देश विदेश

‘साका ल्हुका’ अर्थात ‘बिउ छर्ने’ दिन

शेयर गर्नुहोस्

सहर राजनीतिक राप तापले गर्मिएको छ।  परिवर्तित राजनीति कसको हातमा जाने भन्ने चर्चा सहरमा चलिरहेको छ । तर, हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानलाई भने खेतीको चटारो सुरु भएको छ । लोमान्थाङका किसानले बुधबार ‘साका ल्हुका’ पर्व मनाउँदै वर्षभरिको उत्तम दिन छानेर खेतीपाति सुरुवात गरेका छन् ।

स्थानीयका अनुसार ‘साका’ को अर्थ ‘माटो’ हो । ‘ल्हुका’ को अर्थ मल हो । लोमान्थाङका किसानका लागि ‘साका ल्हुका’ निकै नै महत्वपूर्ण दिन मानिन्छ । खेतीपाति सुरु गर्ने सबैभन्दा राम्रो दिनको रुपमा पनि यो दिन छनौट गरेर कृषिकर्म सुरु गर्ने स्थानीय बताउँछन् । साका ल्हुकालाई बिउ छर्ने दिनको रुपमा पनि स्थानीयले बुझ्ने गरेका छन् ।  

‘माटो र मल’ मा काम गर्ने उपयुक्त दिनको रुपमा हामीले यो वर्ष बुधबार मनायौ,’ लोमान्थाङका स्थानीय तेन्जिन विष्टले भने, ‘अब हाम्रो वर्षदिनको खेतीपातीको सुरु हुन्छ । यो वर्षको खेतीपातिको उत्तम दिन बुधबार परेको थियो ।’ उनका अनुसार वर्षदिनभरको खेतीको सुरुवात गर्ने दिन छान्नका लागि पात्रो हेरिन्छ । पात्रो अनुसार दिन फरक पर्न सक्छ । तर, छानिएको उपयुक्त दिनमा खेतीपाती सुरु गरेर बिउ छर्ने गरिन्छ । खेतीपाति सुरु गर्नका लागि उपयुक्त दिन छानिएपनि स्थानीयले आफु अनुकुल खेतबारीमा खेती लगाउने उनले बताए ।

‘छानिएको उपयुक्त दिनमा खेतीपाती सुरु गर्ने हो । तर, सबै काम त्यही दिन सक्नुपर्छ भन्ने होईन, किसानले आफु अनुकुल समय हेरेर खेती लगाउँछन,’ विष्टले भने, ‘तर दिन भने तोकिन्छ । तोकिएको दिन थोरै भएपनि बिउ छरिन्छ । त्यसका लागि पात्रो हेरेर जुराइन्छ । पात्रो अनुसार तोकिएको दिनलाई किसानले वर्षभरिको खेतीपातिको उत्तम दिनको रुपमा बुझ्छन् ।’

विष्टका अनुसार यो चलन मुस्ताङको लोमान्थाङ क्षेत्रमा छ । त्यस्तै डोल्पा र मनाङको माथिल्लो भेगमा पनि यो चलन रहेको उनले बताए । तर, सबै हिमाली जिल्लामा एकैदिन साका ल्हुका पर्व भने नपर्न पनि सक्ने उनले बताए । ‘राम्रो दिन छान्ने हो, सबैतिर एकैदिन पर्छ भन्ने छैन,’ उनले भने, ‘अहिले राम्रो दिन छानेर गहुँ, जौ, खेती रोपिन्छ । माटो खन्ने दिनको रुपमा पनि यसको बुझाई रहन्छ । सहरमा घर बनाउँदा उपयक्तु दिन हेराए जस्तै हिमाली जिल्लामा खेतीपातिको साइत निकालिन्छ ।’ स्थानीयले यो दिनलाई माटो खन्ने दिनको रुपमा पनि बुझ्ने गरेको उनले बताए । ‘निकै नै पुरानो संस्कार हो । नयाँ पुस्तालाई यो बारेमा उत्तिसारो थाहा छैन,’ उनले भने ।  

उपल्लो मुस्ताङका बासिन्दा समेत रहेका गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार खेती किसानी गर्ने स्थानीयले यो दिनलाई बिउ छर्ने दिनको सुरुवात भनेर पनि बुझ्ने गरेका छन् । ‘हाम्रो चलन अनुसार यो वर्षका लागि बिउ राख्ने दिन बुधबार सुरु भयो,’ प्रदेशसभा सदस्य विष्टले भने, ‘बुधबार थोरै विउ छरेर सुरुवात मात्र गर्ने हो । बाँकी काम आफु अनुकुल गर्ने हो ।’ उनका अनुसार बिउ छर्ने दिनलाई स्थानीयले विषेश रुपमा लिन्छन । यो दिन घरघरमा पुजा हुन्छ, नयाँ कपडा लगाएर घरको मूली आमाले पुजा गरेर बिउ छर्ने चलन रहेको उनले बताए ।  

‘मुल खेतबारीमा बिउ छर्ने उत्तम साइतको रुपमा पनि यसलाई बुझ्न सकिन्छ,’ उनले भने, ‘खेतीकिसानी राम्रो होस भनेर शुभकामना पनि दिने चलन छ ।’ देउता खेतबारीमा रहेको विश्वासका साथ पुजा गरेर खेतीपाति सुरु गर्ने उनले बताए । बिउ छर्नका लागि उमेर समुह अनुसार महिला र पुरुषबाट एकएक जना छानिने प्रचलन रहेको पनि प्रदेशसभा सदस्य विष्टले बताए ।  

वर्षदिनको खेतीपाती सुरु गर्ने दिन मात्र नभई उपल्लो मुस्ताङका बासिन्दाले यो दिन ‘मुखिया’ पनि चयन गर्छन । मुखियालाई स्थानीयले न्यायाधिशको रुपमा अथ्र्याउँछन् । मुखिया एकजना मात्र तोकिन्छ । त्यस्तै ‘म्हीती’ (वकिल) पनि यहि दिन चुनिन्छन् । म्हीती दुईजना हुन्छन् । त्यस्तै ‘छ्युमे’ (प्रहरी) पनि यसैदिन तोकिन्छन् । छ्युमे भने छजना हुन्छन् । मुखिया, म्हीती र छ्युमे गरि नौजना व्यक्ति वर्षदिनका लागि तोकिन्छन् । साका ल्हुका का दिन छानिएका उनीहरुको कार्यकाल अर्काेवर्ष यहीदिन सकिन्छ ।  

प्रदेशसभाका सदस्य विष्टका अनुसार एकवर्षका लागि छानिएका उनै व्यक्तिबाट त्यहाँका किसानले नियम पालना गर्छन । खेतबारीमा पानी लगाउने, सिंचाइको पालो बाँडफाँड, कुन पाखामा कहिले सिंचाई गर्ने भन्ने निर्णय यही समुहले गर्छ । ‘स्थानीयका लागि नियम बनाएर यिनै नौजनाले आलोपालो प्रणालिमा खेतीपातिमा सिंचाईको काम पनि गर्छन । यसले गर्दा कसैलाई धेरै त कसैलाई थोरै समय भन्ने हुँदैन, सबैका लागि समान हुन्छ,’ उनले भने, ‘सबैका लागि समान रुपमा यो समुहले काम गर्छ ।’

त्यस्तै यही समुहले नै कसैको गाइबस्तुले खेतीपाति नोक्सान ग¥यो भने जरिवाना तोक्ने काम पनि गर्छ । गाउँका सानातिना विवाद, मुद्दामामिला पनि यही समुहले मिलाउने उनले सुनाए । ‘सबैलाई समान रुपमा हुनेगरि कसैलाई अन्याय नहोस भनेर यो समुह निकै नै सचेत हुन्छ,’ प्रदेशसभाका सदस्य विष्टले भने, ‘गाउँका बादविवाद मिलाउने भएकैले माथिल्लो क्षेत्रका विवाद अदालतमा कमै आउँछन् ।’

प्रकाशित: १२ फाल्गुन २०७७ १७:०८ बुधबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/social-affairs/465241-1614165819.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *