यसअघिका प्रदेश प्रमुखको स्वागत मुख्यमन्त्रीसहित हामी उपस्थित थियौं। उहाँको (राजेश झा) को सन्दर्भमा हामी जनकपुरधाममा नभएकै कारण नगएका हौं। ‘निश्चित रुपमा उहाँको इतिहास(पहिलाको अभिव्यक्ति) संघीयता र संघीयताको जननी ‘मधेस’प्रति सकारात्मक छैन,’ मन्त्री यादवले भने,‘प्रष्ट भनौं उहाँको विगत संघीयता र मधेस विरोधि देखिएको छ। त्यसैकारण प्रदेश सरकार सशंकित छ। हामी ‘वेट एन्ड वाच’ अवस्थामा छौं।’

तर, झाको कार्यशैली संघीयता र मधेसको पक्षमा देखिए आफूहरु भरपूर सहयोग गर्ने उनले बताए। ‘उहाँको कार्यशैली हेर्न बाँकी छ। कार्यशैली संघीयता र मधेसको पक्षमा देखिए भरपूर सहयोग तथा समन्वय हुन्छ। अन्यथा नभए सहयोग र समन्वय नहुन सक्छ,’ उनले भने,‘बल अब प्रदेश प्रमुख ज्यूको कोटमा छ। संघीयता र मधेसको विरोधमा कार्य गर्ने जो कोही भएपनि हामी प्रतिरोध गर्छौं।’

प्रदेश प्रमुखसँग के अपेक्षा छ भने जिज्ञासामा मन्त्री यादवले मधेसको मतमा अडिएको प्रदेश सरकारसँग झाले समन्वय गरेर अघि बढ्नुपर्ने बताए। ‘संघीयताको जन्नी मधेस र मधेसको मतमा अडिएको यो सरकारसँग सहयोग समन्वय गरेर अघि बढ्नु पर्छ,’ उनले भने,‘हामी संघीयतालाई प्रर्वद्धन गर्दै आएका छौं। उहाँले त्यसमा सहयोग गर्नुपर्दछ।’

प्रदेश प्रमुखले आफ्नो प्रेस नोटमा सिरमा देश र मनमा मधेस राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ नि भन्ने अर्को जिज्ञासामा मन्त्री यादवले आफूहरु यसमा अहिले नै ढुक्क हुने अवस्था नरहेको बताए। ‘हामी यसमा ढुक्क हुने अवस्था आइसकेको छैन। उहाँको कार्यशैली हेर्दैछौं,’ उनले भने,‘वेट एन्ड वाचमा छौं। हेरौं पछि के हुन्छ।’

मन्त्री यादवले चुनाव घोषणा गरिसकेको केपी शर्मा ओली नेतृत्वको चुनावी सरकारबाट भएको प्रदेश प्रमुखको पदमुक्ति र नियुक्ति दुबै अवैधानिक भएको समेत जिकिर गरे। यद्यपी मिथिलाको संस्कार ‘अतिथि देवो भवः’ भएकाले आफूहरुले नवनियुक्त प्रदेश प्रमुख झालाई स्वागत गरेको बताए। ‘उहाँ हाम्रो पाहुना हो, स्वागत गर्नु हाम्रो संस्कार नै हो। प्रदेश प्रमुखको पद् सेरेमोनियल हो कार्यकारी होइन,’ उनले भने,‘सरकार आफ्नो रफ्तारमा काम गर्छ। उहाँ आफ्नो काम गर्नुहुन्छ।’

प्रदेश प्रमुखको कार्यकक्षमै पुगेर प्रदेश प्रमुख राजेश झालाई पुष्प गुच्छाबाट स्वागत गर्दै मुख्य मन्त्री लालबाबु राउत। 

मन्त्री यादवले प्रदेश प्रमुखलाई अतिथि भनेपनि प्रदेश प्रमुख झाले आफु आफ्नो घर आएको प्रतिक्रिया दिएका छन्। उनले पद्भार सम्हालेसँगै जारी गरेको प्रेस नोटमा भनिएको छ,‘प्रदेश २ मा सुशासन, समभाव, सद्भाव, समृद्धि कायम गर्न/गराउन मेरो पूर्ण सहकार्य रहनेछ।’

‘युवामुक्त समाज, बालीमुक्त कृषि, भयमुक्त भविष्य, सम्मानमुक्त जीवनले दीर्घकालीन पीडा दिन्छ,’ उनले भनेका छन्,‘सम्भावनामा आधारित सामाज, देश प्रेमसहितको सोच, गौरवान्वित भविष्यसहितको प्रदेश निर्माणमा मेरो भूमिका रहनेछ।’

उनले सामाजिक विभेद अन्त्य गरि राष्ट्रिय एकता कायम राख्न सक्नुपर्नेमा जोड दिएका छन्। प्रदेशवासी नागरिकको भूमि, भावना र भविष्यको सुनिश्चितता गर्न सबैले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ।

प्रदेश सरकारले प्रदेश प्रमुखलाई विमानस्थलमा पहिलाका प्रदेश प्रमुखजस्तो स्वागत गरेको नदेखिएपछि मुख्य मन्त्री लालबावु राउत सोमबार बिहान मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यकक्षमा भेटेर पुष्प गुच्छाबाट स्वागत गरेका छन्। तर, मुख्यमन्त्रीको सञ्चार सचिवालयले यसलाई स्वागत नभनेर भेटघाट भनेको छ।

यसबाट प्रदेश सरकार र प्रदेश प्रमुखबीच सुमधुर सम्बन्धमा सकस रहेको जनकपुरधामका बुद्धिजीवीहरु बताउँछन। प्रदेश प्रमुख र सरकार प्रमुखबीचको सम्बन्धमा अमिलोपन नभई मिठासको आवश्यकता रहेको बुद्धिजीवीहरुको भनाई छ।

प्रकाशित: १० फाल्गुन २०७७ १७:५१ सोमबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/politics/463711-1613995606.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *